फुटबल खेल्ने क्रममा एकजनाको ज्यान गयो
दमक : मोरङको बेलबारीमा फुटबल खेल्ने क्रममा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलबारी नगरपालिका–८ का १८ वर्षीय नारायण बस्नेत रहेका छन् । बेलबारी नगरपालिका–८ कदम चौकस्थित खाली जग्गामा फुटबल खेल्ने क्रममा बस्नेत अचानक बेहोस भएका थिए ।
शनिबार दिउँसो साढे बाह्र बजेको समयमा उनी घर नजिकैको खेल मैदानमा फुटबल खेल्न गएका थिए । फुटबल खेलिरहेका बस्नेत अचानक बेहोस भएर मैदानमै ढलेका थिए । बेहोस अवस्थामा नारायणलाई उपचारको लागि कोशी अस्पताल बिराटनगर लैजाँदै गर्दा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।