हुम्लामा सुख्खा पहिरो, दुईजनाको मृत्यु, चार घाइते
मुगु : हुम्लाको चंखेली गाउँपालिका–५ नेप्काको जंङ्गलमा सुख्खा पहिरो जाँदा दाउरा टिप्न गएका दुईजनाको मृत्यु भएको छ । यो घटनामा चारजना बालबालिका घाइते भएका छन ।
सदरमुकाम सिमिकोटदेखि ५२ कोष टाढा रहेका चंखेली गाउँपालिका–५ नेप्का गाउँको जंगलमा दाउरा टिप्न जाँदा सुख्खा पहिरो जाँदा त्यही गाँउ २४ वर्षीया बसन्ती तामङ्ग र १२ वर्षीया अनिता तामङ्गको मृत्यु भएको छ
घटनामा त्यही गाउँका १२ वर्षीया बिनिता तामङ्ग, ८ वर्षीय मुकेश तामङ्ग, १२ वर्षीया अस्मिता तामङ्ग र ८ वर्षीय ईटोल तामङ्ग घाइते भएका छन् । गाउँदेखि एक किलोमिटर टाढा जङ्गलमा बिहान घरबाट हिँडेका सबैजना दाउरा टिप्दै गरेका बेला शनिबार दिउँसो १२ बजे सुख्खा पहिरोमा परेका थिए ।
त्यसक्रममा दुईजनाको मृत्यु भएको हो भने चारजना घाइते भएका जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख गिन्द्रबहादुर बोकटीले जानकारी दिए । घाइते चारजनालाई तत्कालै हेलिकप्टरबाट जिल्ला अस्पताल सिमिकोटमा ल्याइएको छ। घाइतेमध्ये अस्मिताको सिमिकोटमा उपचार भइरहेको छ भने अन्य तीनजनालई सिम्रिक एयरको हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको छ ।
मृतक दुवैजनाको शव गाँउमै राखिएको छ । आइतबार मात्र उनीहरुको पोष्टमार्टमबारे छलफल गरेर अन्त्येष्टि गरिने प्रहरी कार्यालय हुम्लाले बताएको छ ।