छिमेकी जिल्ला घुमेर सदरमुकाम

छिमेकी जिल्ला घुमेर सदरमुकाम

भोजपुर : षडानन्द नगरपालिका तुङ्गेछा दिङ्लाबजारकी सञ्जु श्रेष्ठ आफ्ना दुई छोरालाई कोसौं टाढा भोजपुर सदरमुकाममा पढाउँछिन् । घर आएकी सञ्जुलाई तीन घण्टाको भोजपुर–दिङ्ला (४६ किलोमिटर) सडकखण्ड पार गर्न नौ घण्टा समय लाग्यो । कारण वर्षाले सडक बगाएपछि छिमेकी जिल्ला संखुवासभाको तुम्लिङटार, धनकुटाको लेगुवा हुँदै श्रेष्ठ सदरमुकाम पुगिन् ।

वर्षाले सडक भत्किएर सवारीसाधन चल्नै छाडेपछि सञ्जुलगायत जिल्लाका उत्तरी भेगका मानिसहरूलाई पनि सदरमुकाम आउन छिमेकी जिल्ला घुम्नुपर्ने बाध्यता छ । गत जेठदेखि भोजपुर–दिङ्ला सीधा सडकखण्ड वर्षाले बिग्रिएकाले अहिले त्यहाँ सवारीसाधन ठप्प छ । यातायात ठप्प भएपछि दैनिक कामकाजले सदरमुकाम आउने यात्रीले सास्ती खेप्दै आएका छन् ।

सडक यातायात ठप्प भएपछि घण्टौं लगाएर सदरमुकाममा हप्ता, दस दिनसम्म होटलमा बस्नुपरेको दिङ्लाका अर्का स्थानीय राजकुमार थापाले बताए । ‘के गर्नु सदरमुकाम नआई काम बन्दैन । सधैं तीन घण्टा लाग्ने दूरी अहिले १२÷१३ घण्टा पैदल हिँड्नुपर्छ’, उनले भने, ‘जान र आउन कष्ट हुने भएपछि भाडा तिरेरै भए पनि काम नहुन्जेल सदरमुकाममै बस्नुपर्छ ।’

जिल्लाका उत्तरी भेगका मानिसहरूका लागि विशेष गरी होटल, पसल, व्यवसायको पान नम्बर नवीकरण गर्न, नागरिकताको सिफारिस बनाउन, कर, बैंकिङ कारोबारका लागि सदरमुकाम अन्तिम विकल्प हो । तर यसरी समयमै सडक नबन्दा चार महिनादेखि यात्रुले सास्ती भोग्दै सदरमुकाम धाउनुपरेको दिङ्लाकै अर्का स्थानीय दिलकुमार राईले सुनाए ।

उनले भने, ‘असार मसान्तअघि र पछि धेरैजसो कामकाजका लागि सदरमुकाम आउनुपर्छ । वर्षायाम अगावै सडक मर्मत भइदिए यस्तो सास्ती भोग्नुपर्ने थिएन ।’ यता षडानन्द नगरपालिकाले भने सडक मर्मत गर्ने नगरपालिकाको एक्स्काभेटर अपरेटर अभावले सडक बनाउन नसकिएको जनाएको छ । नगरपालिकाकी उपमेयर मेरिका राईले असोज पहिलो साताअघि नै कर्मचारी नियुक्त गरी तत्काल सडक मर्मत गर्ने बताइन् ।

उनले भनिन्, ‘हामी कार्यपालिकाको तत्कालै बैठक बसी निर्णय गरेर कर्मचारी नियुक्त गरी बाटो मर्मतको काम अघि बढाउछौं । सम्भवतः असोज पहिलो हप्ताअघि नै यातायात चल्ने गरी ट्र्याक खुल्छ ।’ भोजपुर नगरपालिकाको हेलौंछा तीनतलेसम्मको १३ किलोमिटरको सीमासम्मको सडकखण्डमा सवारीसाधन आवतजावत गरे पनि बाँकी षडानन्द नगरपालिका किमालुङ, वैदारभञ्ज्याङ, धारापानी हुँदै दिङ्लाबजारसम्मकोे सडकखण्ड वर्षाले बिग्रपछि उक्त सडकखण्डमा भने यातायात ठप्प छ ।

सवारीसाधन चल्ने भोजपुर नगरपालिका सीमाभित्रको उक्त सडकखण्डमा पनि सुन्तले, धापखर्कलगायत ठाउँमा सवारीसाधन आउजाउमा समस्या देखिएको छ । नगरपालिकाले उक्त सडकखण्डमा एसएन आरटीअन्तर्गत खिम्दुङ निर्माण व्यावसायीलाई सडक स्तरोन्नति र मर्मतको ठेक्का दिए पनि ठेकेदारको ढिलासुस्तीले काम सोचेअनुरूप अघि नबढेको मेयर कैलाशकुमार आलेले बताए । उनले भने, ‘करिब दुई वर्षअघि नै नगरपालिकाले सडक मर्मतको ठेक्का दिए पनि कामको रफ्तार देखिएन । एकदम सुस्त गतिमा काम हुँदा समस्या भएको छ ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.