फेरिनुपर्छ परीक्षा प्रणाली
हाम्रो सन्दर्भमा विद्यालयदेखि विश्वविद्यालय तहसम्म परीक्षा लिने तरिका र शैली करिब–करिब उस्तै छ। पचासौं विद्यार्थीलाई एउटा हलमा बसालेर सबै परीक्षार्थीका लागि एकै खालका प्रश्न बनाएर जाँच लिइएको हुन्छ। हलभित्र हेर्ने र सार्ने काम हुन्छ। कागजका टुक्रामा लेखिएका चिट चोर्ने काम पनि हुन्छ। प्रश्नहरूले विद्यार्थीको स्मृतिको जाँच गर्नेबाहेक अन्य कुनै क्षमताको पनि जाँच गर्न सक्दैनन्। परीक्षाको एक मात्र उद्देश्य रट्न सक्ने खुबीको जाँच लिनुभएपछि पूरा पठनपाठन प्रक्रिया जसरी हुन्छ रटाउने संकुचनमा फस्न पुगेको छ।
अमेरिकामा उच्च शिक्षा अध्ययन गर्न जान चाहने विदेशी विद्यार्थीले ‘जीआरई’ कोर्स गर्छन्। उक्त कोर्सको विशेष उद्देश्य छ। विद्यार्थीको अंग्रेजी भाषाको दख्खल कुन स्तरमा छ, गणितीय समस्या हल गर्न सक्ने खुबी केकस्तो छ, तर्क र विश्लेषण गर्न सक्ने क्षमता तथा रिसर्चबारे विद्यार्थी कत्तिको जानकार छ जाँच्नु। परीक्षा पनि हाम्रोमा जस्तो पचासौं विद्यार्थीलाई एउटा हलमा कोचेर हैन, एकएक विद्यार्थीलाई छुट्टाछुट्टै राखेर ‘कम्प्युटराइज्ड’ प्रणालीमा परीक्षा लिइन्छ। तयार गरिएका लाखौं प्रश्नको सूचीबाट जुनसुकै प्रश्न सोधिन्छ। यसर्थ विगतका प्रश्नहरू हुबहु दोहोरिने सम्भावना पनि अत्यन्त कम हुन्छ। परीक्षा सकिएको केही मिनेटमै नतिजा आइसक्छ। यसबाट परीक्षा विश्वसनीय हुन्छ।
हामीकहाँ चलिआएको शास्त्रीय परीक्षा प्रणालीबाट विद्यार्थीले धेरै राम्रो नम्बर ल्याउनुपर्ने हो। एसईईदेखि मास्टर्ससम्मका प्रश्न अक्सर पहिलेका वर्षहरूको दोहोर्याइएको हुन्छ। प्रश्नहरू बढी दोहोरिने गरेपछि विद्यार्थीले बृहत् अध्ययन र तयारीको दुःख गर्नै पर्दैन। प्रश्नको सँगालोका निश्चित प्रश्नहरूको तयारी गरेपछि विद्यार्थी पास भइहाल्न सक्छ। यति सजिलो हुँदा पनि विद्यालय/विश्वविद्यालय तहमा धेरै विद्यार्थी फेल वा न्यून ग्रेड प्राप्त गरिरहेका छन्। यसबाट शिक्षा प्रणालीको अवस्था कति नाजुक छ भन्ने पुष्टि हुन्छ।
परीक्षा किन र कसरी लिइन्छ भन्नेले शिक्षण प्रक्रिया कसरी अगाडि बढ्छ भन्ने टुंगो लगाउँछ। परीक्षाको खास उद्देश्य नभएपछि सिंगो शिक्षा प्रणाली दिशाविहीन बन्न पुगेको छ। आगामी वर्षमा देशका लागि कस्तो जनशक्ति उत्पादन गर्ने, संख्या कति चाहिने, शिक्षामा नयाँ प्रविधिको साथ अनुसन्धान र आविष्कार कसरी जोड्ने, विश्वमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन कसरी गर्ने, गरेर खान सक्ने सीपयुक्त जनशक्ति कसरी तयार पार्ने, देशलाई आत्मनिर्भर बनाउन कस्तो क्षमता भएका नागरिक चाहिएको हो भन्ने प्रश्नको उत्तर शिक्षा प्रणालीले दिन सकेको छैन।
सरकार विद्यार्थीलाई क्षमतावान्, सिर्जनात्मक र गरिखान सक्ने बनाउनमा हैन, परीक्षामा राम्रो ग्रेडको साथ उत्तीर्ण प्रतिशत बढाउनमा उद्यत् छ। उदाहरणका लागि एसईईमा आठवटा विषयमध्ये गणितबाहेक सबै विषयको प्रयोगात्मक परीक्षाको अंक दिइनुपर्ने बनाइएको छ। यस्तो प्रणालीको उद्देश्य सही भए पनि व्यवहारमा कतै पनि प्रयोगात्मक कक्षा गराएर र परीक्षा लिएर विद्यार्थीको प्रस्तुतिअनुसारको उत्तर पठाइएको हुँदैन। स्कुलले दराजको खोपाबाट निकालेर २५ पूर्णांकको प्रयोगात्मक परीक्षाको अंक धेरैको २५ नै दिएर पठाउँछ। त्यसैले सैद्धान्तिक परीक्षामा ‘ई’ ग्रेडमा उत्तीर्ण विद्यार्थीको प्रयोगात्मक अंक ‘ए प्लस’ आइराखेको हुन्छ। यस्तो चोर बाटोबाट विद्यार्थी उत्तीर्ण गराएर सरकारले लाचारी प्रस्तुत गरेको छ।
हाम्रो सन्दर्भमा परीक्षाका लागि विद्यार्थीले त्यति दुःख गर्नुपर्दैन, घोकिदिए पुग्छ। पढाउने बेलामा पनि शिक्षकले खासै दुःख गर्नुपर्दैन। शिक्षकले आफ्नो विषयको किताब एकपटक सुरुदेखि अन्त्यसम्म पढेपछि थप मेहनत गर्नुपर्दैन। गणित शिक्षकले सीधै अभ्यासमा पुगेर अभ्यासका दुई/चारवटा प्रश्नको हल गर्ने तरिका सिकाइदिए पुग्यो। विज्ञान शिक्षकले परिभाषा र सिद्धान्तले भरिएको नोट लेखाइदिए भइहाल्यो। विषयवस्तुको गहिराइ, तिनीहरूको प्रयोग, सोच्ने, विश्लेषण गर्ने र मौलिक सिर्जना गर्न विद्यार्थीलाई प्रेरित गर्ने कुरामा हाम्रो पठनपाठनको प्रवेश नै भएको छैन।
परीक्षाको एक मात्र उद्देश्य रट्न सक्ने खुबीको जाँच लिनु भएपछि पठनपाठन प्रक्रिया जसरी हुन्छ रटाउने संकुचनमा फस्न पुगेको छ।
वर्षको अन्त्यमा लिइने दुईतीन घन्टाको परीक्षाले वर्षभरिको विद्यार्थीको उपलब्धिको लेखाजोखा गर्नै सक्दैन। यस्तो परीक्षाले परीक्षाको बेला बिरामी परेर पढ्न नपाएको ‘ब्रिलियन्ट’ विद्यार्थीलाई न्यून ग्रेडको र जान्ने विद्यार्थी आडमा परेर सार्ने अवसर प्राप्त गरेको लद्दु विद्यार्थीलाई उच्च ग्रेडको देखाइदिन सक्छ। अर्कोतिर तीन घन्टामा विद्यार्थीले सेतो कापीमा लेखेको उत्तर शिक्षकले रातो कलमले १० मिनेटमा जाँच्छ। उत्तरपुस्तिका जाँच्ने समयमा परीक्षकको मुडले विद्यार्थीको प्राप्तांकलाई प्रभावित गर्छ। त्यसकारण हालको शास्त्रीय परीक्षा प्रणाली उद्देश्यहीन मात्र होइन, अविश्वसनीयसमेत छ।
स्कुल तहमा विद्यार्थीको सिर्जात्मक क्षमता मापन गर्न हालको परीक्षाले सकेको छैन। वक्तृत्व, नृत्य, गायन, कला तथा खेलजस्ता कुनै पनि क्षेत्रमा प्रतिभाशाली विद्यार्थी घोक्ने विषयमा लद्दु हुन सक्छ। नतिजामा दिइने मार्कसिटमा उक्त विद्यार्थीको लद्दुपनलाई छचल्काइन्छ। प्रतिभाको विषयमा मार्कसिट मौन रहन्छ। विद्यार्थीको सिर्जनाको पनि मापन नगरेर सिर्जनात्मक विद्यार्थीमाथि शिक्षाले अपराध गरिरहेको छ। आइन्स्टाइनले उतिबेला पश्चिमा देशमा चलिरहेको यस्तै शिक्षामाथि व्यंग्य गर्दै भनेका पनि थिए, ‘माछा र चराका बीचमा परीक्षा लिँदा हावामा चराले जित्छ र पानीमा माछाले जित्छ।’
शिक्षाको खास उद्देश्य विद्यार्थीको दिमागमा सूचना र तथ्यांकले भर्नु होइन, व्यक्तिका अन्तर्निहित क्षमतालाई बाहिर निकालेर त्यसको विकास गर्न मद्दत गर्नु हो। विडम्बना स्मृति जाँचमा आधारित परीक्षा प्रणालीले शिक्षाको उद्देश्य नै उल्टो बनाइदिएको छ।
परीक्षामा सोधिने प्रश्नको ढाँचा सिर्जनात्मक उत्तर दिनुपर्ने खालको, विषयवस्तुको गहिराइ मापन गर्ने खालको र प्रश्न नदोहोराएर सोधिए मात्रै पनि परीक्षार्थीको चिट चोर्ने बानी समाप्त भएर जान्छ। वर्षको अन्त्यमा लिइने सिर्पm एउटा परीक्षा व्यक्तिको प्रगति मापनका लागि अवैज्ञानिक छ। यसका लागि निरन्तर वा निर्माणात्मक मूल्यांकन गर्ने जिम्मा स्कुल र विषय शिक्षकलाई दिइनुपर्थ्यो। तर यो जिम्मा दिँदा फेरि पनि गोजीबाट वा औपचारिकता निर्वाह गराउने मात्र हुने खतरा छ। यसर्थ, हाम्रो शिक्षा प्रणाली उच्च स्तरमा पुग्न समयले निकै मेहनतको माग गरेको छ।
अरू तहमा जस्तै मास्टर्सको जाँच दिइरहेको कक्षाभित्र र शौचालय भित्रसमेत चिटको खात हुन्छ। प्रविधिको आजको युगमा हामी यस्तो लज्जास्पद ढंगले परीक्षा सञ्चालन गरिरहेका छौं। कहलिएका स्कुल कलेज परीक्षा केन्द्र नै किनिदिएर आफ्ना विद्यार्थीका लागि अनुकूल हुने गरी परीक्षा सञ्चालन गर्ने अपराधसमेत गरिरहेका छन्। शिक्षामाथि यति बढी अशोभनीय खेल हुनु पनि शिक्षा परीक्षामा सीमित हुनुको कारणले हो।
हाल सबै तहको परीक्षामा ग्रेड प्रणाली अवलम्बन गर्ने अभ्यास भइरहेको छ। शिक्षामा खासै ठूलो परिवर्तन यो होइन। प्रतिशतलाई गे्रडमा रूपान्तरण गरिएको मात्र हो। शिक्षाको उद्देश्य, पाठ्क्रम, विषयवस्तु, शिक्षण विधि, परीक्षा प्रणाली सबै आदिम छन्। शिक्षामार्पmत देशका लागि कस्तो योग्यता, क्षमता र सीप भएका व्यक्ति उत्पादन गर्ने भन्ने प्रस्टता भए परीक्षा लिनुको उद्देश्य पनि भेटिएला।