५५ झ्याले दरबारका मल्लकालीन भित्तेचित्र नासिँदै

५५ झ्याले दरबारका मल्लकालीन भित्तेचित्र नासिँदै

भक्तपुर : भक्तपुर दरबार क्षेत्रको ५५ झ्याले दरबारको दोस्रो तलामा रहेको मल्लकालीन भित्तेचित्र जीर्ण भएर खस्न थालेका छन् । दरबार भक्तपुरका मल्ल राजा भूपतिन्द्रले नेपाल संवत् ८२८ मा निर्माण गरेका थिए । उनले दरबारको दोस्रो तलामा रामायण र महाभारतको कथा झल्किने विश्वरूपका चित्र पूरै भित्तामा चित्रांकित गराएका थिए । दोस्रो तलाको चारैतिरका भित्तामा रहेको चित्र जीर्ण भएर पत्रपत्र खस्न थालेको हो ।

२०७२ वैशाख १२ गतेको भूकम्प र त्यसपछिका पराकम्पमा समेत सग्लो रहेको दरबारको भित्तेचित्रमा क्षति पुर्‍याएको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपुरका प्रमुख इन्जिनियर मोहनकृष्ण श्रेष्ठले जानकारी दिए । भूकम्पले दरबारमा कुनै क्षति नभए पनि जीर्ण भई खस्न थालेको भित्तेचित्रको संरक्षण गर्न नसकिएको उनले बताए । ‘भूकम्पले ५५ झ्याले दरबारमा कुनै क्षति पुगेको छैन तर दरबारको दोस्रो तलामा रहेको भित्तेचित्र चर्केका छन्, केही ठाउँमा उप्किएको छ’, उनले भने, ‘सम्पदा त्यत्तिकै राख्नु हुन्नँ । यसलाई कुनै पनि किसिमले चलायमान बनाउनुपर्छ ।’

राष्ट्रिय कला संग्रहालयकै एक भागको रूपमा पुनः सञ्चालनमा ल्याउनुपर्नेमा उनले जोड दिए । भूकम्पले क्षति पुर्‍याएको कारण संग्रहालयमा रहेको सिंहध्वाका दरबार टेकोमा अडेको छ । तैपनि भूकम्प क्षतिग्रस्त सिंहध्वाका दरबारमा संग्रहालय सञ्चालन हुँदै आएको छ । संग्रहालयकी प्रमुख सरस्वती सिंहले संग्रहालय हेर्न आएका अधिकांश स्वदेशी तथा विदेशी पर्यटकले ५५ झ्याले दरबारभित्रको भित्तचित्र हेर्न आएको बताउने गरेको जानकारी दिइन् । ‘संग्रहालय हेर्न आउने धेरै पर्यटकले ५५ झ्याल दरबारको भित्तेचित्र हेर्न आएको भन्छन्’, उनले भनिन्, ‘५५ झ्याले दरबार किन बन्द भनी सोध्छन् तर हामीले जवाफ दिन सकेका छैनौं ।’ सम्पदा बन्द राख्दा क्षति बढी हुने उनको भनाइ छ ।

५५ झ्याले दरबार आर्थिक वर्ष २०५९÷६० सालसम्म राष्ट्रिय कला संग्रहालय अन्तर्गत थियो । संग्रहालयको काष्ठकला विभागमा उक्त दरबार राखिएको थियो । २०६०÷६१ मा जीर्णोद्धारका लागि दरबार बन्द गरिएको थियो । उक्त वर्ष सुरु गरिएको दरबार जीर्णोद्धार २०६४÷६५ मा पूरा भएको थियो । पुरातत्व विभाग र भक्तपुर नपाको संयुक्त बजेटमा करिब दुई करोड ४० लाख रुपैयाँमा उक्त दरबार जीर्णोद्धार गरिएको थियो । पहिले संग्रहालयबाटै उक्त दरबार पुग्न सकिन्थ्यो । जसले गर्दा संग्रहालय पुगेका सबै दरबार पुगेर त्यहाँको भित्तेचित्र पनि हेर्ने गर्थे । तर जीर्णोद्धारपछि संग्रहालयबाट दरबार पुग्ने बाटो बन्द गरियो ।

धेरै ठाउँबाट गुनासो आएपछि नगरपालिकाले ५५ झ्याले दरबार पुनः सर्वसाधारणका लागि खुला गर्ने निर्णय गरेको छ । नगरसभाले सर्वसाधारणको लागि खुला गर्ने निर्णय गरे पनि कहिलेसम्म खुल्छ कुनै स्पष्ट गरेको छैन । यसअघि नपाले २०६९ सालको भाद्रमा दरबार सर्वसाधारणका लागि खुला गरेको थियो । हप्तामा एकदिन खुल्ने व्यवस्था गरेको उक्त दरबार भूकम्पछि बन्द भएको थियो । इन्जिनियर श्रेष्ठले खुला गर्ने नाउँमा दरबारभित्र भीड जम्मा नगर्न नपासमक्ष आग्रह गरेका छन् । ‘भूकम्पले अरू के कहाँ कस्तो क्षति पुगेको त्यसको पनि अध्ययन हुनुपर्छ’, उनले भने, ‘त्यसपछि मर्मतसम्भार गरेर दरबार सर्वसाधारणका लागि खुला गर्नुपर्छ ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.