सूचना लुकाउँछन् स्थानीय तह

सूचना लुकाउँछन् स्थानीय तह

ओखलढुंगा : चम्पादेवी गाउँपालिकाको चालु वर्षको गाउँसभाबाट पारित बजेट विवरण लिन एक साताको प्रयास गर्दा पनि प्रमुख प्रशासकीय अधिकृतले दिन सकेनन् । सूचनाको हकसम्बन्धी ऐनअनुसार दर्ता गरिएका विभिन्न सूचना माग गरेको निवेदन एक महिना बित्न लाग्दासमेत कार्यान्वयनमा आएको छैन । कर्मचारीहरूले गाउँसभामा पेस गरिएको विवरण फेरबदल र तलमाथि गर्नुपरेकाले उक्त विवरण सार्वजनिक गर्न नसकिएको प्रशासकीय अधिकृतले जवाफ दिए । गाउँपालिकाको वेबसाइडमा नाम र ठेगाना मात्रै छ । जहाँ कुनै सूचना अद्यावधिक गरिएको छैन । त्यहाँ सूचना अधिकारी पनि तोकिएका छैनन् ।

लेखापरीक्षण सम्पन्न भएपछि मात्रै स्थानीय तहले आर्थिक विवरण सार्वजनिक गर्ने गरेका छन् । सुशासन ऐनले चौमासिक रूपमा खर्चको विवरण सार्वजनिक गर्नुपर्ने, बिल भर्पाई सार्वजनिक गर्नुपर्ने र सार्वजनिक सुनुवाइ गर्नुपर्ने व्यवस्था गरेको भए पनि ऐनको व्यवस्था कार्यान्वयन गरेका छैनन् । नागरिकले माग गरेका सूचनासमेत विभिन्न बहानामा नदिई अल्झाउने गरेको स्थानीयले गुनासो गरेका छन् । सञ्चारकर्मीहरूले माग गरेका सूचनासमेत गाउँपालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले नदिने गरेका सञ्चारकर्मी एस्वी जेरोले बताए । उनले भने, ‘अनियमितता खुल्ने डरले सूचना लुकाउने गर्छन् ।’

यी त उदाहारण मात्र हुन् । ओखलढुंगाका सात गाउँपालिकाबाट माग गरिएका सूचना सञ्चारकर्मी र नागरिकले पाउन सकेका छैनन् । त्यहाँका स्थानीय सरकार प्रमुख र कर्मचारीले सूचना माग्दा सीधै दिन नमिल्ने भनेर फर्काउने गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत परिवर्तन भइरहेका तथा सूचना अद्यावधिक गर्ने संयन्त्र व्यवस्थित गर्न नसक्दा समस्या आएको चम्पादेवी गाउँपालिकाका नासु ईश्वर ढुंगानाले बताए । उनले आफ्नो तहबाट सक्दो सूचना उपलब्ध गराउने गरिएको जिकिरसमेत गरे । सूचना लुकाएको गुनासो बढेपछि ६ महिनापछि जिल्ला प्रशासन कार्यालयले सूचना अधिकारी तोक्न, सूचना सार्वजनिक गर्न लिखित निर्देशन दिए पनि सो आदेश पालना भएको छैन । जनप्रतिनिधिहरू बेलगाम भई अराजक भइरहेका सरोकारवालाको आरोप छ ।

चिसंखुगढी गाउँपालिकाले सुवास घिमिरेलाई सूचना अधिकारी तोकिएको प्रमुख प्रशासकीय अधिकृत सुवास पौडेलले बताए । सिद्धिचरण नगरपालिकाले सूचना प्रविधि शाखाबाट सबै सूचना आदानप्रदान गर्न सकिने व्यवस्था गरेको प्रमुख मोहन श्रेष्ठले बताए । अन्य तहमा भने कतै पनि सूचना अधिकारी तोक्ने र सूचना दिने पद्धति विकास गरिएको छैन । यसरी सूचना प्रवाह गर्ने संयन्त्र नै नभएपछि स्थानीय सरकारसँग नागरिकको पहुँच पुग्न नसक्ने सूचनाको हकको वकालत गर्दै आएको सोच नेपालका प्रतिनिधि बीएन श्रेष्ठले बताए । सुशासन र सूचनाको हकसम्बन्धी ऐन स्थानीय सरकारले पालना नगरेको उनले आरोप लगाए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.