पुरुष मञ्चमा , महिला भुइँमा

पुरुष मञ्चमा , महिला भुइँमा

जनकपुरधाम : जिल्ला समन्वय समिति धनुषाको दोस्रो जिल्लासभा आइतबार जनकपुरमा आयोजना गरियो । समितिका प्रमुख रामदेव बनरैत यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादव सहभागी थिए । त्यसैगरी मञ्चमा प्रदेशका मुख्यन्यायाधिवक्ता दीपक झा, प्रदेशसभा सदस्य परमेश्वर साह, जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साह, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, नेपाली सेनाका अधिकृत, पत्रकार महासंघका अध्यक्ष अनिल मि श्र र समन्वय समितिका उपाध्यक्ष दीपककुमार झालगायत १० जनालाई विशिष्ट अतिथि तथा अतिथिको आशन ग्रहण गराइएको थियो । तर यत्तिका भीडमा एक जनासमेत महिलालाई मञ्चमा स्थान दिइएको थिएन ।

कार्यक्रममा धनुषाका १८ स्थानीय तहमध्ये जनकपुर उपमहानगरपालिकाकी उपप्रमुख रीता झालगायत अधिकांश नगर तथा गाउँपालिका उपप्रमुख र उपाध्यक्षहरूको सहभागिता रहेको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका महिला सदस्यहरूको समेत सहभागिता थियो । कार्यक्रमको समग्र सहभागी संख्यामध्ये महिलाको सहभागिता आधाभन्दा बढी थियो । तर कुनै महिलाले मञ्चमा स्थान पाएनन् ।

कार्यक्रम अवधिभर मञ्चमा आसिन पुरुषहरूले भाषण दिइरहँदा अधिकांश मञ्चमै रहेका अतिथिहरू बिदा भए । तर प्रमुख अतिथि यादवको भाषण चलिराख्दासम्म पनि धैर्यतापूर्वक बसेका महिलाहरूले मात्र अन्त्यमा धन्यवाद पाए । आइतबारै जनकपुरको सीताशरण होटलको सभाकक्षमा भव्यताका साथ आयोजित जनकपुर–पटना बस सेवा शुभारम्भ कार्यक्रममा पनि मञ्चमा कुनै महिलाले आसन पाएनन् । कार्यक्रमका प्रमुख अतिथि प्रदेश मुख्यमन्त्री लालबाबु राउत, प्रदेश २ का प्रहरी प्रमुख डीआईजी दिनेश अमात्य, उद्योग तथा संस्कृति मन्त्री रामनरेश राय, धनुषाका प्रजिअ प्रेमलाल लामिछाने, जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष, वरिष्ठ पत्रकार, समाजसेवी, अभियन्तालगायत पुरुष व्यक्तित्वहरू मञ्चमा थिए । तर एक जना महिलाले पनि विशिष्टको सम्मान पाएका थिएनन् । मञ्चमा २१ जनालाई प्रमुख, विशिष्ट तथा अतिथिहरूको आसन ग्रहण गराइए पनि महिलाको सहभागितालाई कसैले महŒव दिइएनन् । जिल्लामा हुने अधिकांश सार्वजनिक निकाय, संघसंस्था वा औपचारिक कार्यक्रमहरूमा महिला नेतृ, महिला प्रतिनिधिहरूलाई विकल्पका रूपमा मात्र मञ्चमा आसन ग्रहण गराउने गरिन्छ । यस्तो परिपाटीले महिलालाई सम्मान होइन अपमान हुने गरेको मिथिला नगरपालिकाकी उपप्रमुख तारा बस्नेत लामाको बुझाइ छ । समितिको कार्यक्रममा सहभागी लामाले भनिन्, ‘यो एउटा कार्यक्रम मात्र नभई अधिकांश कार्यक्रममा प्रमुख नहुँदा वा अन्य अतिथि नआउँदा मात्रै महिला नेतृहरूलाई मञ्चमा ठाउँ दिने चलन छ । अन्यथा महिलाहरू सधैं कार्यक्रममा आउने र भाषण सुनेर फर्किनुबाहेक केही कामै छैन ।’ बोली र भाषणमा मात्रै महिला अधिकार र समानताको कुरा गर्ने पुरुषले महिलाहरूलाई व्यवहारमा बराबरीको स्थान दिन अप्ठ्यारो मान्ने गरेको लामाले बताइन् ।

कम्तीमा प्रतिनिधिमूलक सहभागिताका लागि भए पनि मञ्चमा महिलालाई बसाउनुपर्ने हो, तर त्यसमा पनि आयोजकहरूले ध्यान नदिने हुँदा थुप्रै कार्यक्रममा महिला मात्र दर्शक बनेर बस्नुपर्ने अवस्था रहेको जनकपुर उपमहानगरकी उपप्रमुख रीता झा बताउँछिन् । ‘एक त महिलालाई उच्च स्थान दिन आनाकानी गरिएको छ । अर्कोतर्फ प्रदेश सरकारको मन्त्रिमण्डलमा समेत महिलाको सहभागिता नाममा मात्र सीमित छ’, उनले बताइन् ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी भएका प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री यादवले प्रदेश सरकारले महिलाहरूको अधिकार तथा हिंसा न्यूनीकरणका लागि चाँडै महिला सशक्तीकरणसम्बन्धी विधेयक नै ल्याउने तयारीमा रहेको कुरा मञ्चबाटै जानकारी गराएका थिए । तर, महिलाहरूको अधिकारको लागि जस्तोसुकै नियम कानुन आए पनि व्यवहारमा समानता आएन भने त्यसले अर्थ नराख्ने विदेह नगरकी उपप्रमुख नीलमदेवी मण्डले बताइन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.