मोफसलमा रंगमञ्चको चहलपहल

मोफसलमा रंगमञ्चको चहलपहल

 नारायणगढ : पछिल्लो समय नेपाली सिने क्षेत्रमा रंगमञ्चबाट प्रवेश गरेका कलाकारको जमात बढ्दै गएको छ। तर, रंगमञ्चमा अनुभव लिन राजधानी नै जानुपर्ने बाध्यता छ। पोखरा, विराटनगरलगायत केही सहरहरूमा कहिलेकाहीँ नाटक मञ्चन हुने गरे पनि मोफसलमा निरन्तरता पाउन नसकिरहेको बेला चितवनमा नाटक मञ्चनलाई नियमित गराउने उद्देश्यले युवाहरू सक्रिय बनेका छन्। केही वर्ष अघिदेखिको परिवेश हेर्ने हो भने नेपाली सिने क्षेत्रमा समेत रंगमञ्चबाट प्रवेश गरेका कलाकारहरूको सक्रियता बढ्दै गएकोले पनि नयाँ पुस्तामा रंगमञ्चतर्फको आकर्षण बढ्दै गएको हो।

केही महिनाअघि नारायणी कला मन्दिरमा ‘ श्रीमान् वीरबहादुर’ नाटक मञ्चन गरेको कर्मी नाट्य समूहले रंगमञ्चतर्फ आकर्षित युवालाई प्रशिक्षण दिएर फेरि अर्को नाटक ‘बहुलाकाजीको सपना’ मञ्चमा उतार्ने तयारी गरिरहेको छ।

‘युवा पुस्ताको चाहना र सम्भावनालाई मध्यनजर गर्दै अर्को नाटकको तयारी थालेका हौं,’ समूहका अध्यक्ष भीम राईले भने, ‘यसले मोफसलमा पनि नाटक मञ्चन हुन्छ भन्ने सन्देशसँगै नाटक हेर्नुपर्छ भन्ने बानीको विकास हुन्छ।’ भदौ १४ गतेबाट कार्यशाला सुरु गरेको समूहले अबको एक ००००० १० दिनभित्र नाटक मञ्चन गर्ने योजनासहित तयारी गरिरहेको उनले बताए।

‘रंगकर्ममा भविष्य खोज्नेहरूका लागि चितवनमा एउटा नाटक घर (थिएटर) निर्माण गर्नु आवश्यक छ, त्यसैका लागि पनि हामीले नाटक मञ्चन गर्ने तयारी गरेका हौं’, उनले भने।

विजय मल्लद्वारा लिखित नाटक ‘बहुलाकाजीको सपना’ मा २००७ साल वरिपरिको परिवेश भएको हुँदा कलाकार पनि त्यतिबेलाको परिवेशलाई कसरी प्रस्तुत गर्ने भन्ने विषयमा गम्भीर भएर तयारी गरिरहेका छन्। ‘आजभन्दा करिब सात दशकअघिको परिवेशलाई पुरानै शैलीमा उतार्नु हाम्रा लागि निकै चुनौतीपूर्ण विषय हो,’ नाटकमा बहुलाकाजीको भूमिकामा तयारी गरिरहेका कलाकार एवम् कवि मुकुन्द खलपात्रले भने, ‘तैपनि हामी सजग छौं। पात्रलाई न्याय दिन सकिन्छ भन्नेमा ढुक्क छौं।’ नाटक मञ्चनबाट उठेका रकम बचाउन सके थिएटर निर्माणमा सहयोग पुग्ने उनले बताए।

चितवनमा थियटर निर्माण गर्ने योजनासहित केही वर्षदेखि समूहले विभिन्न खालका कार्यक्रम गर्दै आएको छ। तर, खर्च अभावकै कारण निर्माण गर्न नसकिएको भन्दै नाटक मञ्चनलाई नै निरन्तरता दिइँदै आएको समूहका सचिव एवम् रंगकर्मी अञ्जान ढुंगानाले बताए। ‘हामीले नाटक मञ्चनबाट धेरै फाइदाको अपेक्षा गरेका छैनौं,’ उनले भने, ‘चितवनमा एउटा थिएटर निर्माण गर्नु नै हाम्रो उद्देश्य हो।’ थिएटर निर्माण गर्न सकियो भने राम्रो कलाकार बन्न चाहनेका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुने उनको विश्वास छ।

‘ श्रीमान् वीरबहादुर’ नाटक मञ्चन भएपछि चितवनमा पनि नाटक हेर्ने वातावरणको विकास भएको निर्देशनक विवेक तिवारीले बताए। ‘नयाँ अनुहारलाई स्थान दिँदा मोफसलबाटै राम्रा कलाकार उत्पादन गर्न सकिन्छ भन्ने हाम्रो बुझाइ हो’, उनले भने।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.