मेयरका भतिजा खोला खन्ने धन्दामा

मेयरका भतिजा खोला खन्ने धन्दामा

गौशाला : क्रसर व्यवसायीहरूले अवैध रूपमा खोलाबाट बालुवा गिट्टी झिकेपछि महोत्तरीको गौशाला नगरपालिकाको थापा टोल जोखिममा परेको छ। वातावरणमा पनि गहिरो असर पुगेको छ।

असार, साउन र भदौ गरी तीन महिना बाढी, पहिरो, कटान र डुबानको जोखिम रहेकाले सरकारले खोला उत्खननमा रोक लगाएको छ। तर गौशाला बजार पश्चिम मरहा खोला नजिकै क्रसरवालाहरूले रातमा बालुवा, ढुंगा चोरीनिकासी गर्ने गरेको थापा टोलका स्थानीय सुमित मगरले बताए। ‘सबै सुतेपछि राति १० बजेपछि क्रसरवालाहरू ट्रयाक्टर, जेसिबी लिएर खोलामा पस्छन्’, उनले भने, ‘राति २ बजेसम्म खन्छन्।’

रातको समयमा टोल भएर बालुवा, गिट्टी बोकेका सवारी साधन हुइँकिँदाको ड्याङ ड्याङ डुङ डुङले स्थानीयवासीको निन्द्रा बिग्रिने गरेको छ। ‘भररात घर अगाडिबाटै ट्रक, टिपर गुड्छन्’, ललिता थापाले भनिन्, ‘बच्चाहरू कहालिएर उठ्छन्। रातमा क्रसर चलाउँदा हामी राम्रोसँग सुत्न पाउँदैनौं।’ हेवी इक्वीपमेन्ट (ठूला यन्त्र) प्रयोग गरेर खोलाबाट नदीजन्य पदार्थ खन्न पाइँदैन। तर क्रसर व्यवसायीहरूले जेसिबीले प्रयोग गरेर खोला डिलमै ५–७ फिट गहिरो खाल्टो खनेर अवैधानिक रूपमा बालुवा गिट्टीको चोरी निकासी गर्ने गरेका हुन्।

मरहा खोलाको पश्चिम डिलमा दुईवटा क्रसर सञ्चालनमा छन्। सिद्धार्थ क्रसर उद्योग र जय माँ जल्पा बालुवा गिट्टी वासिङ सेन्टरले खोला खन्ने गरेको स्थानीयवासीले जानकारी दिए। उद्योग वाणिज्य संघ गौशालाका अध्यक्ष राजाराम गिरीले सिद्धार्थ क्रसर प्रमोद महतो भएको बताए। उनी गौशाला नगरपालिका मेयर शिवनाथ महतोका भतिजा हुन्।

मरहा खोलामा उत्खन्न गरि क्रसरले बनाएको खाल्टो। 

पहुँचको बलमा प्रमोद र राजाराम गिरी सहितले सञ्चालन गरेको क्रसरबाट रातारात खोला उत्खनन गरिहेका हुन्। उनीहरूले स्थानीय प्रहरी प्रशासनलाई हातमा लिएर अवैध रूपमा खोलाबाट बालुवा गिट्टी झिक्ने गरेका छन्।

जनता मारमा पर्दा पनि स्थानीय प्रहरी प्रशासन मुक दर्शक बनेको स्थानीयको भनाइ छ। ‘नदी उत्खननले हाम्रो खेतबारी धरापमा प¥यो’, ६५ वर्षीय नथु आलेले दुःखेसो पोख्दै भने, ‘खोलाको डिलबाटै बालुवा गिट्टी नउठाइदिनुस् भन्दा क्रसरवालाहरू गाउँलेको कुरो टेर्दैनन्। खोलाले खेत कटान गरेर सत्यानास गरिरहेको छ।’ खोलाले यसपाली गाउँलेको पाँच बिघा खेत कटान गरेको छ भने धान, मकै, उखुजस्ता अन्नबाली बगाएको उनले बताए।

जथाभावी उत्खननले मरहा खोलामा जरुवाको पानी सुक्न थालेको छ। खानेपानीका स्रोत ह्यान्डपाइप, इनार, बोडिङहरू सुक्न थालेका छन्। ‘प्राकृतिक स्रोत दोहनले पानीको मुहान पात्तालमा पुग्दैछ’, स्थानीय ढालबहादुर छाङले चिन्ता व्यक्त गर्दै भने, ‘पानीको मुहान सुके कहाँबाट पानी ल्याउने ? ’ पानीको स्रोत सुक्दा कृषि खेतीमा सिँचाइ गर्न असर पुगेको उनले बताए।

सिद्धार्थ क्रसरमा खोला खनि थुपारेको नदीजन्य पदार्थ।

सिद्धार्थ क्रसर सञ्चालक प्रमोद महतोले आफूले खोला नखनेको दाबी गरेका छन्। उनले भने, ‘साउन महिनामा मात्र खोलाबाट बालुवा गिट्टी उठाएँ। त्यसयता खोला खनेको छैन।’ असार, साउन र भदौमा यो काम गर्न ऐनकानुनले दिँदैन। दुई दिनअघि पनि खोलाबाट उनको क्रसरले बालुवा गिट्टी उत्खनन गरेको खाल्टो खोलामा ताजै छ।

क्रसरवालाहरूले खोला खन्ने गरेको आफूकहाँ जानकारी आएको गौशाला नगरपालिका मेयर शिवनाथले बताए। उनले भने, ‘चेकमा जान्छौं तर खोलामा भेटिदैनन्।’ स्थानीयका अनुसार, खोला रातमा खनिन्छ तर निगरानी गर्नेहरू दिउँसो मात्र जाने गरेका छन्।

आफ्नो भतिज होस् या बुबा गल्ती गर्नेलाई कारबाही गर्ने मेयर महतोले बताए। ‘प्रहरी प्रशासनले कमिशन खाएर खोला खन्ने गरेको कुरा म कहाँ आएको छ’, उनले भने, ‘यसो नगरिदिन भनेको छु। प्रहरी प्रशासनलाई खोलामा निगरानी गर्न आग्रह गरेका छौं।’ खोला खनिरहेको बेलामा सूचना दिन गाउँलेलाई उनले आग्रह गरेका पनि बताए।

गौशाला इलाका प्रशासन र प्रहरी कार्यालय भए पनि प्रमुखले ध्यान नदिँदा थापाटोल जोखिममा पर्दै गएको हो। इलाका प्रहरी कार्यालय गौशालाका निमित प्रमुख प्रदीप भगतले प्रहरीले कमिशन लिएर खोला खन्न दिइरहेको कुरा पुष्टि गर्नु पर्ने बताए। ‘पुलिस भगवान् त होइन नि। सूचना आएपछि नै जाने हो पक्रन’, उनले भने, ‘गैरकानुनी काम गर्नेहरूसँग हामीले कुनै पनि हालतमा सम्झौता गर्दैनौं।’

जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी नदीजन्य पदार्थ उत्खननको विषय स्थानीय सरकार जिल्ला समन्वय समितिसँग सम्बन्धित रहेको बताए। ‘नगरपालिका र जिल्ला समन्य समिति आफू सुतेर बस्ने’, उनले भने, ‘अनि प्रहरीले कमिशन खाएर खोला खन्न दियो भन्न मिल्दैन। कसैले गरेको पाए कारबाही हुन्छ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.