रोकिएन कञ्चनपुरमा बलात्कारको शृंखला

रोकिएन कञ्चनपुरमा बलात्कारको शृंखला

महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धान टुंगोमा पुग्न सकेको छैन। २ महिना बितिसक्दासमेत अहिलेसम्म हत्याराको सुइँको समेत प्रशासनले पाउन सकेको छैन। देशैभर प्रदर्शन र दबाबमूलक कार्यक्रमसमेत भइरहँदा पनि कञ्चनपुरमा शृंखलाबद्व बलात्कारका घटना भइरहेका छन्।

निर्मला पन्तको बलात्कारपछि भएको हत्यापछि पनि शृंखलाबद्ध रूपमा बालिका र किशोरीहरू बलात्कारको सिकार हुन पुगेका छन्। गत भदौ १५ गते कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–१ मा एक किशोरी बलात्कारको सिकार भइन्। किशोरीलाई अपहरणशैलीमा मोटरसाइकलमा राखी घरदेखि अर्को गाउँ जबदा भन्ने ठाउँमा लगेर बलात्कार गरियो। उनी स्थानीय एक विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिइन्।

घरमा पूजाको कार्यक्रम सकिएर राति नाचगान भइरहेकै समयमा उनकै साथीले फोन गरेर घरबाहिर बोलाएर अन्तै लगी बलात्कार गरिएको थियो। प्रहरीले दुई दिन लगाएर घटनामा संलग्न अभियुक्तहरूलाई पक्राउ गर्‍यो। उनीहरूमाथि अनुसन्धान चलिरहेको छ। गत भदौ २६ गते कञ्चनपुरकै महाकाली नगरपालिकाकी–१० वर्षीया बालिका बलात्कृत भइन्। उनलाई स्थानीय ४० बर्से व्यक्तिले फकाएर बलात्कार गरेको प्रहरीले जनाएको छ। बालिकालाई धानबारीमा लगेर बलात्कार गरिएको थियो।

उनलाई प्रहरीले घटनास्थलमै चारैतिरबाट घेरा हाली पक्राउ गरेको थियो।। पक्राउ परेका आइते सुनारलाई हिरासतमा राखी अनुसन्धान भइरहेको छ। भदौ १५ गते नै बेल्डाँडी गाउँपालिकाका दुई जना बालिका बलात्कृत भइन्। यो घटना करिब २ सातापछि मात्रै सार्वजनिक भयो। भदौ ३० गते मात्रै बालिकाले परिवारलाई खबर गरेपछि घटना बाहिर आयो। प्रहरीले परिवारको जाहेरीका आधारमा वृद्वलाई पक्राउ गरी अनुसन्धान थालेको छ। परिवारका सदस्यहरूले करणी कसुरअन्तर्गत जाहेरी दिएपछि प्रहरीले मुद्धा दायर गरेर अनुसन्धान अघि बढाएको छ।

१६ साउनमा पुनर्वास नगरपालिका–२ की १६ वर्षीया बालिकालाई २६ बर्से युवक विकास बुढाले जबर्जस्ती करणी गरे। घर पुर्‍याइदिन्छु भन्दै ती युवकले बालिकालाई उखुबारीमा लगेर जबर्जस्ती गरेका थिए। बालिकाले दिएको बयानका आधारमा बुढा पक्राउ परेका थिए। बुढाविरुद्ध जबर्जस्ती करणीअन्तर्गत मुद्दा चलाइएको छ। यस्तै साउन १९ गते भीमदत्त नगरपालिका–१० जिमुवाकी पाँच वर्षीया बालिकालाई ४० बर्से लक्ष्मण कोलीले बलात्कारको प्रयास गरेका थिए।

यी घटना कञ्चनपुरमा साउन १० गतेपछि मात्रैका हुन्। जिल्लामा पछिल्लो समय दिनहुँजसो बलात्कारका घटनाहरू बाहिर आउन थालेका छन्। बालिका र किशोरी नै सबैभन्दा बढी जोखिममा परेका तथ्यांकले देखाउँछ।

‘बालिका र किशोरी सबैभन्दा बढी जोखिममा छन्’, अधिवक्ता एवं अधिकारकर्मी पुनमसिंह चन्दले भनिन्, ‘यसले समाजमा ठूलो समस्या निम्त्याएको छ।’ उनले पछिल्ला घटनाले निकै गम्भीर अवस्था सिर्जना गरेको भन्दै राज्यका निकाय, स्थानीय तहलगायत सबै जागरुक र सहज हुनु आवश्यक देखिएको बताइन्।

बलात्कारका घटना बढ्दै जान थालेपछि अभिभावक एवं सरोकारवालाहरू चिन्तित हुन थालेका छन्। ‘निर्मलाको बलात्कारपछि हत्या भयो, ती अपराधी अझै पक्राउ परेका छैनन्’, अधिकारकर्मी शारदा चन्दले भनिन्, ‘दिनानुदिन एकपछि अर्को बलात्कारको घटना घटिरहेको छ।’

बढ्दो सामाजिक विकृति, इन्टरनेटको गलत प्रयोग र दुव्र्यसनीका कारणसमेत अहिले बलात्कारका घटना बढेको प्रहरीको ठम्याइ छ। बालिकादेखि किशोरीसम्म बढी बलात्कारका सिकार भएका छन्। कतिपय वृद्व अवस्थाका महिलासमेत सिकार भएका छन्। परिवार र आफन्तबाटै पनि बलात्कार हुने गरेको पाइएको छ। कञ्चनपुरमा यस वर्ष ८ वटा बलात्कारका घटना घटिसकेको प्रहरी प्रवक्ता डीएसपी कृष्णराज ओझाले बताए। ‘बलात्कार र बलात्कारको प्रयासका घटना अझै बढिरहेका छन्’, उनले भने, ‘यस्तो जघन्य अपराध रोक्नेतर्फ सबै लाग्नुपर्छ’,

उनले महिला हिंसाका घटना न्यूनीकरण गर्न प्रहरी संवेदनशील भएर लागिपरेको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.