चालकको आन्दोलनले दोस्रो दिन पनि सिन्धुली ठप्प
सिन्धुली : गत भदौं १ गतेबाट लागू हुनेगरी सरकारले ल्याएको सवारी ऐन चालकमैत्री नभएको भन्दै नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिले सुरु गरेको आन्दोलनको दोस्रो दिन पनि सिन्धुलीमा सवारी साधन ठप्प भएका छन्।
चालकलाई पेशा प्रतिनै घृण लाग्ने गरी अपराधीसरह व्यवहार गरिएको ऐन संशोधनको माग राख्दै आन्दोलीत चालकले कुनैपनि सवारी साधन सञ्चालन नगर्दा सवारी साधन ठप्प भएका हुन्।
मंगलबारबाट देशैभर आन्दोलीत चालकसँगै सिन्धुलीका चालक पनि आन्दोलीत हुँदा सिन्धुलीको वीपी राजमार्ग, मध्येपहाडी लोकमार्ग, हेटौंडा-सिन्धुली-गाईघाट बैकल्पीक मार्गलगायत लामो तथा छोटो दूरीमा सञ्चालन हुने सबै सवारी साधन बन्द भएका छन्।
सवारी साधन सञ्चालन नहुँदा सिन्धुलीमाढी सुनसान जस्तै बनेको छ। चालकले सवारी साधन नचलाएर आन्दोलनमा उत्रिएपछि राजमार्ग सुनसान बनेका हुन्। राजमार्गमा एम्बुलेन्स र मोटरसाइकलबाहेक अन्य सवारी साधन चलेका छैनन्।
सवारी तथा यातायात व्यवस्थासम्बन्धी ऐन २०४९ को संशोधित ऐन २०७४ को दफा ६३ देखि १६३ सम्मका विभिन्न बुँदा सवारी चालकको हित विपरीत भएको भन्दै चालक बुधबार बिहानदेखिनै सडकमा जम्मा भएर विरोधमा उत्रिएको सिन्धुलीगढी यातायातका चालक सुक्र श्रेष्ठले बताए । 'यो संसोधित ऐन चालकको हित विपरीत छ। सरकारले आफ्ना माग पुरा नगरेसम्म आन्दोलन जारी रहने छ', उनले भने।
वर्तमान ऐनको दफा १६१ को १ मा ज्यान मार्ने मनसाय लिई दुर्घटना गरेको भए चालकलाई जन्म कैद हुने व्यवस्था छ । उक्त दफाले आफूहरुले सवारी साधन चलाउँदा प्राविधिक या अन्य कसैको कारण दुर्घटना भए या कसैको ज्यान गएपनि आफू जन्मकैद बस्नुपर्ने बाध्यकारी व्यवस्था सरकारले ल्याएको कारण पेसागत सुरक्षाका लागि आन्दोलनमा उत्रनु परेको अर्का चालक भक्त बम्जन बताउँछन्।
'चालकले जानीजानी नियतबस कसैमाथि दुर्घटना गराउँछ भने उसलाई कारबाही हुनैपर्छ अन्यथा आफ्नो समेत ज्यानको बाजी लगाएर सबै यात्रु र पैदल यात्रीलाई समेत जोगाउन कोसीस गर्दागर्दै हुने दुर्घटनामा पनि चालक जेल जानुपर्ने अवस्था आए कसले कुन सवारी चलाउँछन् ?,' उल्टो प्रश्न गर्दै उनले भने।
उता चालकको आन्दोलनका क्रममै बस चलाएको भन्दै वीपी राजमार्गमा एउटा बसमाथि समेत ढुङ्गा मुडा भएको सिन्धुली प्रहरीले जनाएको छ। बसमाथि ढुङ्गामुडा गरेको अभियोगमा बुधबार दुई जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। तर, आक्रमणमा परेको बस र आक्रमण गर्नेका बारेमा भने प्रहरीले केही सार्वजनिक गर्न मानेको छैन्।