मकै मासेर किवीखेती
भोजपुर : पछिल्लो समय जिल्लाका विभिन्न ठाउँमा व्यावसायिक किवी खेती सुरु भएको छ। राम्रो आम्दानी दिने आकर्षणले भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिकाका विभिन्न भेगमा किसानले मकै र आलु फल्ने बारीमा व्यावसायिक किवी खेती सुरु गरेका हुन्।
एकपटक रोपेपछि वर्षौंसम्म आम्दानी लिन सकिने भएपछि किवी खेती सुरु गरिएको टेम्के मैयुङ गाउँपालिका ४, नागीका सुरज राईले बताए। उनले सुरुमा रहरले खेती गर्न सुरु गरिए पनि यसको बजार मूल्य पनि राम्रो र एकपटकको बिरुवाले वर्षौंसम्म धान्ने भएकाले व्यावसायिक खेती थालिएको सुनाए। आफ्नो १३ रोपनी बारीमा चार वर्षअघि सुरु गरेको खेतीले अहिले उत्पादन दिन थालेको उनी बताउँछन्।
‘रोपेको दुई वर्षबाट केही उत्पादन दिन थाल्यो तर यो वर्षबाट भने उत्पादन दोब्बर भएको छ’, राईले भने, ‘गत साल किवीबाट पाँच लाख जति आम्दानी भयो। आगामी दिन अझै धेरै हुने आशा छ।’ सुरजले इलामबाट दुई सयभन्दा बढी बिरुवा ल्याएर सुरु गरेको खेतीले गत वर्ष सात सय केजी उत्पादन भएको थियो। मकै बारीमा किवी खेतीका साथमा पाखे अलैंची र खुर्सानी खेती पनि गर्न सकिने भएकाले दोहोरो फाइदा लिन सकिने उनले बताए।
उत्पादित किवी स्थानीय बजारमा प्रतिकिलो दुई सय ५० रुपैयाँदेखि तीन सयसम्म किनबेच हुने गरेको छ। राम्रो उत्पादन दिन थालेपछि गाउँका अन्य कृषक पनि किवी खेती विस्तारमा लागेका छन्। घरपरिवारको साथ र सहयोगमा खेती धानिरहेका राईले आगामी वर्ष खेतीबाट वार्षिक १० लाखसम्म आम्दानी लिने अपेक्षा राखेका छन्।
किवी खेतीको सम्भावना राम्रो देखिएपछि आफूले पनि खेती विस्तार गरेको अर्का स्थानीय सपराज राईले बताए। उनले भने, ‘चार वर्षअघि खेती सुरु गरेको देख्दा हुन्छ कि हुँदैन जस्तो लागेको थियो तर मज्जाले फस्टाउने रहेछ। आम्दानी पनि गज्जबको हुने रहेछ।’
टेम्के मैयुङ गाउँपालिकाका कृषि प्राविधिक सहायक रामयतन यादवले गाउँपालिकाको धेरै क्षेत्रमा व्यावसायिक रूपमा किवी खेतीको सम्भावना रहेकाले आगामी वर्ष खेती विस्तारका लागि बजेटिङ गर्दै जाने बताए। उनका अनुसार किवी खेतीका लागि उपर्युक्त हावापानी भएकाले १५ सय मिटरभन्दा माथि २४ सय मिटरसम्मको उचाइमा खेती गर्न सकिनेछ। अहिले भोजपुर नगरपालिकाका पोखरे, टेम्के मैयुङ गाउँपालिकाका नागी, खावालगायत क्षेत्रमा व्यावसायिक किवी खेती हुँदै आएको छ।