अटो प्रविधिमा क्रान्ति

अटो प्रविधिमा क्रान्ति

काठमाडौं : सूचना तथा प्रविधिको विकाससँगै अटोमोबाइल क्षेत्र पनि प्रविधिमैत्री बन्दै गइरहेको छ। पुरानो र नयाँ गाडीमा प्रयोग भएका प्रविधिहरू हेर्दा अटोमोबाइल क्षेत्रले ठूलै फड्को मारेको भान हुन्छ। गाडीमा प्रयोग गरिने प्रविधि हरेक वर्ष परिस्कृत हुँदैछन्। पाँच वर्षअघि गाडीमा प्रयोग हुने प्रविधि र पछिल्लो पाँच वर्षको अन्तरालमा प्रयोग भएका प्रविधिमा आकाशजमिनको फरक छ।

इलेक्ट्रिक कन्सेप्टअनुसार टेस्ला, किया, निसान, बीवाइडी, फोर्डलगायत प्रसिद्ध कम्पनीहरूले विद्युतीय सवारीसाधनको व्यावसायिक उत्पादन सुरु गरिसकेका छन्। यहीँ योजनासहित गत फागुनमा नयाँदिल्लीको ग्रेटर नोयडामा आयोजित अटो एक्स्पोमा अधिकांश कार निर्माता कम्पनीले हाइब्रिड इलेक्ट्रिक कारको कन्सेप्ट सार्वजनिक गरेका थिए ।

पछिल्लो समयमा गाडीको कुम्भ मेला नाडा अटो सोमा आकर्षक गाडीहरू मात्र थिएनन्, ती गाडीहरूमा प्रयोग गरिएका प्रविधिसमेत स्मार्ट र नयाँ थिए। केही समयअघि मात्र गुगलले सार्वजनिक गरेको सेल्फ ड्राइभिङ कार यसको एउटा उत्कृष्ट उदाहरण हो। गुगलले सार्वजनिक गरेको सेल्फ ड्राइभिङ कारमात्र नभएर अहिले नेपालका सडकमा गुडिरहेका कार पनि प्राविधिक रूपले परिस्कृत बन्दै गएका छन्।

यो वर्षको नाडा अटो सोमा विद्युतीय कारको फरक रौनक देखियो। नेपालमा विद्युतीय कार भित्रिएको दशक नाघिसके पनि यो वर्ष नाडामा विद्युतीय गाडी भिœयाउने होड नै चल्यो जसले अवलोकनकर्ताको ध्यानसमेत केन्द्रित गरेको छ। गत वर्ष किया र महिन्द्राका मात्रै इलेक्ट्रिक गाडी सोमा देखिएको भए पनि यो वर्ष घेरै ब्रान्डले विद्युतीय गाडी भित्र्याएका छन्। यसपटक टाटा, हुन्डाई र रेनोले पनि मेलामा आफ्ना नयाँ विद्युतीय गाडी प्रस्तुत गरेका छन्।

विद्युतीय सवारीमा देखिएको यो आकर्षणले अब नेपालमा पनि विद्युतीय सवारी सम्भव छ भन्ने देखाएको नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा)का अध्यक्ष शम्भु दाहाल बताउँछन्। ‘अहिलेसम्म नेपालमा इलेक्ट्रिक कारप्रति सर्वसाधारण विश्वस्त हुन सकेका छैनन्’, उनले भने, ‘अटो सोमा देखिएको विद्युतीय गाडीको रौनकताले नेपालमा इलेक्ट्रिक कार भित्रिने क्रम बाक्लो हुने विश्वास गर्न सकिन्छ। टाटा, हुन्डाईजस्ता कम्पनीको विद्युतीय कार प्रवेश गर्दा बजारमा विद्युतीय सवारीमा उपभोक्ताको आकर्षण झनै तानिने विश्वास गर्न सकन्छि। यो वर्ष नाडा अटो सोमा कियाको सोल, टाटाको टिगोर, हुन्डाईको आयोनिक, रेनल्टको जोई, महिन्द्राको भेरिटो राखिएको थियो। नेपालमा उपलब्ध अर्को विद्युतीय कार बीवाईडी पनि हो।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका मार्केटिङ प्रमुख आवशिष ओझाका अनुसार अहिले गाडीमा प्रयोग भएको प्रविधि पाँच वर्षको तुलनामा ८० प्रतिशत परिवर्तन भएको छ, जसमा बिस्तारै प्रयोगकर्ता अभ्यस्त हुँदै गएका छन्। आजभन्दा पाँच/सात वर्षअघि गाडीमा प्रयोग हुने टेक्नोलोजी भनेको ड्यासबोर्डमा रहेको रेडियो, म्युजिक प्लेयरमा सीमित थियो। तर, अहिले गाडीमा स्मार्ट ड्यासबोर्ड प्रयोग गर्न थालिएको छ, जसले स्मार्टफोनसरह काम गर्छ। अहिले गाडीमा ब्लुटुथमार्फत आफ्नो मोबाइल कनेक्ट गरी उसैले म्यासेज पढिदिने, फोन उठाउन सकिने, साथै गुगल म्यापरजीपीएस प्रयोग गरी गन्तव्यमा पुग्न सकिने भएको छ। जीपीएसको प्रयोग नेपालमा भने हुने सकेको छैन।

गाडीमा जीपीएस प्रणाली भए पनि नेपालको रोडम्याप उपयुक्त नभएकाले यसको प्रयोग हुन नसकेको उनी बताउँछन्। उनका अनुसार पहिले सबै गाडी मेकानिकल हुने गरेको थियो तर त्यो परिवर्तन भएर अहिले ३० प्रतिशत मेकानिकल र ७० प्रतिशत कार इलेक्ट्रिक भइसकेको छ। यो पनि अटो सेक्टरमा प्रविधिले ल्याएको ठूलो परिर्वतन हो। पछिल्लो समय गाडीमा टेक्नोलोजीको प्रयोग विशेष रूपमा यात्रालाई सुरक्षित, विश्वस्त र आरामदायी बनाउन हुने गरेको उनी बताउँछन्।

गाडीमा अहिले ब्लुटुथका साथै वाइफाइ, म्युजिक प्लेयर, भिडियो प्लेयरसमेत विकास भइसकेको छ। त्यतिमात्र नभएर गाडीमा सेन्सर प्रणालीको विकास भएको छ। गाडीमा रेन सेन्सर प्रयोग हुन थालेको छ जसले पानी पर्नेबित्तिकै भाइपर आफैं चल्छ। सेन्सर प्रणालीकै सहायताले गाडी दुर्घटना हुनुपूर्व आफैं रोकिने सिस्टम पनि विकास भएको छ। तर, यो प्रणालीका साथ नेपालमा भने गाडी भित्रिनसकेको युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिका सेल्स एन्ड मार्केटङ इन्चार्ज विवेकबहादुर बलामीले बताए।

युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले नेपालमा टोयोटा कम्पनीको गाडी बिक्री गर्दै आएको छ। अहिले गाडी आफैंले सर्भिसिङको समय आएको समेत जानकारी दिन सक्ने सुविधा प्रविधिले सिर्जना गरिदिएको छ। यसले कार प्रयोगकर्तालाई सर्भिसिङको समय सम्झिरहनुनपर्ने भएको बलामी बताउँछन्।

यसका साथै गाडी पार्किङको समयमा सहज बनाउन एक्टिभ पार्किङ एसिस्टका साथै स्टेरिङसँगै घुम्नेगरी पछाडिको भागमा क्यामराको पनि विकास भइसकेको छ। यसले पार्किङ गर्दा पछाडि सहजै देख्न सकिन्छ।

बीएमडब्लूजस्ता लग्जरियस कारमा चालक कारबाट निस्केपछि आफैं पार्किङ हुने सिस्टम प्रयोग भएको छ। कारमा जेस्चर कन्ट्रोलको पनि विकास भएको छ जसबाट छोएको भरमा कारमा भएका फिचरलाई प्रयोग गर्न सकिन्छ। गाडीमा प्लेनमा प्रयोग हुने ब्ल्याकबक्स प्रयोग गर्ने तयारी समेत भइरहेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन्।

यसरी नयाँ–नयाँ प्रविधिको विकाससँगै गाडीमा प्रयोग हुँदा गाडीको व्यापारमा समेत राम्रो प्रभाव परेको छ। गाडी खरिद गर्ने मानिसले गाडीमा भएको फिचरलाई महŒवका साथ हेर्ने गरेको उनले बताए। उनका अनुसार गाडीमा प्रयोग भएको नयाँ प्रविधिकै कारण व्यापारमा पनि राम्रो प्रभाव परेको छ। पछिल्लो समय प्रविधि प्रयोगमा गाडी उत्पादक कम्पनीबीच पनि प्रतिस्पर्धा हुने गरेको उनी बताउँछन्।

यसले गाडीको व्यापार केही रूपले बढेको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका मार्केटिङ प्रमुख ओझा पनि स्वीकार गर्छन्। उनका अनुसार मानिस यसमा अभ्यस्त हुनु र बढी स्वतन्त्र जीवन जिउन खोज्नुले पनि गाडीमा प्रविधिको प्रयोग बढी हुन थालेको हो। प्रविधिले मानिसको यात्रालाई स्वतन्त्र, सहज, आरामदायी र सुरक्षित्र बनाउँदै गएको छ। यसले गाडीको मूल्यमा केही घटबढ भए पनि आवश्यक भएकाले पैसा तिर्न पछि नहट्ने उनले बताए।

‘विद्युतीय सवारीको भविष्य राम्रो छ । अटो सोमा पनि धेरै कम्पनीले प्राथमिकता दिएका छन्,’ नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष कृष्णप्रसाद दुलालले भने, ‘अबको भविष्य विद्युतीय सवारी नै हो ।’ नाडाका उपाध्यक्ष दुलालका अनुसार विद्युतीय सवारीको भविष्य भए पनि भौगोलिक अवस्थाले समस्या छ । विद्युतीय सवारीको चार्जिङ स्टेसनको अभाव छ । ब्याट्री तल्लो भागमा हुन्छ । सहज पहुँच र उपलब्धताका लागि सरकारले मुख्यतः पूर्वाधारमा ध्यान दिनुपर्नेमा उनले जोड दिए।

नाडामा ‘रेनो जोई ४०’ विद्युतीय कार पनि सार्वजनिक गरिएको थियो । कम्पनीका अनुसार अधिकांश अवलोकनकर्ता इलेक्ट्रिक सवारीका लागि मात्रै आएका छन्। ‘नाडामा मुख्य क्रेज विद्युतीय सवारी नै भएको छ’, उनले भने, ‘सर्वसाधारणले धेरै रुचाएका छन् ।’ यस कारमा ब्रेक लगाएपश्चात ब्याट्रीमा थप ऊर्जा उत्पन्न हुन्छ । कारको स्पिड प्रतिघण्टा १३५ किलोमिटर छ ।

नाडा सोमा राखिएको ‘जोई ४०’ प्रदर्शनीका लागि मात्रै हो । उक्त कार फेब्रुअरी २५ मा नेपालमा भित्रिने कार्कीले बताए । आकर्षक बनावट, उत्कृष्ट क्षमता र प्रदूषण शून्यता कारका मुख्य विशेषता रहेको कम्पनीको दाबी छ ।

त्यस्तै हुन्डाईले पनि ‘इयोनिक’ विद्युतीय कार सार्वजनिक गरेको छ । यसमा २८ केडब्लूएचको ब्याट्री छ । ब्याट्रीको पावर ८८ किलोवाटको पावर रहेको कम्पनीले जनाएको छ । कम्पनीले यसको बजार मूल्य ५२ लाख ९६ हजार रुपैयाँ तोकेको छ । महिन्द्रा एन्ड महिन्द्राले पनि नाडा अटो सोको पहिलो दिनमा इभेरिटो सार्वजनिक गरेको थियो । पहिलोपटक सार्वजनिक गरिएको अल इलेक्ट्रिक सेडान इभेरिटोको चार्ज तीव्र गतिमा हुने कम्पनीको दाबी छ ।

नयाँ प्रविधिको पार्किङ

काठमाडौं महानगरपालिकाले उच्च प्राविधिक क्षमताको स्वचालित पार्किङस्थल निर्माण गर्ने तयारी गरेको छ। डिजाइन फाइनान्स बिल्ड अपरेट एन्ड ट्रान्सफर (डीएफबीओटी)को अवधारणाअनुरूप महानगरले स्वचालित पार्किङस्थल निर्माण गर्न लागेको हो।

महानगरपालिकाका निजी साझेदारी इकाइ निर्देशक महेश काफ्लेले पार्किकस्थल निर्माण गर्दा डिजाइनमा आउने समस्याले काममा अवरोध नहोस् भनी डीएफबीओटी मोडलमा निर्माण गर्न लागिएको जानकारी दिए। ‘नेपालका धेरै निर्माणाधीन योजना उचित डिजाइन अभावका कारण पूरा हुन सकेका छैनन्। महानगरले निर्माण गर्न लागेको पार्किङ डिजाइनकै कारण निर्माणमा अवरोध आउन नदिन डीएफबीओटी मोडल अघि सारिएको हो। पार्किङस्थल निर्माण गर्न इच्छुक कम्पनीले आफ्नो डिजाइन आफै बनाएर निर्माण गर्छन्’, काफ्लेले भने। धर्मपथस्थित आफ्नै जग्गामा स्वचालित पार्किङ निर्माण गर्न लागिएको हो।

धर्मपथको एक रोपनी १५ आना जमिनमा दुईतले बेसमेन्टसहित ६ तलाको पार्किङस्थल निर्माण गर्न लागिएको काफ्लेले बताए। विद्युतीय सवारी पार्किङ गरिएको स्थानमै चार्ज गर्न सकिने र एकपटकमा सात सयभन्दा धेरै सवारी अट्ने गरी निर्माण गर्न लागिएको छ। यो पार्किङस्थल स्वाचलित हुनेछ। स्वचालित पार्किङस्थल बनाउन इच्छुक कम्पनी तथा जोइन्ट भेन्चर (जेभी)ले २० हजार रुपैयाँ तिरेर महानगरपालिकाबाट फारम लिनु पर्नेछ। स्वदेशी तथा विदेशी दुवै कम्पनीले पार्किङ बनाउन प्रस्ताव पेस गर्न सक्नेछन्।

महानगरपालिकाले पार्किङ निर्माण गर्न एक अर्ब रुपैयाँ लाग्ने जानकारी दिएको छ। डीएफबीओटी मोडलमा निर्माण हुने पार्किङस्थल निर्माण गर्ने कम्पनीले २५ वर्षसम्म सञ्चालन गर्न पाउनेछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.