पर्यटन प्रवर्द्धन गर्न नेपाल–भारत साझेदारी
सिलिगुडी : नेपाल र भारतमा मिलेर पर्यटन प्रवर्द्धनका लागि दुवै देशका व्यवसायीबीच सम्झौता भएको छ। भारतको सिलिगुडीमा भएको कार्यक्रममा संयुक्त रूपमा काम गर्नेलगायत १३ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
नेपालबाट नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाटा) र भारतबाट इस्टर्न हिमालय ट्राभल्स एन्ड टुर अपरेटर्स एसोसिएसन (इथ्वा) का प्रतिनिधिले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। द्विदेशीय कार्यक्रम गर्दा संयुक्त रूपमा आयोजना गर्ने, दुवैतर्फका प्रतिनिधि रहने गरी पाँचदेखि सात सदस्यीय बोर्ड गठन गर्ने, पर्यटकको सुविधाका लागि संयुक्त रूपमा काम गर्नेलगायत सम्झौता भएको नाटाका अध्यक्ष भूपालराज श्रेष्ठले बताए।
सम्झौतापत्रमा अध्यक्ष श्रेष्ठसहित महासचिव नवीन खरेल र इथ्वाका अध्यक्ष देवाशिष मैत्रा र महासचिव सन्दीपन घोषले हस्ताक्षर गरेका छन्। यो सम्झौतासँगै नेपालका पर्यटकीय र धार्मिक स्थल अवलोकन गर्न आउने भारतीय र भारतको बाटो भएर आउने पर्यटकको संख्या बढ्ने नाटाका प्रदेश १ महासचिव नवीन खरेलले बताए। ‘नेपालमा भारतबाटै सोचेजति पर्यटक आउन सकेका छैनन्, अब दुवै देशका व्यवसायी बसेर विभिन्न कार्यक्रम बनाई प्रचार गरेपछि नेपालमा पर्यटकको संख्यामा वृद्धि हुन्छ’, महासचिव खरेलले भने, ‘भारतमा पनि नेपाली पर्यटक उत्तिकै जानेछन्।’
यो सम्झौताले प्रदेश १ लाई अझै फाइदा पुग्ने उनको भनाइ छ। ‘प्रदेश १ मा अथाह प्राकृतिक क्षेत्र, पर्यटकीय तथा धार्मिक क्षेत्र छन् तर प्रचार र प्रवर्द्धन नगरिँदा धेरै पर्यटक काठमाडौं र जनकपुर पुग्छन्’, उनले भने, ‘अब हाम्रो योजनामा प्रदेश १ का पर्यटकीय र धार्मिक क्षेत्र पनि पर्छन्। यसले प्रदेश १ लाई धेरै फाइदा पुग्नेछ।’
नेपाल पर्यटन बोर्डका दक्षिण एसिया क्षेत्रका प्रबन्धक नवीन पोखरेलले यो ऐतिहासिक सम्झौता भएको बताए। ‘यो सम्झौता दुई देशको पर्यटन प्रवर्द्धनका निम्ति कोसेढुंगा सावित भएको छ’, प्रबन्धक पोखरेलले भने, ‘दुई देशका व्यवसायीबीच राम्रो योजना बन्यो भने नेपालका लागि फाइदा लिने सम्भावित क्षेत्र धेरै छन्।’
यो सम्झौता गर्न बोर्डको महत्वपूर्ण भूमिका रहेको सुनाउँदै उनले व्यवसायीलाई योजना बनाउन सहयोग गर्ने बताए। ‘भारतको पश्चिम बंगाल क्षेत्र र नेपालको प्रदेश १ क्षेत्रको संरचना उस्तै रहेको र यो क्षेत्रमा पर्यटकीय तथा धार्मिक क्षेत्र पनि प्रशस्त छन्’, उनले भने, ‘एकले अर्को देशको पर्यटन विकासको सिको गर्न सके दुवै देशलाई फाइदा पुग्छ।’
भारतीय पर्यटन बोर्डका क्षेत्रीय निर्देशक जेपी साहले नेपाल विश्वकै सुन्दर देश भएकाले पनि सबै भारतीयले एकपटक नेपाल घुम्नुपर्ने बताए। नेपाल र भारतबीचको भाइचारा र सांस्कृतिक सम्बन्धले पनि भारतीय नागरिकका लागि नेपाल भ्रमण गर्न सजिलो रहेको उनको भनाइ थियो। निजी क्षेत्रको प्रयासमा भारत सरकारका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता उनले जनाए।
इथ्वा अध्यक्ष मैत्राले यो सम्झौताले दुवै देशका पर्यटकको व्यवस्थापन सहज हुने विश्वास व्यक्त गरेका थिए। उक्त कार्यक्रममा दुवै संस्थाका सदस्यता आदानप्रदान गरिएको थियो। नाटाका १८ सदस्यलाई इथ्वाको सदस्यता प्रदान गरिएको थियो। त्यस्तै, इथ्वाका ८४ सदस्यलाई नाटाको सदस्यतासमेत प्रदान गरिएको संस्थाका पूर्वमहासचिव उदयकुमार श्रेष्ठले जानकारी दिए।