रातो स्टिकरको भवनमा हजार विद्यार्थी
ललितपुर : न्यून आय तथा मध्यम वर्गीय परिवारका एक हजारभन्दा धेरै विद्यार्थी अध्ययनरत लखनखेलस्थित नमुना मच्छिन्द्र विद्यालयमा भूकम्पपछि रातो स्टिकर टाँसिएको छ। जोखिम मोलेरै भए पनि विद्यार्थीहरू यो विद्यालयमा पढिरहेका छन्। कक्षा १ देखि १० सम्म पाँच सय २५ तथा कक्षा ११ र १२ मा ५ सय विद्यार्थी अध्ययनरत छन्। भूकम्पले विद्यालयका पर्खालहरू चिरिएका छन्।क्षतिग्रस्त भवन निर्माणका लागि जापानी सहयोग नियोग (जाइका) अग्रसर भए पनि सप्तपाताल पोखरीको विषयलाई लिएर स्थानीय तह र विद्यालयबीच असमझदारी बढेपछि निर्माण कार्यबाट पछि हटेको हो।
विद्यालयका प्रधानाध्यापक राधाकृृष्ण महतले जाइकाले २० करोड लागतमा अत्याधुनिक भवन बनाइदिने सहमति गरेको जानकारी दिए। महतका अनुसार लामो समयदेखि विवादित भवन निर्माणको काम लगभग सहमतिमा पुगेको छ। उनले भने, ‘स्थानीय तहले विद्यालयको भवन बनेपछि पोखरी र बगैंचा बन्नुपर्ने बताएका छन्।’ पोखरीका लागि दुई रोपनी जग्गा छुट्याइसकेको भए पनि थप जग्गा पोखरीलाई दिनुपर्ने स्थानीयको माग छ।‘लगनखेल समाज’ का अध्यक्ष विनोद प्रधानले स्थानीयहरू विद्यालय निर्माणमा बाधक नभएको तर विश्वास गर्न सक्ने वातावरण नभएको टिप्पणी गर्छन्।
पाँच–सात वर्षअघि विद्यालयले सपिङ कम्प्लेक्स बनाउन लागेपछि स्थानीयले विरोध गरेको भन्दै उनले भने, ‘विद्यालय र स्थानीयबीच विश्वासको वातावरण नबनेको हो। पर्यावरण राम्रो बनाउन स्थानीयले सप्तपाताल पोखरी यथावत् राख्नुपर्ने माग राखेका हुन्।’ तर विद्यालयले ०३४ सालमा सरकारबाट ललितपुर नगर ५ को कित्ता नम्बर १११ को ३ रोपनी २ आना १ पैसा र कित्ता नम्बर ११२ मा रहेको १४ रोपनी १० आना २ पैसा जग्गा पाएको थियो।
लालपुर्जा हात परेपछि विद्यालयले भवन निर्माण गर्न पाउनुपर्छ भन्दै अडान लिएको थियो। लगनखेल वातावरण सुधार समितिले विद्यालयको लालपुर्जा वैधानिक नभएकाले ‘बदर गरिपाऊँ’ भनी सर्वोच्चमा मुद्दा हालेको थियो। गत जेठमा ललितपुर महानगरपालिकाले पनि ऐतिहासिक महत्वको सप्तपाताल पोखरी विनाश हुने भन्दै हाल निर्माणका काम नगर्नू भन्ने आदेश दिएपछि विद्यालय विलखबन्दमा परेको प्रअ महतले स्मरण गरे।
जाइकाले बनाउने भनिएको मछिन्द्र स्कुलको नमुना
देशका अधिकांश जिल्लाका न्यून तथा मध्यम आय भएका परिवारका बालबालिका अध्ययनरत यो विद्यालयमा ललितपुरका दुई प्रतिशतभन्दा कम बालबालिका छन्। लगनखेल समाजका अध्यक्ष प्रधानले सहमतिमा आउन दुवै पक्ष लचिलो हुनुपर्ने र यसका लागि छलफल निरन्तर भइरहेको बताए। उनले भने, ‘टोलबासीलाइ विद्यालयको बोर्डमा राख्नुपर्ने हाम्रो माग हो।’
जिल्ला शिक्षा समन्वय इकाइ ललितपुरका प्रमुख गुणराज पोखरेलले नमुना मच्छिन्द्र विद्यालयको जस्तो समस्या जिल्लाका अन्यत्र विद्यालयमा नभएको जानकारी दिए। जिल्लामा भूकम्पले क्षति पुगेका धेरैजसो विद्यालय बनिसकेका र निर्माणमा समस्या नभएको जानकारी दिए।। प्रायः श्रमिकवर्गका छोराछोरी अध्ययनरत यस विद्यालयमा स्थानीयहरू नपढ्ने भएकाले उनीहरूले खासै चासो नदिएको हुनसक्ने प्रतिक्रिया दिए।
जिल्ला आयोजना कार्यान्वयन इकाई ललितपुरका अनुसार जिल्लामा एक सय ८६ वटा सामुदायिक विद्यालय छन्। ती विद्यालयका २ हजार ७ सय ९ कक्षाकोठा मध्ये ५० वटा पूर्ण क्षति भएका, ७ सय ८३ अधिक क्षति र ६ सय ३८ मा आंशिक क्षति भएका छन्। विद्यालय पुनर्निर्माण कार्यविधि २०७३ को दफा ३ ले भूकम्पबाट क्षति पुगेका सबै विद्यालय बनाउनु राज्यको दायित्व भित्रै राखेको छ।