नानीबाबुसँग कुलमान घिसिङका मनका कुरा

नानीबाबुसँग कुलमान घिसिङका मनका कुरा

मेरो जन्म रामेछाप जिल्ला तत्कालीन बेथान गाविसको डहु गाउँमा भएको हो। त्यो बेला हाम्रो गाउँमा पढेका मान्छे थिएनन्। एसएलसी गर्नु धेरै परको कुरा थियो। हाम्रो परिवार कृषिमा आधारित भएकाले म पनि सानैदेखि भैंसी र गोरु चराउने काममा लागेको थिएँ। घरको काममा सघाउँथेँ। मेरा दौंतरी विद्यालय जान्थे। मैले भने त्यो मौका पाएको थिइनँ। ममा विद्यालय जाने रुचि बढ्दै गएको थियो। बुवालाई स्कुल जाने इच्छा सुनाएँ। त्यसपछि मेरो विद्यालय यात्रा सुरु भयो।

तीन कक्षासम्म पढाइ हुने प्राथमिक विद्यालयको कक्षा १ मा भर्ना हुँदा आधा कोर्स पढाइ भइसकेको थियो। तर कक्षा १ मा म प्रथम भएँ। २ कक्षामा पुग्दा ए, बी, सी, डी पनि सिकेँ। त्यसबेला कक्षा ४ बाट मात्र ए, बी, सी, डी सिकाइन्थ्यो। कृष्णबहादुर पाण्डे सरले एक घन्टा पैदल हिँडेर पुगिने कुशेश्वर निम्न माध्यमिक विद्यालयमा कक्षा ४ मा भर्ना गरिदिनु भयो। यो ३ कक्षा नपढी आएको भनेर मेरो विरोध गर्ने पनि निस्किए। कक्षा ४ मा म प्रथम भएपछि सबै चुप लागे। त्यसबेला हामी टुकीको उज्यालोमा पढ्थ्यौं। हरेक बिहान खरबारीबाट भैंसीलाई एक भारी घाँस ल्याउने मेरो काम थियो। हामी कहिलेकाहीँ साथीहरूसँग खोपी खेलेर स्कुल जान पनि बिर्सिन्थ्यौं।

जेठ, असारको भेलमा माछा मार्न जान्थ्यौं। स्कुल छुट्टी हुनासाथ बेंसीको गोठमा पुगेर मकै र माछा पोलेर खाएको झलझली याद आइरहन्छ। सुनकोसी र चौंरी खोलाको दोभानमा बाढी आउनासाथ किनारमा माछा आउँथे। एकपटक म एक्लैले एक डोको माछा मारेको थिएँ। हाम्रो खेती सानो भए पनि धान बेच्ने चलन थियो। तर घरमा धानको भात र मासु खान दसैं कुर्नुपथ्र्यो। दसैंमा नयाँ कपडासमेत लगाउन पाइने भएकाले हामी दसैंकै पर्खाइमा हुन्थ्यौं।

मेरा जेठा र माइला दाजु काठमाडौंमा थान्का चित्र बनाउने काम गर्नुहुन्थ्यो। कक्षा ५ पूरा गर्नासाथ मलाई दाजुहरूले काठमाडौं ल्याउनुभयो। त्यसबेला हामी जैसीदेवलमा बस्थ्यौं। म बालसेवा माविमा कक्षा ७ मा भर्ना भएँ। कक्षा ६ नपढी आएकाले सुरुमा मलाई अलि असजिलो पनि भयो। तर मैले धेरै नै मेहनत गरेँ। त्यहाँ रामेछापकै शिवप्रसाद अधिकारी नाम गरेका शिक्षक पनि हुनुहुन्थ्यो। मेरो मेहनत देखेर सरहरूले मलाई औधी माया गर्नुहुन्थ्यो। म कक्षा ७ मा पनि प्रथम भएँ।

त्यसअघिका फस्ट ब्वाई सिद्धार्थ वनस्थली बोर्डिङतिर लागे। म पनि सरहरूको सल्लाहअनुसार बानेश्वरको अमर आदर्श स्कुलमा भर्ना हुन गएँ। पछि मेरा दाजु बानेश्वर बस्ने भएकाले विद्यालय नजिकै पथ्र्यो। त्यहाँ मलाई कक्षा ५ मा मात्र राख्न सकिने भनेर प्रिन्सिपलले भनेपछि पछि मैले मानिनँ।

मैले सक्छु भनेपछि मात्रै कक्षा ८ मा भर्ना गर्न राजी भए। नेपाली माध्यमबाट अंग्रजी माध्यममा प्रवेश गर्दा मलाई निकै गाह्रो भयो। प्रथम त्रैमासिक परीक्षामा अंग्रेजी विषयमा फेल पनि भएँ। तर मैले मेहनत गर्न छाडिनँ। फाइनल परीक्षामा पुनः प्रथम भएँ। २०४३ सालको एसएलसीमा बोर्डमा आउँछ भनेर मेरो आकलन गरिएको थियो तर मेरो गणित विषयमा नम्बर कम आयो। त्यसबेला बोर्डमा आउने १० जनाको निकै इज्जत हुन्थ्यो। म त्यसमा परिनँ।

अस्कल क्याम्पसबाट आईएस्सी सकेपछि छात्रवृत्तिका लागि निवेदन दिएँ। बंगलादेश, रुस र भारतमा नाम निस्कियो। मैले भारत रोजेँ। इन्जिनियरिङ सकेर फर्किएपछि जागिरका लागि आवेदन दिएँ। एकैपटक जलस्रोत मन्त्रालय, हवाई विभाग र विद्युत् प्राधिकरणमा नाम निस्कियो। मैले प्राधिकरण रोजेँ। पढाइमा जस्तै जागिरमा पनि मलाई धेरै कुराले साथ दिएको छ। सातौं तहबाट प्रवेश गरे पनि आठौं तहमा रहँदारहँदै एक, डेढ वर्षमै १०औं तहमा नाम निकालेँ। ११औं तहमा काम गर्दागर्दै १२औं तहमा नगई एमडी भएँ। मैले यसअघि पनि चिलिमे हाइड्रोपावरको कार्यकारी निर्देशकको अनुभव सम्हालेको थिएँ। यसले जनतालाई सेयर वितरण गर्ने नयाँ कामको सुरु गरेको हो।

म एसएलसी र आईएस्सीको तयारी गर्दा सँगै पढ्ने साथीलाई ट्युसन पढाएर खर्च जुटाउँथेँ। २०४५ सालमा आईएस्सी परीक्षाको तयारी गर्दागर्दै बिरामी भएँ। आँखा पाकेर हेर्नसमेत नमिल्ने भएको थियो। केही सीप नलागेपछि परीक्षा नदिने निर्णय गरेर आराम गरिरहेको थिएँ। एक्कासि विनाशकारी भूकम्प आयो। जसका कारण परीक्षा पनि सर्‍यो। मैले परीक्षा दिने मौका पाएँ। आजकल पनि बेलाबेलामा त्यस वर्ष नियमित रूपमा परीक्षा दिन बञ्चित भएको भए के हुन्थ्यो होला जस्तो लागिरहन्छ।

हामीले हरेक काममा हेलचेक्र््याइँ र लापरबाही गर्नु हुँदैन। मेहनतसाथ गरेको कामले जहिल्यै सफलता दिलाउँछ। हाम्रो दिमाग जति तिखार्यो उति तिखारिने रहेछ। त्यसकारण पनि मेहनतको विकल्प देखिँदैन। हाम्रो पालामा पढाइलाई धेरै महत्व दिने चलन थियो। आजकल बुवाआमा र शिक्षकका लागि पढिदिने जस्तै भएको छ। कुनै पनि काम जिम्मेवारी बोधका साथ गरेमात्र सफलता प्राप्त हुन्छ।

असफल हुनासाथ आत्तिइहाल्ने बानी ठीक होइन। सफलता हात लाग्नुभन्दा पनि त्यसको साख बचाइराख्नु ठूलो कुरा रहेछ। असफलता नै सफलताको ढोका हो भन्ने कुरा सधैं ख्याल गर्नुपर्छ। हरेक काममा इमानदारिता आवश्यक हुन्छ। इमानदारिता र नैतिकताले नै मान्छेलाई सफलता दिलाउँछ।

(नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग समीरबाबु कट्टेलले गरेको कुराकानीमा आधारित)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.