मायोपियाको डर
कक्षाकोठामा बसेको विद्यार्थी ह्वाइट बोर्डमा लेखेको नदेखेर छेउमा बसेको साथीको कापी हेर्दै सार्न लागेका त छैनन् ? शिक्षकले हेक्का राख्ने हो भने कक्षामा यस्ता विद्यार्थी भेटिन सक्छन्। यस्तो अवस्थामा विद्यालयमै आँखा शिविर राख्ने वा अभिभावकलाई खबर गर्ने त ? यसमा सचेत भए विद्यार्थीको दृष्टिमा धेरै सुधार गर्न सकिन्छ।
अभिभावक व्यस्त रहने हुनाले छोराछोरीको आँखा उपचारमा ध्यान दिन पाउँदैनन्। विशेषगरी बिदाको दिन कुरेर बस्ने प्रवृत्तिले बालबालिकालाई सकस परिरहेको वरिष्ठ आँखारोग विशेषज्ञ डा. आनन्द शर्मा बताउँछन्। कलिलै उमेरमा उनीहरूमा दृष्टिदोषको समस्या देखिन थालेको छ। अहिले घरबाहिर घुम्ने, खेल्ने चलन हराउँदै गएको छ। घरभित्र नै कम्प्युटर, ट्याब, मोबाइल, टेलिभिजन हेरेर समय बिताउने बालबालिकामा मायोपियाकोे सम्भावना बढी देखिन थालेको छ।
के हो मायोपिया ?
मायोपिया भएका विद्यार्थीले नजिकको वस्तु, चित्र वा अक्षर स्पष्टसँग देख्छन्। तर, टाढाको धमिलो देख्छन्। यसलाई निकट दृष्टिदोष भनिन्छ। यस्ता विद्यार्थीको आँखामा जाने प्रकाश रेटिनामा नभई सामुन्ने मात्र केन्द्रित हुने भएकाले टाढाको वस्तु धमिलो देखिन्छ। तीन मिटरभन्दा टाढाबाट हेर्दा वस्तु धमिलो देखियो भने मायोपियाको लक्षण हुनसक्ने डा. शर्मा बताउँछन्।
मायोपिया भएको अवस्थामा टेलिभिजनमा देखिने दृष्य, कक्षाको ह्वाइट बोर्डमा लेखेको विषयआदि बालबालिकाले स्पष्ट रूपमा देख्दैनन्। अन्तिम बेन्चमा बसेको अवस्थामा साथीको सार्छन्। प्रस्ट देख्दैनन। टाढाको वस्तु वा अक्षर हेर्दा आँखा चिम्म गर्छन्। यस्तो बेला शिक्षकले मायोपिया भएको हो कि भनेर शंका गरी आँखा जाँच गराउन सुझाव दिए समस्या चाँडै पत्ता लाग्छ। डा. शर्मा भन्छन्, ‘कतिपय शिक्षकले विद्यार्थी अल्छी भएको ठानेर बेवास्ता गर्न सक्छन् तर उनीहरूले अल्छी गरेर नभई स्पष्ट नदेखेर त्यसो गरेका हुन्। फिल्म हेर्दा पनि यस्तो समस्या देखिन सक्छ।’
अभिभावकले पनि छोराछोरीमा मायोपिया हो कि होइन भनी परीक्षण गर्नुपर्छ। छोराछोरीले सडकमा रहेका ट्राफिक चिह्नहरू पनि देख्न सक्दैनन् भने आँखा जँचाउन ढिलाइ गर्नु हुँदैन। अभिभावकमध्ये कसैलाई मायोपियाको समस्या भई चस्मा लगाउनु परेको छ भने छोराछोरीमा पनि समस्या देखिनसक्ने डा. शर्मा बताउँछन्। वंशाणुगत रूपमा सन्तानमा पनि यो समस्या देखा पर्न सक्छ। आमाबाबु दुवैलाई मायोपिया छ भने सन्तानमा समस्या हुने सम्भावना झन् बढी हुन्छ। जुन व्यक्तिले बढी पढ्छन् वा ज्यादा नजिकमा मोबाइल, ट्याब, ल्यापटप राखेर खेल्छन् उनीहरूलाई मायोपियाको जोखिम बढी हुन्छ। सोफामा बसेका बच्चा सर्दैैसर्दै गएर टेलिभिजनअगाडि पुग्छन्। किन अगाडि गएर हेरेको भन्दै हामी बच्चालाई गाली गर्छौं। तर तिनको समस्याबारे गम्भीर भएर बुझ्दैनौं।
यो समस्याबाट अमेरिकामा तीस प्रतिशत बालबालिका पीडित भएको पाइएको छ। एसियामा १३ प्रतिशत बालबालिका यसबाट पीडित भइरहेको अनुमान छ। नेपालमा भने कति बालबालिका मायोपियाबाट प्रभावित छन् भन्ने अनुसन्धान भएको छैन। समस्या बढ्दै गएकाले विश्वमा सन् २०५० सम्ममा पाँच अर्ब व्यक्ति मायोपियाबाट पीडित हुने अनुमान छ। अधिकांशलाई स्कुले जीवनमै मायोपियाले सताउने गरेको पाइएको छ। विद्यार्थीलाई मायोपिया मात्र नभएर हाइपरमेट्रोपिया अर्थात् हाइपेरोपिया पनि हुन सक्छ। यो समस्या भएको बेला बालबालिकाले नजिक देख्दैनन्, टाढा देख्छन्। तर, हाइपरमेट्रोपियाभन्दा मायोपियाको समस्याले विद्यार्थी बढी पीडित हुने गरेका छन्। मायोपियाको समस्या बढ्दै गए रेटिना पातलो हुने सम्भावना रहन्छ। लक्षणहरू
• टाढाको वस्तु धमिलो देख्ने
• दृश्य हेर्दा बल गर्नुपर्ने
• आँखामा दबाब पर्दा टाउको दुख्ने
• रातमा हिँडडुल गर्न कठिनाइ हुने
• टेलिभिजन, कक्षाकोठा वा फिल्म हेर्न अघि सर्ने
• आवश्यकताभन्दा बढी परेला झिम्क्याउने
• दृश्य धमिलो देखेपछि आँखा चिम्सो पार्ने
सुधार गर्ने कसरी ?
मायोपिया भएको व्यक्तिले माइनस पावर भएको चस्मा प्रयोग गरेमा सुधार ल्याउन सकिन्छ। हाइपरमेट्रोपिया अर्थात् हाइपेरोपियामा चाहिँ प्लस पावरको लेन्सले सुधार गर्न सकिन्छ। लेन्स वा सर्जरी गरी मायोपियामा सुधार ल्याउन सकिन्छ। उपयुक्त लेन्स भएको चस्मा लगाउनु पर्छ। सर्जरी पनि गर्न सकिन्छ तर जोखिमको खतरा हुन्छ।
काम गरेको आधा घन्टापछि केही बेर आँखालाई आराम दिनुपर्छ। पुस्तक पढ्दा निश्चित दूरी कायम गर्नुपर्छ। पर्याप्त उज्यालो भएको कोठामा काम गर्नुपर्छ। टेलिभिजन हेर्ने निश्चित समय बनाउनुपर्छ। समयमै पहिचान गरी निदानतिर लाग्ने हो भने सुधार गर्न सकिन्छ। समयमै सुधार नगर्ने हो भने बच्चाको आँखा अल्छी हुन जान्छ। यसले डेढोपन पनि हुन सक्छ।