घर छाउने परेवा

घर छाउने परेवा

मधुप्रसाद घिमिरे

परेवाका भालेपोथी आहार खोज्न हिँडे। पोथीको समूह र भालेको समूह अर्कै अर्कै भयो। उड्दै जाँदा ती समूहहरू सहर पार गरेर गाउँमा पुगे। सहरमा घरको छानामा उडी चारा खोजेको उनीहरूले सम्झे। गाउँको घरको छानो छ्वालीले भर्खर छाएको उनीहरूले पहिले देखे। एउटा घरमा एक समूह गएर हेरे। अर्को समूह अर्को गाउँमा पुगे। उनीहरूलाई छ्वालीले छाएको घर राम्रो लाग्यो।

सहरका घर अग्ला अग्ला र सिमेन्टले ढलान भएका हुन्छन्। गर्मी महिनामा ढलान तातेर उनीहरूलाई बस्नै गाह्रो हुन्छ। तर गाउँका छ्वालीले छाएका घरका छतमा बस्दा पनि गर्मीको महसुस भएन उनीहरूलाई।

घर छाउँदा बाँसको भाँटाले छ्वाली थिचेर कतै बाबियोको डोरीले बाँधेका थिए त कतै बाँसको मसिनो चोयामा डोरी जस्तै बनाएर छ्वालीलाई भाँटाले थिची चोयाले बाँधेका थिए। परेवाका समूहले वरपर घरहरू हेरे। मानिसले गरेको घर छाउने काम हामी पनि गर्न सक्छौं भन्ने उनीहरूलाई लाग्यो। ती परेवाको समूहले आपसमा सल्लाह गरे। बेलुकी गुँडमा बस्दा आआफ्नो भाले पोथी सबै जम्मा भएर बसे। वरपरका सबै परेवाका समूह मिलेर बसे। वास्तवमा मानिसले बस्ने घर छाउने परम्परा तिनीहरूलाई राम्रो लाग्यो। स्वास्थ्यको लागि ढलानवाला घरभन्दा गाउँमा छ्वालीले छाएका घर लाभदायक छ। उनीहरूले यस्तै सोचे। ती घरहरूले गर्मीमा शीतलता हुने र जाडोमा न्यानो हुने हुँदा प्राणीहरूको लागि लाभदायक रहेछ भन्ने उनीहरूको बैठकले निर्णय गर्‍यो।

सहरबाट धेरै समूहमा गाउँ पसेका परेवाले ‘मानिसले गरेको घर छाउने काम हामी पनि सिक्छौं र गर्छाैं’ भन्ने सोचे। ‘पशु गरेन चाकडी पन्छी गरेन काम’ मानिसको यो उक्तिलाई हामीले बदल्न सक्नुपर्छ। परेवाहरूको यो सल्लाहपछि गाउँघरमा उनीहरूले घर छाएको हेर्दै हिँडे। गाउँमा छरिएका मकै, कोदो, भटमासजस्ता खाद्यान्नहरू चारा टिपेर सहरमा बसेका परेवा गाउँमा नै रमाए।

नभन्दै केही परेवाले घर छाउने काम सिके। मानिसको सिको पन्छीले गर्न सक्छ भन्ने उनीहरूले उदाहरण बनेर देखाए। गाउँमा एकजना बूढा रुँदैरुँदै हिँडिरहेका थिए। ती परेवाले देखे। तिनीहरूले सोधे, ‘तपाईं किन रुनुभएको ? ’ ती बूढाले जवाफ दिए, ‘मेरो घर चुहिएर पानी सबै भित्र पस्छ। बिछ्यौना सबै भिजिसक्यो। मेरो खेतमा छ्वाली छ। मेरै बाँसको थान छ। बाँसबाट भाँटा र चोया म आफैं बनाउँछु। छ्वाली आफैं ओसार्छु तर घर छाउन मैले जानेको छैन। ज्याला दिएर काम लाउन मसँग पैसा छैन।’

बूढाको यो गुनासो सुनेपछि केही परेवाले भने, ‘तपाईं सामानको बन्दोबस्त गर्नुहोस्, घर हामी छाइदिन्छौं। हामीलाई सहर बजारमा बस्दाका ढलानवाला ठूलाठूला घरमा छानाछाना डुल्ने बानी परिसकेको छ। सहर बजारको घुलो, धुवाँ, अनियन्त्रित घर, बिजुलीका खम्बामा लत्रिएका तार यी सबैबाट हामी वाक्क दिक्क छौं। त्यसैले हामी गाउँमै बस्न रुचाउँछौं। तपाईंको काम हामी गरिदिन्छौं। मानिसले सुकाएका खाद्यान्न, छरिएका अन्नहरूबाट केही खाएर हामी गाउँमै बस्न रुचाउँछौं।’

बूढाले केहीबेर त परेवाका कुरा पत्याएनन्। केही समयपछि उनलाई चराहरूको सहयोगी भावनाले द्रविभूत बनायो। नभन्दै गरिब बूढाले घर छाउने सामग्री ठीक पारे। परेवाका केही समूहले बूढाको घर छाउन थाले। परेवाका चुच्चोले डोरी, चोया छिराउँथे। खुट्टाको नङ्ग्राले डोरी चोया समाएर कस्थे। यसरी मेहनत गरेर परेवाका समूहले ती गरिब बूढाको घर छाएर देखाए। छ्वाली टल्किएर घर चिटिक्क देखियो।

वास्तवमा हामी चरा, पशु, पन्छी सबैले केही न केही काम गर्न सक्छौं। भगवान्को सृष्टिमा बेकामी कामै नलाग्ने कोही पनि छैनन्। खाली समाजले नचिनेको मात्र हो। हामी बस्ने समाजमा पन्छी, पशुको पनि काम छ भन्ने समाजले बुझ्दै जाओस् भन्दै परेवाको समूह भुरुरु उडे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.