सभापतिको अधिकार विकेन्द्रित गर्नुपर्छ : कोइराला
बुटवल : कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले कांग्रेस सभापतिको अधिकार विकेन्द्रीकरण गर्नुपर्ने बताएका छन्। पार्टीको विधान संशोधन गर्दा सभापतिलाई बढी अधिकार दिनुपर्ने खालको बहस चलिरहँदा कोइरालाले सभापतिले आफूलाई मात्र अधिकार नराखी प्रदेशलाई पनि दिनुपर्ने उल्लेख गरे।
बुटवलमा आयोजित साक्षात्कारमा उनले भने, ‘संघीयता आइसकेपछि अब अधिकार पनि विकेन्द्रीकरण गर्नुपर्छ। सभापतिको अधिकार अब प्रदेश र गाउँ तहमा दिनुपर्छ भन्ने मेरो धारणा हो।’ पार्टीको तल्लो तहको निकायलाई बलियो नपार्ने हो भने कांग्रेसको अस्तित्व नै नरहने कोइरालाको भनाइ छ। पार्टीको महाधिवेशन लम्ब्याउन नहुने बताए।
आगामी महाधिवेशनमा कोइराला परिवार एक भएर अघि बढ्ने महामन्त्री कोइरालाले जनाए। ‘शेखर दा, सुजता र मबीच एकता हुन्छ, आउँदो महाधिवेशनमा सभापतिका लागि सल्लाह गरेर अघि बढ्छौं।’ उनले भने ‘हामीबीच कुनै तिक्तता छैन। कोइराला परिवारबाट जोकोही सभापतिको उम्मेदवार हुन्छ।’
शनिबार बुटवल आएका कोइरालालाई कार्यकर्ताले आगामी महाधिवेसनमा सभापति बन्न आग्रह गरेका छन्। कार्यक्रममा उनले आफू देशभर घुमिरहेको र सबैको रायको आधारमा चल्ने बताए। गुट उपगुटले कांग्रेस क्षतविक्षत भएको भन्दै कोइरालाले आन्तरिक विवाद समाप्त पारेर पार्टी नयाँ युगमा जानुपर्ने उल्लेख गरे।
फरक प्रसंगमा कोइरालाले संघीयता आए पनि अहिलेको सरकारले केन्द्रीकृत शासन नै चलाइरहेको दाबी गरे। ‘कम्युनिस्टहरूको मानसिकता केन्द्रीकृत नै हुन्छ। संघीयताको मर्म उनीहरूले बुझेका छैनन्’, उनले भने, ‘स्थानीय र प्रदेश सरकारमा प्रशस्त बजेट जानुपर्ने भए पनि सरकारको केन्द्रीय मानसिकताका कारण त्यो हुन सकेको छैन।’ कोइरालाले वर्तमान सरकारसँग देश विकासको ठोस योजना नभएको दाबी गरे। उनले करवृद्धिले जनता मारमा परेका भन्दै त्यसप्रति कांग्रेस संवेदनशील रहेको बताए।