गर्मीयामका स्वास्थ्य समस्या
महेन्द्रनगर, राजविराज, वीरगन्ज, जनकपुर, भैरहवा, विराटनगर, कैलालीको सेती र बुटवलको लुम्बिनी अञ्चल अस्पताललगायतका स्वास्थ्य संस्थामा गर्मीजन्य भाइरल संक्रमण, झाडापखाला, विषम ज्वरो, कमलपित्तलगायत बिरामीको चाप बढेको छ। आकस्मिक कक्षमा एक शड्ढयामा चार जनासम्म र करिडोर तथा बरन्डामा बिरामी राख्दा नयाँ ऐनले स्वास्थ्यकर्मीलाई चुनौती दिने भएपछि प्रयोगशाला, प्रेषण कक्ष, आदिको खोज बढी हुन थालेको छ।
जलवायु परिवर्तन, जनसंख्या वृद्धि, वातावरण प्रदूषण, बाक्लो वस्ती तथा फोहोरमैलाका कारण तराई क्षेत्रमा मात्र होइन, पहाडमा समेत गर्मीले समस्या उत्पन्न गर्दैछ। गर्मी मौसममा केही श्वासप्रश्वास र धेरैजसो पाचन प्रणाली तथा छालासँग सम्बन्धित सरुवा रोग आफ्नै लापबाही र सचेतना अभावका कारण लाग्ने गर्छ।
हेर्दा एकैखालको देखिए पनि ज्वरो कारणअनुसार फरकफरक हुने गर्छ। कुनै ज्वरो आफैं सन्चो हुन्छ, कुनै ज्वरो औषधिले पनि नछोएर अस्पताल भर्ना हुनुपर्ने खालको हुन्छ। शरीरको तापक्रम ९८ देखि ९९ डिग्री फरेनहाइटभन्दा बढी भएमा ज्वरो आएको मानिन्छ।
गर्मीसँगै टाइफाइड, झाडापखाला, भाइरल फ्लु, पेट दुखाइ, रुघाखोकी, बान्ता, जन्डिस, हेपाटाइटिस ए, आँखा सुक्खा हुने, चिलाउने, धागो जस्ता चिरा आउने एलर्जिक कन्ज, टाइभाइटिस तथा आँखाको संक्रमणका बिरामी बढ्दै गएका छन्। सर्पदंश, उच्च ज्वरो, छालाको रोग, जलवियोजन, पिसाब र मिर्गौला समस्या तथा लू बढ्दै छ। गर्मी मौसममा टाउको दुख्ने, आलस्य, बान्ता, पानीको मात्रा कम हुनेजस्ता समस्याका कारण बिरामी पर्ने सम्भावना बढी हुन्छ भने केहीको त मृत्यु पनि हुनसक्छ।
गर्मी तथा वर्षायाममा बढी मात्रामा देखिने समस्या विषाक्त खाना हो। विशेषगरी काँचो र नपाकेको मासु, बासी खाना, खाना बढी खाने, अपाच्य खाद्य पदार्थ, खासगरी चिल्लोका कारण फुड प्वाइजनिङ हुन्छ। भिब्रियो कोलेरा नामक ब्याक्टेरियाले आन्द्रामा संक्रमण गर्दा हैजा लाग्छ। बान्ता र पखालासँगै भयो भने स्वास्थ्यका दृष्टिले त्यसलाई खतरनाक मानिन्छ।
सरसफाइको कमी, चर्पीको राम्रो व्यवस्था नहुनु, शुद्ध खानेपानीको अभाव, झिंगा र अन्य किरा फट्याङ्ग्राको बढी प्रकोप भएको ठाउँमा प्रायः देखिने संक्रामक रोग टाइफाइड हो। झिंगा, संक्रमित माटो र फोहर हातले खानेकुरा बनाउँदा रोग सर्न सक्छ। पेट दुख्ने, कराउनेलगायतका पाचन प्रणालीसँग सम्बन्धित लक्षणका साथै धेरै ज्वरो आउँछ। बिरामीको दिसापिसाबबाट दूषित पानी तथा खानाबाट यो रोग सर्छ। हात्तीपाइले, गोलो जुका, फित्तेजुका, अंकुशे जुका र चुर्ना दिसाबाट उत्सर्जित हुन्छ। त्यसरी उत्सर्जित परजीवीको फुल माटो, सागसब्जी, फलफूल, पानी, दूध र अन्य खाद्यपदार्थका माध्यमबाट निरोगीको मुखमा सर्ने गर्छ। दिसा गरिसकेपछि राम्रोसँग हात नधुँदा, मासु काँचै खाँदा जुका सर्न सक्छ। बढी देखिने अर्को रोग आउँ हो। आउँ परेको बेलामा बिरामीलाई पटक पटक दिसा लाग्छ। पातलो र रगतसमेत लागेको दिसा गर्ने, ज्वरो आउने, पेट दुख्ने हुन्छ। पखाला, झाडाबान्ता, आउँ, टाइफाइड, हैजामा शरीरबाट जति पानी खेर जान्छ, त्यति नै पानी र लवण दिनुपर्छ।
गर्मीमा अधिक पसिना आउने, केटाकेटीलाई घमौरा आउने तथा वयष्कलाई समेत छालामा विभिन्न प्रकारका संक्रमण तथा समस्या देखा पर्छन्। केटाकेटीमा घमौरा आउँदा अझ बाक्लो कपडा लगाएर गुम्स्याउने चलन हुन्छ। त्यसले पसिना आउने ग्रन्थी थुनिएर घमौरा झन् बढ्छ र पाक्न थाल्छ। शरीरबाट पसिना बढी निस्किँदा सरसफाइ गरिरहनुपर्छ। अन्यथा गुम्सिएर, धुलोधुवाँ टाँसिएर डन्डीफोर र फंगस संक्रमण हुने गर्छ। गर्मीमा घाम कडा हुने भएकाले अल्ट्राभायोलेट ए र बी विकिरणले छाला चिलाउने, डढाउने गर्छ। लू पनि लाग्न सक्छ।
जलवायु परिवर्तनका कारण लामखुट्टे पहाड र हिमालतिर पनि उक्लिएका छन्। जापानिज इन्सेफ्लाइटिस, फिलेरिया, मेनेन्जाइटिस, डेंगु, चिकन गुनिया, लेप्टोइस्पाइरोसिस पनि नेपालमा देखा परिसकेको छ। नयाँ स्थानमा नयाँ रोग र समस्या देखिन थालेका छन्। स्यान्डफलाइले बिरामीको छाला कालो हुने, कलेजो सुन्निने, कालाजर लगाउँछ। पछिल्लो समय नेपाल किटजन्य जीवबाट हुने १० प्रकारका रोगको उच्च जोखिममा छ। भुसुना र मुसाबाट सर्ने ३७ रोगको जोखिम छ, जनशक्ति अभाव छ, मुलुकमै एकजना मात्र किटविज्ञ छन्।
गर्मीमा अत्यधिक प्रयोग गरिने चिसो पेयलाई जंक फुड भनिन्छ। यसमा धेरै चिनी र अम्ल हुन्छ तर भिटामिन, खनिज र फाइबर तथा पोÈकतत्व हुँदैन। त्यसैले यस्ता खानेकुरा हानिकारक हुन्छन्। यसले दाँत खिइने, कुपोÈण, मोटोपना, क्यान्सर, मुटुरोग, मधुमेह, दीर्घकालीन श्वासप्रश्वास समस्या र तिनका जटिलता निम्त्याउँछ।
बेलायती खोजकर्ताले खाने बानीमा देखिएको परिवर्तन महँगो साबित भएको बताएका छन्। अमेरिकाले डिसेम्बर २०११ देखि फास्टफुड तथा पोÈणहीन खाद्यपदाथका ब्राण्डले खेलौना उपहार दिन नपाउने नियम बनाएको छ। कोकाकोला र पेप्सी जस्ता पेयपदार्थमा मिसाइने रङ कारामेलले शरीरमा क्यान्सर निम्त्याउन सक्ने क्यालिफोर्निया युनिभर्सिटी, अमेरिकाले जनाएको छ। पेय पदार्थमा मिसाइने रसायन साइक्लोमेट अम्लले पित्तको क्यान्सर बनाउँछ, मिर्गौलामा पत्थरी पार्छ।
भोजनमा सर्तकता, सफा शुद्ध र धोएको खाना, उमालेको किटाणुरहित पानी प्रयोग गर्नुका साथै खाना खानुअघि र पछि साबुनपानीले हात धुनुपर्छ। जथाभावी दिसापिसाब नगर्ने, बासी, सडेगलेका र अपच हुनेगरी खाना खानु हुँदैन। वातावरण सफा राख्नुपर्छ। सूर्तीको कपडा लगाउने, दिनहुँ नुहाउने, प्रशस्त पानी र झोल पदार्थ पिउने, व्यक्तिगत सरसफाइ तथा सुरक्षामा ध्यान दिने, छाता, चस्मा, सनक्रिम, पाउडर आदि अपनाउँदा गर्मी मौसममा पनि अन्य मौसमसरह स्वस्थ, सफा रहन सकिन्छ। यसका लागि जुनसुकै उमेरसमूहका मानिस स्वास्थ्यप्रति सचेत बन्नुपर्छ।