बंगुरपालनमा रमाउँदै महिला
तौलिहवा : रोजगारीको खोजीमा धेरै युवा विदेश गइरहेका बेला कपिलवस्तु वाणगंगा नगरपालिकाको गजेहडाकी मीना चौधरी गाउँमै पशुपालन गरेर मनग्गे आम्दानी लिन सफल भएकी छन्। पाँचवटा बंगुरका पाठापाठीबाट सुरु भएको व्यवासायले राम्रो आम्दानी दिएपछि उनी उत्साहित छन्।
‘३० वर्षदेखि व्यावसायिक रूपमा बंगुर पाल्दै आएकी छु’, चौधरीले भनिन्, ‘आम्दानीको राम्रो स्रोत भएको छ।’ उनी अहिले यो व्यवसायबाट मासिक दुई लाखभन्दा धेरै आम्दानी गर्न सफल भएकी छन्। बच्चा बिक्री र मासु बिक्रीबाट राम्रो आम्दानी भइरहेको उनले बताइन्। ५० हजार लागानीबाट थालिएको बंगुरपालन पाँच वर्ष केही भएन उनले भनिन, ‘अहिले मालमाल भएकी छु।’
३० हजार गरिवी निवारण कोषबाट ऋण लगानी गरेर सुरुको वर्ष पाँचवटा बंगुरको बच्चा किनेको उनले बताइन्। अहिले उनको खोरमा ठूला सातवटा बंगुर छन्, भने १७ वटा साना बच्चा छन्। श्रीमानकाे मात्रै भरमा घर व्यवहार चलाउन समस्या भएपछि आफैले केही गर्नु पर्छ भनेर उनले यो पेसा अंगालेकी हुन्। आफूले आम्दानी गरेको पैसा उनले उल्टै श्रीमान्लाई दिन पाउँदा खुसी लागेको बताउँछिन।
आफूले केही व्यवसाय गरे श्रीमान्को भर पर्न नपर्ने र आफैसँग पैसा हुने भएपछि घर व्यवहार चलाउन सजिलो हुने भएपछि उनले बंगुरपालन व्यवसाय सुरु गरिन्। यस व्यवसायबाट आर्जन भएको पैसाले ऋणको किस्ता तिर्नुको साथसाथै विभिन्न सहकारी र समूहमा बचत पनि गर्न सकिने सुनाइन्। घरमा मात्रै सीमित हुनभएका महिला दिदी बहिनीलाई बहिर निस्किन र आफूलाई सहज हुने व्यवसाय गर्न उनले सल्लाह समेत दिन्छिन्।