भू–बहाल शुल्क नबुझाउने ६ वटा उद्योगको अनुमति खारेज
भैरहवा : रूपन्देहीको भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योग स्थापनाका लागि भू–बहाल शुल्क नबुझाउने ६ वटा उद्योगको अनुमतिपत्र खारेज गरिएको छ। सेजले प्राधिकरणले भू–बहाल शुल्क बुझाउन एक साताको अल्टिमेटमसहितको सूचना जारी गरे पनि समयमा भू–बहाल शुल्क नबुझाउने ६ वटा उद्योगको अनुमतिपत्र खारेज गरिएको हो।
सेजमा उद्योग सञ्चालन गर्न २४ वटा उद्योगले अनुमति लिएका थिए। यसमध्ये १८ वटाले उद्योग सञ्चालनका लागि सम्झौता गर्दै भू–बहाल शुल्क बुझाए पनि अन्य ६ वटाले नबुझाएकाले उनीहरूको अनुमतिपत्र खारेज गरिएको सेज प्राधिकरणका प्रवक्ता सुन्दर थापाले जानकारी दिए। उनले सम्झौता गर्न आउन पटकपटक आग्रह गरे पनि सेजको आग्रहलाई अस्वीकार गर्दै नआएपछि बाध्य भएर खारेज गरिएको बताए।
उनले भने, ‘समयमा भू–बहालशुल्क नबुझाएका ६ वटा उद्योग स्वतः खारेज भइसकेका छन्। कागजी प्रक्रिया पूरा गरी सम्बन्धित उद्योगलाई जानकारी गराइनेछ। उनका अनुसार भू–बहाल शुल्क नबुझाएका कारण अनुमति खारेज हुनेमा किरण सुज म्यानुफ्याक्चर्स, एसियन थाई फुड्स प्रालि, एक्सेल गार्मेन्ट प्रोसेसिङ इन्डस्ट्रिज प्रालि, श्यामकुमार लोनिया एन्ड बरुण लोनिया उद्योग, जगदम्बा सिन्थेटिक प्रालि र मिनरल वाटर इन्ड्रस्टिज छन्।
यी उद्योगको सेजमा दुई अर्ब रुपैयाँको लगानी हुने भनिएको थियो। सेजको २५ वटा प्लटमा यी उद्योगले उद्योग स्थापनाका लागि सम्झौता गरेका थिए। सेजले खारेज गरेका उद्योगको स्थानमा परिपूर्ति गर्न सूचना जारी गरेर नयाँ उद्योगका लागि आवेदन मागको प्रक्रिया थालिएको उनले बताए।
आवेदन दिएर सम्झौता गर्न नआएका मध्ये किरण सुज म्यानुफ्याक्चर्सले पुरानो उद्योगको मेसिन तथा औजार लैजान पाउनुपर्ने अडान राखेको र पुरानो मेसिन लैजान सेजको ऐन बाधक भएपछि नआएको बुझिएको छ।
यस्तै श्यामकुमार लोनिया एन्ड बरुण लोनिया उद्योगले ऐनअनुसार उद्योगबाट उत्पादित वस्तुको २५ प्रतिशत नेपालभित्र बिक्री गर्न पाउनुपर्ने माग गरेको तर उसले उत्पादन गरेको वस्तु सबै विदेश निर्यात गर्ने किसिमको भएकाले सम्झौता गर्न नसकिएको प्रवक्ता थापाले जानकारी दिए।
भू–बहालशुल्क बुझाएका १८ वटा उद्योगले सेजमा उद्योग स्थापनाको तयारी गरिरहेका छन् र एउटा शक्ति मनिरल्स उद्योगको निर्माण कार्य जारी छ। उनका अनुसार उद्योग स्थापनाको तयारी थालेका १८ वटा उद्योगको सेजमा आठ अर्ब लगानी हुनेछ। सेज पूर्णरूपमा सञ्चालनमा आउँदा झण्डै पाँच हजार जनाले रोजगारी पाउनेछन् भने १० अर्ब लगानी हुने प्राधिकरणले जनाएको छ।
रूपन्देहीको रोहिणी गाउँपालिकाको बगाहामा ५२ बिघा क्षेत्रफलमा फैलिएको सेजमा १४ सय देखि ३७ सय वर्ग मिटरसम्मका ६९ वटा प्लट छन् ।