सस्तो भारतीय माछा खाएपछि झाडापखाला

सस्तो भारतीय माछा खाएपछि झाडापखाला

महोत्तरी : झाडापखाला फैलिएपछि महोत्तरीको जलेश्वर–१२ नैन्ही गाउँका स्थानीय पिरोलिएका छन्। एकै दिन २१ जनासम्म झाडापखालाका बिमारी फेला परेका छन्। गत भदौ २९ गतेदेखि फैलिएको झाडापखाला नियन्त्रणमा नआउँदा स्थानीय आक्रान्त बनेका छन्। तर, झडापखाला फैलिनुको कारण अहिलेसम्म खुलेको छैन।

मंगलबार झाडापखालाका २१ बिरामी फेला परेसँगै पीडित हुनेको संख्या २ सय ६५ पुगेको स्वास्थ्य शिविरका संयोजक तथा जनस्वास्थ्य निरीक्षक सन्तोष ठाकुरले बताए। सोमबार २८ जनामा झाडापखालाको समस्या देखिएको थियो। झाडापखालाबाट हालसम्म ४५ जना गम्भीर बिरामी परेका छन्। २५ जनालाई शिविर र २० जनालाई थप उपचारका लागि जिल्ला अस्पताल जलेश्वर रेफर गरिएको थियो। असोज २ गतेयता चौबीसै घण्टा स्वास्थ्य शिविर सञ्चालनमा छ। ४ वर्षीया खुश्वु खातुनको झाडापखालाका कारण ज्यान गइसकेको छ।

गाउँको मदरसा सात दिनदेखि बन्द छ। मदरसामा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। शिविरमा आएकाहरूलाई भुइँमै राखेर उपचार गर्ने गरिएको छ।

भदौ २५ गतेदेखि नै झाडापखालाका बिरामी देखापर्न थालेको स्थानीयको भनाइ छ। जिल्ला स्वास्थ्य कार्यालय, नगरपालिकालगायत सरोकारवाला निकायले समयमै ध्यान पुर्याउन नसकेको जनाइएको छ। झाडापखालाबाट बिरामी परेको यकिन भएपछि असोज २ गते जिल्ला स्वास्थ्य कार्यालयमा खबर पुगेको थियो। खबर पाउनासाथ जिल्ला स्वास्थ्य कार्यालय जलेश्वरबाट नैन्ही गाउँमा टोली परिचालन गरिएको डा. राजीव झाले जनाए।

नैन्ही भारतीय सीमानजिकको ग्रामीण बस्ती हो। प्रशासनिक काममा मात्रै नेपालको भर पर्ने यहाँका स्थानीय दैनिक जीवनयापनका लागि भातीय बजार पुग्छन्।

स्थानीयका अनुसार भदौ २५ गतेतिर गाउँमा भारतीय बजार सुरसन्डबाट एक व्यापारी माछा बिक्री गर्न आएका थिए। उनले राखेको माछाको भाउ अनौठो थियो, १ सय रुपैयाँमा ३ किलो माछा ! यो चल्तीको बजारभाउभन्दा सस्तो हो। बजारमा एक किलो माछाको भाउ ३ सय रुपैयाँभन्दा बढी पर्छ। स्थानीय राजु यादवका अनुसार ती व्यापारी नैन्हीका धेरैलाई १ सय रुपैयाँमा तीन किलो माछा बेचेर गएका थिए। स्थानीयले उक्त माछा पकाएर खाएपछि स्थानीय झाडापखालाले बिरामी पर्न थालेको जनाइएको छ। ‘भारतीय व्यापारीले बिक्री गरेको माछा धान खेतको विषादीयुक्त रहेको शंका छ’, नैन्हीका वडाध्यक्ष रामतपेश्वर ठाकुरले भने।

कुहिएको माछा खाएकाले झाडापखाला लागेको हुन सक्ने अनुमान गरिए पनि खास कारण खुलेको छैन। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंको टोलीले खानेपानी र दिसाको नमुना संकलन गरी परीक्षण गर्न लगेको छ। ‘परीक्षण रिपोर्ट आएपछि झाडापखाला फैलिनुको कारण खुल्नेछ’, प्रमुख जिल्ला अधिकारी उमेश ढकालले भने, ‘विपद् व्यवस्थापन समितिको बैठक बसेर झाडापखालाको प्रकोप नियन्त्रणमा सक्रिय हुन सरकारी तथा गैरसकारी सबै निकायलाई निर्देशन गरिएको छ।’ उनका अनुसार झाडापखाला अरू स्थानमा फैलिन नदिन सतर्कता अपनाइएको छ।

झाडापखाला फैलिनुको कारण पत्ता लगाउन खानेपानीको नमुना संकलन गरिँदै। 

बिरामीको उपचारसँगै स्वास्थ्यकर्मीले झाडापखाला नियन्त्रणका लागि सचेतनामूलक काम पनि थालेका छन्। झडापखाला नियन्त्रणमा ३० जनाभन्दा बढी स्वास्थ्यकर्मी खटिएका छन्। जिल्ला खानेपानी तथा सरसफाइ कार्यालयले पानी शुद्धीकरण गर्न प्रत्येक घरमा पियूस वितरण गर्ने भएको छ। रेडक्रसले शिविरमा निःशुल्क एम्बुलेन्स उपलब्ध गराएको छ। झाडापखालाले बिरामीले जुकासमेत बान्ता गर्ने गरेका छन्। बुधबार प्रभावित क्षेत्रका स्थानीयलाई जुकाको औषधि खुवाइँदै छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.