३२ वर्षअघिका हतियार विस्थापित हुँदै
नेपालगन्ज : राजधानी काठमाडौंपछिको दोस्रो नेपालगन्ज सुटिङ रेन्ज नयाँ भौतिक पूर्वाधारसहित पहिलो पटक स्वरूप फेर्दैछ।आठौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी सवा करोड रुपैयाँको लागतमा अत्याधुनिक सुटिङ रेन्ज निर्माण सुरु भएको छ भने विगत ३२ वर्ष अघिदेखि सञ्चालनमा रहेका सुटिङ प्रयोजनका हतियार पनि विस्थापनको तयारी भइरहेको छ।
मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका उपाध्यक्ष नरेन्द्र थापाका अनुसार अबको एक महिनाभित्र नयाँ हतियार खरिद हुँदैछ। नेपालगन्ज उपमहानगरपालिकाको सात लाख रुपैयाँ आर्थिक सहयोगमा सन् १९८६ देखि सञ्चालनमा रहेका हतियार विस्थापन गर्न लागिएको हो।
‘गृह मन्त्रालयबाट हतियार खरिद गर्नका लागि अनुमति लिनेलगायतका आवश्यक कागजात सबै आइसकेको छ। हामी चाँडै एकएक थान हतियार र पोसाक ल्याउँदै छौं’ थापाले भने। पहिलो पटक मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिले आफैंले एक÷एक थान एयर राइफल र पेस्तोल तथा एक सेट पोसाक खरिद गर्न लागेको हो।
‘३२ वर्षअघिको समेत गरी आधा दर्जनभन्दा बढी राइफल र पेस्तोल त छन् तर कुनै पनि चालू अवस्थामा छैनन्’, सुटिङका अन्तर्राष्ट्रिय खेलाडीसमेत रहेका थापाले भने, ‘पुराना हतियार अभ्यासमा होल्डिङ गर्ने काममा मात्र प्रयोग भइरहेका थिए। फायरिङ गर्न र खेल आयोजना गर्न मिल्दैनथ्यो। जसले खेलाडीको अभ्यासमा बाधा पुगेको थियो।’
एकै पटक एक दर्जन खेलाडी एक साथ खेल्न मिल्ने अत्याधुनिक सुटिङ रेन्जको निर्माण भइरहेकाले खेलाडीले अब सास्ती भोग्न नपर्ने दाबी गर्छन्, समितिका क्षेत्रीय अध्यक्ष भीम ओली। ‘सुटिङका लागि राजधानीपछिको उर्वरभूमि नेपालगन्ज हो तर लामो समय सुटिङ रेन्ज हतियारविहीन भयो। अहिले त सुटिङ रेन्जसमेत अत्याधुनिक बन्दैछ’ उनले भने।
खेलाडी रेन्जविहीन
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता नजिकिँदै गर्दा खेलाडीहरूको अभ्यास तीव्र हुनुपर्नेमा यहाँका खेलाडी सुटिङ रेन्जविहीन भएका छन्। सुटिङका अन्तर्राष्ट्रिय खेलाडी बदरुद्दिन अन्सारी सरकारी बेवास्ताले लामो समयदेखि हतियारविहीन भए पनि अहिले भने रेन्जविहीन हुनु परेको बताउँछन्। ‘सुटिङ रेन्ज नयाँ बनिरहेको छ। खेल अभ्यासका लागि अर्को विकल्प नै दिइएको छैन। अभ्यासबिना कसरी खेलाडीले पदक जित्न सक्छन्’ उनी प्रश्न गर्छन्।
गत जेठ १२ मा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सुटिङ रेन्ज भवनको शिलान्यास गरेका थिए। त्यसयता खेलाडीका लागि सुटिङ रेन्जको विकल्पको व्यवस्था गरिएको छैन। नेपाल सुटिङ संघका सचिवसमेत रहेका अन्सारीले खेल अभ्यासका लागि सरकारले कुनै पनि सुविधा उपलब्ध नगराएको बताए। ‘केही समयसम्म हतियार त थिए। त्यसका लागि आवश्यक पर्ने ग्यास खेलाडीले आफैंले किनेर ल्याउनुपथ्र्यो। अहिले त खेल्ने रेन्जसमेत छैन’ उनले भने।
एकै परिवारमा धेरै खेलाडी
नेपालगन्ज सुटिङका लागि उर्वर क्षेत्र मानिन्छ। यहाँ दुई ओलम्पियनसहित सुटिङका अन्तर्राष्ट्रिय खेलाडीको संख्या डेढ दर्जन रहेको छ। यहाँको एउटै परिवार र टोलमा धेरै अन्तर्राष्ट्रिय खेलाडी छन्।
पहिलो महिला ओलम्पियन पार्वती थापा नेपालगन्जको घरबारी टोलकी बासिन्दा हुन् भने अर्की ओलम्पियन अनिता श्रेष्ठको घर पनि यहीँ छ। थापा सन् १९८८ को दक्षिण कोरियाको सियोलमा सम्पन्न २४औं ओलम्पिकमा र अनिता सन् १९९२ को वार्सिलोनामा आयोजित २५औं ओलम्पिकमा सहभागी भएका थिए। थापा र श्रेष्ठबीच सानीआमा र भतिजी नाता पर्छ। त्यसो त ओलम्पियन थापाकै भाइ नरेन्द्र थापा र बहिनी कृष्णा थापा पनि सुटिङका अन्तर्राष्ट्रिय खेलाडी हुन्। थापाका ठूलोबाका छोराहरू लक्ष्मण र आशा दाइबहिनी हुन्।
अन्तर्राष्ट्रिय खेलाडीद्वय बदरुद्दिन अन्सारी र मोहम्मद अहमद अन्सारी मामाभान्जा नाता पर्छन्। स्व.सज्जनप्रताप सिंह र केशवप्रताप सिंह बाबुछोरा नै अन्तर्राष्ट्रिय खेलाडी हुन्।