निर्मला हत्याको दुई महिना : अझै जुटेन ठाेस प्रमाण

निर्मला हत्याको दुई महिना : अझै जुटेन ठाेस प्रमाण

महेन्द्रनगर : निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको असोज १० गते २ महिना पुगेको छ। हत्याको दुई महिना पुगिसक्दासमेत प्रहरीले भने हत्यारा पत्ता लगाउन सकेको छैन। अझै हत्यारा पत्ता लगाउन नसक्दा प्रहरीको चौतर्फी आलोचना भइरहेको छ। घटनाको अनुसन्धान सूक्ष्म र गम्भीर रूपमा भइरहेको नेपाल प्रहरीले बताइरहे पनि अहिलेसम्म घटनामा संलग्न अपराधीबारे कुनै ठोस प्रमाण जुटेको छैन।

तत्कालीन प्रहरी नेतृत्वले अनुसन्धानमा त्रुटि गरेको भन्दै अनुसन्धानमा नयाँ टोली खटाएको पनि एक महिना पुगेको छ। नयाँ टोलीले समेत ठोस प्रमाण फेला पार्न सकेको छैन। ‘ठोस प्रमाण अझै नजुटे पनि अनुसन्धानको दायरा भने साँघुरो बनाउँदै लगेका छौं’, कञ्चनपुरका एसपी कुबेरसिंह कडायतले भने। ‘अनुसन्धानका क्रममा थुप्रै विषयवस्तु अध्ययन गरिएको छ’, उनले भने। उनले अहिले नै अनुसन्धान यहाँ पुग्यो भनेर भन्ने अवस्था भने नभइसकेको बताए।

तत्कालीन एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र अर्का युवक आयुष विष्टको डीएनए परीक्षणका लागि रगतको नमुना संलकन गरिएको र डीएनए परीक्षणको रिपोर्ट भने आइसकेको छैन। भदौ ७ गते आन्दोलनले ठूलो रूप लिएपछि गृहमन्त्रालयले तत्कालीन प्रमुख जिल्ला अधिकारी, एसपीलगायतलाई गृह तानेको थियो। लगत्तै कञ्चनपुरमा नयाँ प्रजिअ, एसपी र डीएसपी खटाइएको थियो।

नयाँ नेतृत्वसँगै भदौ ८ गतेदेखि प्रारम्भिक चरणबाटै अनुसन्धान सुरु गरिएको थियो। डीएसपी कृष्णराज ओझालाई अनुसन्धान अधिकृत तोकी प्रारम्भिक चरणबाटै सुरु अनुसन्धानसमेत एक महिना बितिसक्यो। तर, प्रगति भने शून्य झैं छ। अनुसन्धानको नयाँ नेतृत्वले करिब डेढदेखि २ सयको संख्यामा शंकास्पद व्यक्तिलाई सोधपुछ गरिसकेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीलाई समेत वास्तविकता बाहिर ल्याउन सकस देखिएको छ। सीआईबीको अनुसन्धान पनि एक महिना पुग्न लागिसकेको छ। एसएसपी ठाकुरप्रसाद ज्ञवालीले अनुसन्धान भइरहेको भन्दै अहिले नै केही भन्ने अवस्था नभएको बताए। हाल अनुसन्धानकै लागि भनी थुप्रै टोली खटिएका छन्। जिल्ला प्रहरी कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो, एसपी दुर्गासिंह चन्द र प्रहरी प्रधान कार्यालयको टोलीले छुट्टाछुट्टै अनुसन्धान गरिरहेको छ ।

नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्री अनुसन्धान कञ्चनपुर प्रहरीले नै गर्ने भन्दै केन्द्रबाट सहयोगका लागि प्राविधिकसहित प्रहरी कर्मचारीहरूले सहयोग गरिरहेको बताउँछन्। ‘फिल्डमा अहिले सीआईबी, महिला बालबालिकाको विषय हेर्न महिला प्रहरी अधिकृत, सिन अफ क्राइम अफिसरहरू खटिएका छन्’, उनले प्रहरीले कञ्चनपुर घटनालाई संवेदनशील मानेको र सोहीअनुसार सूक्ष्म अनुसन्धान गरिरहेको बताए।

उनले एआईजी धीरु बस्न्यात नेतृत्वको समितिले अनुसन्धानमा प्रहरी कर्मचारीहरूको भूमिका र प्रमाण नष्ट गरेको सम्बन्धमा प्रहरीको भूमिका छानबिन गर्ने काम गरिरहेको बताए। २ महिना बितिसक्दा पनि हत्यारा पत्ता नलाग्दा स्थानीय र परिवारमा आशंका बढ्दै गएको छ। ‘अब त हत्यारा पत्ता लाग्ला भन्ने विश्वासै छैन’, निर्मलाका बुवा यज्ञराजले भने। ‘प्रधानमन्त्री, गृहमन्त्री, आईजीपीसमेत भेटेर छिट्टै हत्यारा पत्ता लगाउँछौं भन्ने आश्वासन पाएका थियौं।’ प्रहरीले निर्दोषलाई फसाएर अपराधी जोगाउन खोजेको उनको आरोप छ।

नेवि संघको प्रशासनमा धर्ना

हत्यारा पत्ता नलागेको भन्दै नेविसंघ कञ्चनपुरले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको छ। मंगलबार जिल्ला प्रशासन कार्यालयको मुलगेटमा नेविसंघले दुई घण्टा धर्ना दिएको थियो। ‘अहिलेसम्म हत्यारा पक्रन सकेको छैन, छिट्टै पक्राउ गरोस्’, नेविसंघ केन्द्रीय सदस्य कैलाश चन्दले भने, ‘जति ढिलो हुन्छ, आन्दोलन त्यही रूपले अघि बढ्छ।’ नेविसंघले घटनासँगै पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि र सवारीसाधनको भाडावृद्धिको विरोध गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.