श्रीमतीको हत्या गरी फरार रहेका श्रीमान प्रहरीको फन्दामा
लेखनाथ: पोखरा महानगरपालिका-३२ को खुदीखोला सुकुम्बासी बस्तीमा श्रीमातीको हत्या गरेर फरार भएका श्रीमान् पक्राउ परेका छन्। बुधबार राति घरमै श्रीमतीको हत्या गरेर उनी भागेका थिए। बिहीबार बिहान घटनास्थल पुगेको सङ्घीय इकाइ प्रहरी र जिल्ला प्रहरी कार्यालय कास्कीको संयुक्त प्रयासले हत्यारालाई पक्राउ गरिएको हो।
५५ वर्षीय यानबहादुर गुरुङले ६० वर्षीया श्रीमती श्रीमाया गुरुङको हत्या गरेको खुलासा भएको छ । आफूले हत्या गरेको खबर छिमेकीलाई छोडेर उनी भागेको कास्की प्रहरी प्रमुख ओम रानाले जानकारी दिएका छन्। श्रीमायालाई प्यारालाइसिस भएको बताइएको छ।
यानबहादुरले श्रीमतीको हत्या गरी शव बोरामा पोको पारेर घरभन्दा केही पर फालेर फरार रहेका थिए।गुरुङलाई प्रहरीले धानबारीबाट पक्राउ गरेको हो। रासस