कांग्रेस कार्यालय बन्यो झगडाको बीउ

कांग्रेस कार्यालय बन्यो झगडाको बीउ

ललितपुर : कांग्रेस ललितपुर कार्यालय भवन रहेको जग्गाको स्वामित्व विवादले अहिले चर्काे रुप लिएको छ । जिल्ला तहका नेताहरू कांग्रेस कार्यालय भवन रहेको सोही जग्गाका विषयमा व्यक्तिगत गाली गलौजसम्ममा उत्रेका छन् । ललितपुर कांग्रेस नखिपोटमा रहेको आठ आना जग्गामा छ ।

उक्त जग्गा ओमकारप्रसाद श्रेष्ठको नाममा छ । जग्गा पार्टीको नाममा गराइपाऊँ भन्दै जिल्ला सपभाति मदनबहादुर अमात्यले पाटन जिल्ला अदालतमा मुद्दा नै हालेका छन् । हाल मुद्दा विचाराधीन अवस्थामा छ ।

जिल्लामा पार्टी अफिस नहुँदा कुलाल महर्जनले सो जग्गा उपलब्ध गराएको        श्रेष्ठको भनाइ छ । जग्गा दाता महर्जनले आफ्नो नाममा जग्गा पास गर्ने भए मात्रै दान दिने भनेकाले श्रेष्ठको आफ्नो नाममा जग्गा नामसारी गरेको दाबी गरेका छन् । ०५५ सालतिर महर्जनबाट सो जग्गा नामसारी गराउँदा आफूले ८६ हजार रुपैयाँ तिरेको श्रेष्ठले बताए । आफ्नो नाममा जग्गा नामसारी भएपछि मात्रै पार्टी कार्यालय स्थापना गरिएको श्रेष्ठको भनाइ छ ।

‘हाल जग्गा मेरै नाममा छ । कार्यालयचाहिँ पार्टीको नाममा छ । जग्गाको विषयमा अपवाह फैलाएर जिल्ला सभापति अमात्यले बेइज्जत गरे’,   श्रेष्ठले भने । पार्टी कार्यालय रहेको जग्गा विवादको विषय नरहेको उनको भनाइ छ । अमात्यलाई विश्वास गर्न नसक्दा नै उनको कार्यकालभर जग्गा पास नहुने तर्क श्रेष्ठले गरे । ‘अमात्यले जग्गा बेचेर अन्तै सर्न खोजेका छन्’, उनले भने । उक्त भवन निर्माणको शिलान्यास स्व.सन्त नेता कृष्णप्रसाद भट्टराईले गरेकाले उक्त भवनमा धेरैको भावना मिसिएको        श्रेष्ठको तर्क छ ।

मंसिरको चुनावमा अन्तर्घात गरेको आरोप लगाउँदै अमात्य पक्षले  श्रेष्ठलगायत २७ जनाविरुद्ध कारबाही मागसमेत गरेका थिए । ‘चुनावमा हारको झोकमा मविरुद्ध लागेका हुन्’,        श्रेष्ठले भने ।

तर पार्टी सभापति अमात्यले भने आफ्नै कार्यकालमा जग्गा पार्टीको नाममा नामसारी गराइछाड्ने दाबी गरे । ‘त्यसैले म अदालतसम्म पुग्नुपरेको हो । अदालतको फैसला कुरिरहेको छु’, अमात्यले भने । जग्गा पार्टीको नाममा नामसारी गराउन तीन महिनाअघि पाटन जिल्ला अदालतमा मुद्दा हालेको उनले जानकारी दिए ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियारले पनि फाइल झिकाएको उनको भनाइ छ । ‘मालपोतका हाकिमले जग्गा पास गराउन पटकपटक आग्रह गर्दा तीन दिनसम्म झुलाए’, अमात्यले भने, ‘   श्रेष्ठले जग्गा नामसारी गर्न चाहेका छैनन् । पार्टीको सम्पत्ति हडप्न खोजेका छन् ।’

आफ्नै पहलमा ललितपुरको माल्टा, भट्टेडाँडा, भारदेउ र कालेश्वरमा दुईदुई लाख रुपैयाँका दरले पार्टी कार्यालय स्थापना गर्न जग्गा किनेको अमात्यले जानकारी दिए ।श्रेष्ठले दुःख दिएको र उनीसँग मिल्न नसक्ने भएकाले नै कानुनी लडाइँबाटै टुंगोमा पुग्न खोजेको उनले बताए । ‘चुनावमा करोडौं खर्च गरेर  श्रेष्ठले मलाई हराउने खेलमा लागे’, अमात्यले भने, ‘मुद्दा छिनोफानो नभइन्जेल पार्टी कार्यालयमै जान्नँ ।’

तर   श्रेष्ठ भने आफू झगडा गर्ने पक्षमा नरहेको बताउँछन् । जग्गा नबेच्ने सर्तमा मात्रै नामसारी हुन सक्ने उनको भनाइ छ । सबै कार्यकर्तालाई मिलाएर लैजानुपर्ने उनको माग छ ।

कार्यालयको बिजोग

आठ आना जग्गामा ठडिएको तीन तले भवनमा रङरोगन गरिएको छैन । टाँस्दै, निकाल्दै गरेका सूचनाले भित्ता फोहोर देखिएका छन् । नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल दलित संघलगायत खुइलिएका होर्डिङ बोर्डका कारण पाटी कार्यालय कुरुप बनेको छ । वरिपरि घाँस उम्रिएको छ । प्रायः कार्यालय सुनसान रहन्छ । कार्यालयको भुइँतलामा रेखदेखका लागि एक जना व्यक्ति मात्र बसेका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.