२० वर्षीया युवतीले गरिन् बाबुको श्राद्ध
तौलिहवा : कपिलवस्तुकी एक किशोरीले आफ्नो दिवंगत बाबुको श्राद्ध अर्थात् पितृकार्य गरेकी छिन् । जिल्लाको वाणगंगा नगरपालिका- ९ भलवाड निवासी २० वर्षीया पूजा खनालले आफ्नो पिताको श्राद्ध गरेकी हुन्। छोराले मात्र बाबुको श्राद्ध गर्नुपर्छ भन्ने धार्मिक मान्यतालाई चिर्न खनालले स्वर्गीय पिता टिकाराम खनालको पितृकार्य गरेको बताइन्।
अंग्रेजी विषय लिएर सिद्धार्थ क्याम्पस वाणगंगा बुङ्चीमा बीएड चौथो वर्षमा अध्ययन गर्दै गरेकी खनालले भनिन्, 'पितृकार्य तथा देवकार्य पुरुषले मात्र गर्नुपर्छ भन्ने छैन, त्यो केवल अन्धविश्वास हो, जन्म दिने आमाबुबा छोराछोरी दुवैका लागि उत्तिकै महत्वपूर्ण हुन्छन्, बुबा आमाका लागि छोराले जेजे गर्न सक्छन्, त्यो सबै छोरीले पनि गर्न सक्छन्।'
समाजमा छोराले मात्र पितृकार्य गर्ने समाजको अगाडी उनले प्रश्न गरिन्, छोराले बुबाको श्राद्ध गर्न हुन्छ भने छोरीले किन हुँदैन? यही परम्परागत मान्यतालाई चिर्न मैले समाजमा चुनौति मोलेकी हुँ उनले भनिन्।
'खनालका अनुसार घरमा ६जना दिदीबहिनी छन्। आमालाई छोराको अभाव महशुस नहोहोस् भनेर मैले सो कार्य गरेकी हुँ', उनले भनिन्।
परिवारमा कान्छो अर्थात् सातौँ सन्तानको रुपमा रहेकी खनालले ८ वर्षकी हुँदा बुबा गुमाएकी थिइन्।दिदीहरुको विवाह भइसकेकाले घरको सम्पूर्ण जिम्मेवारी आमासँगै खनालले लिएकी छिन्।