नेपालगन्जमा सडक अतिक्रमण हटाइँदै
नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाले सडक अतिक्रमण हटाउन सुरु गरेको छ । कार्यवाहक नगरप्रमुखको जिम्मेवारी पाएकी उपप्रमुख उमा थापा मगरको नेतृत्वमा शुक्रबारदेखि अतिक्रमण हटाउन थालिएको हो ।
पहिलो चरणमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल (नर्सिङ होम) देखि धम्बोझी चोकसम्मका फुटपाथलाई व्यवस्थित गर्ने काम भएको हो । ‘सडक र सडक पेटी अतिक्रमण गरेर जनतालाई आवात जावतमा समस्या परेको, फोहर मैला बढी भएको गुनासो धेरै आएपछि अतिक्रमण हटाउन सुरु गरिएको हो’, कार्यवाहक नगरप्रमुख थापाले अन्नपूर्णसँग भनिन्, ‘सडकमा रहेका ठेला पसल, व्यापारीले अतिक्रमण गरेका सडक पटी सबै व्यवस्थित गर्ने काम भएको छ । यो निरन्तर चल्छ ।’
सो क्रममा उपमहानगरको टोलीले सडकबाट झन्डै एक मिनी ट्रक सामान पनि नियन्त्रणमा लिइएको छ । केही ठेला व्यवसायीले उपमहानगरपालिकाको मुख्य प्रवेश द्वारमा केहीबेर नाराबाजी पनि गरेका थिए । थापाले भनिन्, ‘ठेला व्यवसायीसँग आइतबार थप छलफल गरेर समस्याको समाधान हुनेछ ।’
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी अरुण पौडेल पनि सडक अतिक्रमण हटाउन सडकमा पुगेर सघाएका थिए । निश्चित पार्किङको अभावमा नेपालगन्जका अधिकांश सडक किनार सवारी साधन पार्किङ गर्ने थलो पनि बनेका छन्।