युद्ध पर्यटन थबाङ
०५२ साल फागुन १ गते जिल्लाको दक्षिणी होलेरी बजारमा रहेको इलाका प्रहरीचौकी आक्रमण गरेर तत्कालीन विद्रोही नेकपा माओवादीले ‘जनयुद्ध’ आरम्भ गरेदेखि रोल्पा चर्चामै रहिरह्यो। २०५९ सालमा पुनः इलाका प्रहरीचौकी होलेरीमै आक्रमण गरी ६९ प्रहरी अपहरण गरिए। सायदै सुनिने जिल्ला र निकै कम व्यक्ति पुगेको रोल्पामा युद्ध सुरु भएपछि धेरै अध्येता पुगे।
यो नै युद्ध पर्यटनको महत्वपूर्ण प्रमाण हो। धेरै व्यक्तिले रोल्पाको पर्यटन र समाजको विषयमा अध्ययन गरिरहे। युद्धको उद्गमस्थलका नागरिक प्रताडित नै थिए। अहिले माहोल फेरिएको छ। रोल्पा अब पर्यटकीय गन्तव्य बनेको छ।
युद्धताका नेपालका प्रधानमन्त्री थिए, गिरिजाप्रसाद कोइराला। सेना परिचालनबारे तत्कालीन राजासँग कुरा नमिलेपछि कोइरालाले प्रधानमन्त्रीबाट राजीनामा दिनुपरेको थियो। उस बेला पनि होलेरी चर्चामै रह्यो।
विगतको युद्धबारे चासो राख्ने विदेशी हुन् या आम नेपाली, सबैको मानसपटलमा रोल्पा जिल्ला युद्धभूमिका रूपमा प्रतीत हुन्छ। युद्धको औपचारिक अन्त्यसँगै अहिले भने रोल्पा शान्तियात्रामा छ। त्यसैले पनि विगतको युद्धभूमिको विरासत बोकेको यहाँ अनुसन्धान, घुमफिर र यात्रा गर्न जोकोही आउन लालायित हुन्छन्।
युद्धकालीन अवस्थामै यहाँ ‘सहिदमार्ग’ जनताको श्रमबाट निर्माण आरम्भ भयो। शान्तिकालमा होलेरी हुँदै थबाङ सहिदमार्ग जोडिएको छ। युद्धबारे हेक्का राख्ने जोकोहीका लागि रोल्पा अनि त्यसमाथि होलेरी र थबाङ निकै सुनिएका नाम र ठाम हुन्। पहिलो पटक चौकी आक्रमण गरी युद्ध थालिएका कारण होलेरी चर्चित छ भने थबाङ युद्धको ऐनाका रूपमा।
पञ्चायतकालीन अवधिदेखि कम्युनिस्ट किल्ला भएकाले थबाङको चर्चा हुँदै आएको छ। युद्धताका तालिम केन्द्र, विद्रोहीको हेडक्वार्टर, सेल्टर, भिडन्त स्थल, कम्युन, सहकारी र जननमुना हस्पिटल यहीँ जिल्लामा थिए। ती विरासत बोकेको रोल्पामा गुरिल्ला ट्रेलको सम्भाव्यता निकै बढी छ। रोल्पा र रुकुमलाई समेटिएर गुरिल्ला ट्रेल निर्माण पनि भएको छ। विद्रोही लडाकुले हिँडेका र तालिम गरेका स्थान घुम्न चाहनेका लागि यो ट्रेल महत्वको हो। यद्यपि यसको विकास र प्रचारप्रसारले तीव्रता पाएको छैन।
गुरिल्ला ट्रेलका लागि छुटाउनै नमिल्ने स्थान हो- थबाङ। पञ्चायतमै बहुदलमा मतदान गर्ने थबाङ बहुदलकालमा माओवादीमय बन्यो। शान्तिकालमा कहिले पुष्पकमल दाहाल ‘प्रचण्ड’को पक्षमा सबै मत खसाएर त कहिले ‘प्रचण्डलाई थबाङमा वास छैन’ भनेर चर्चामै आयो।
२०७० सालको दोस्रो संविधानसभाको चुनावमा थबाङमा शून्य मतदान भयो। अनि फेरि थबाङ चर्चामा आयो। त्यसैले जिल्ला घुम्न आउने जोकोही थबाङ पुग्न हौसिन्छन्। थबाङ, उवा, जेलबाङ र मिरुलको बीचमा अवस्थित जलजला धार्मिक स्थल पनि छ, जहाँ पहिले युद्ध तालिम केन्द्रसमेत थियो। जलजला पुग्ने जोकोही पनि थबाङ पुग्न तम्सिन्छन्। थबाङ र जलजला पर्यटनका आधारशिला हुन्।
थबाङको ऐतिहासिकता
थबाङ मगर जातिको बाहुल्य रहेको गाउँ हो। यहाँ बहुसंख्यक मगरको बसोवास छ। खाम भाषी रहेका उनीहरूको थुप्रै मौलिक संस्कार, संस्कृति र परम्परा छन् यहाँ। यहाँको दोस्रो जनसंख्या दलितको छ। थबाङ गाउँ भन्नेबित्तिकै साविक थबाङ गाविसलाई बुझिन्छ। अहिले छिमेकी उवा र मिरुल साविक गाविसलाई गाभेर थबाङ गाउँपालिका निर्माण गरिएको छ। जिल्लाको १० स्थानीय तहमध्ये सबैभन्दा सानो गाउँपालिका थबाङ नै हो।
गाउँपालिका खरिदार अधिकार बुढा मगरका अनुसार यहाँ १० हजार ८ सय ९१ जनसंख्या छ। थबाङ गाउँपालिकाको मुकाम पनि हो। ठूलो गाउँ नै असली थबाङका रूपमा परिचित छ। यहाँ करिब साढे तीन सय घर एकै ठाउँमा लस्करै मिलेका छन्। एकीकृत बस्तीको झलक देखिन्छ। काठका छाना, प्रायः एकै शैली र प्रकृतिका घर थबाङको विशेषता हो।
यही सुन्दर भूमिमा २०१२ सालमै किसान संगठन खोलिएको थियो। त्यो नै कम्युनिस्ट बीउ बन्यो यहाँ। २०१५ सालमा थबाङी कम्युनिस्टको पक्षमा उभिए। ‘१७ सालमा राजा महेन्द्रले सत्ता हातमा ल्याएपछि पनि थबाङी जनता कम्युनिस्ट नै रहे।’, थबाङका कम्युनिस्ट नेता एवं पूर्वसांसद बरमन बुढा मगर भन्छन्, ‘जनमतसंग्रहमा पनि थबाङ बहुदलको पक्षमा उभिएको थियो।’ पञ्चायतकालदेखि बहुदलसम्म थबाङ कम्युनिस्ट पक्षधर साविकको गाविस रह्यो।
२०३८ सालको पञ्चायती निर्वाचनमा पनि शून्य मतदान गरेका थिए थबाङीले। यही कारणले २०४० सालमा पञ्चायती प्रधानमन्त्री मरिचमान सिंहसमेत थबाङ पुगे। विकास नपाएर थबाङी पञ्चायतको विपक्ष र कम्युनिस्ट पक्षधर भएको बुझाइमा राजा वीरेन्द्र ०४४ सालमा थबाङ हानिए, हेलिकोप्टरबाट।
तत्कालीन प्रधानमन्त्री मरिचमान र राजा वीरेन्द्र पुग्दा बेलाका किस्सा थबाङमा सुन्न पाइन्छ। विकासका पूर्वाधार र सञ्चारबाट टाढा रहेका थबाङीले २०४५ सालमा राजा वीरेन्द्र थबाङ आउँदा विकासे माग पनि राखेका थिए। थबाङ ओर्लिएका राजा वीरेन्द्रले थबाङीलाई ‘के चाहियो’ भनेछन्। ‘वीरेन्द्रसमक्ष थबाङीले सुलिचौरदेखि थबाङसम्म सडक निर्माण हुनुपर्ने, विद्यालयको सुरक्षाका लागि तारजालीलगायतका माग राखे’, नेता बुढा मगर सम्झिन्छन्।
१० वर्षमा थबाङमा सडक पुर्याउने आश्वासन पनि दिए, वीरेन्द्रले। तर आश्वासन दिएको २५ वर्ष पुग्दा पनि थबाङमा सडक पुगेन। मुस्किलले गत वर्ष सहिदमार्ग र पूर्वी सिरक्याङ भीर फोरिएपछि थबाङ सडक जोडियो। यद्यपि, वर्षात्का कारण सडक अवरुद्ध हुँदै आएको छ।
१२ सालमा स्थापना भएको किसान संगठन कालान्तरमा गएर जनमोर्चामा परिणत भयो। २०४८ सालमा संयुक्त जनमोर्चाका तर्पmबाट क्षेत्र नं २ बाट थबाङका बरमन बुढा मगर सांसद विजयी भए। पञ्चायतमा बहुदलको पक्षपाती, २०४७ पछि जनमोर्चाको पकड, २०५२ सालपछि माओवादीको ऐनान मानिएको थबाङमा शान्तिप्रक्रियापछिको २०६४ को संविधानसभा निर्वाचनमा एकछत्र रूपमा तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’मय भयो। तीन हजार ६ सय मत नै प्रचण्डलाई एक छापे रूपमा दिए थबाङीले।
प्रचण्ड र मोहन वैद्य विभाजनपछि भने थबाङ वैद्य माओवादीमय भयो। वैद्य र विप्लवको सम्बन्ध विच्छेदपछि यहाँ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको प्रभाव छ। २०७० सालको दोस्रो संविधानसभाका बेला यहाँ पुनः शून्य मतदान भयो। पछिल्लो समय भने सत्तासीन नेकपाको पनि प्रभाव बढ्दै गएको छ।
युद्धको बेला थबाङमा ३३ जना सहिद भए। करिब १९ घर तत्कालीन शाही नेपाली सेनाले जलाइदिएको थियो। विगतमा थबाङमा राज्यले विकास, उन्नति र समृद्धि लिएर गएको देखिँदैन। जहिल्यै उत्पीडकका रूपमा सरकार पुगेको थबाङी गुनासो गर्छन्। युद्धताका यहाँका गर्भवती महिला वनजंगलमै सुत्केरी हुन्थे।
राज्य उत्पीडन र जनजाति बाहुल्य हुनुले उहिल्यैदेखि थबाङीमा ‘एन्टी स्टेट’ मनोविज्ञान छ। जहिल्यै भीषण अपरेसनका नाममा मात्र सरकारी सेना, प्रहरी थबाङ पुगे। पञ्चायतकालमा पनि थबाङमा सेना परिचालन भएको थियो। सशस्त्र युद्धका बेला पनि विभिन्न नामका सेना र प्रहरी पुगेको थियो, जसले गर्दा थबाङीमा एन्टी स्टेट मनोविज्ञानको विकास गराएको मान्न सकिन्छ।
संरक्षण र विकासको आवश्यकता
युद्धताका थबाङमा मगरात स्वायत्त प्रदेशको मन्त्रिपरिषद् कार्यालयको बोर्ड झुन्ड्याएको थियो, तत्कालीन माओवादीले। यहाँका ३३ घरपरिवार एकै जनकम्युनमा आबद्ध थिए। गाउँनजिकै जनवादी विद्यालय सञ्चालनमा थियो। जिल्लाभर जनसहकारी थिए। जननमुना अस्पताल, उद्योग, सहिद गेट, तालिम केन्द्र, हेडक्वार्टर बस्ने बंकर थिए। ती सबै अचेल विघटन र नष्ट हुँदै गएका छन्।
युद्ध पर्यटनका लागि ती संरचना आवश्यक हुन्छन्। विगतका कहानी मात्र सुन्न पर्यटक आउँदैनन्, विगतका युद्ध संरचना हेर्न अझ बढी लालायित हुन्छन्, उनीहरू। यसबारे सोच्न आवश्यक छ। थबाङ हुँदै जलजला धार्मिक स्थल पुग्न आन्तरिक र बाह्य पर्यटक थबाङ पुग्ने गरेको स्थानीय युवा अमित घर्ती मगर बताउँछन्। पाहुनालाई सुविधा पुगोस् भनेर यहाँ ‘होमस्टे’समेत सञ्चालनमा ल्याइएको छ।
जनकम्युन विघटन भइसकेका छन्। जनवादी विद्यालय सरकारीकरण गरिएको छ। थबाङकै फुन्टीबाङमा तत्कालीन विद्रोही माओवादीको चर्चित केन्द्रीय बैठक बसेको घर छ। प्रचण्ड, बाबुराम, वैद्यको थबाङ अखडा नै थियो। उनीहरूले यहीँबाट युद्ध रणनीतिसमेत बनाउने गर्थे। त्यसैले यिनै विषयवस्तुलाई बुझेर युद्ध पर्यटन प्रवद्र्धनमा सरोकारवाला लाग्नु अत्यावश्यक छ।
गन्तव्य थबाङ
रोल्पा आफैंमा एक युद्ध पर्यटन स्थल हो। यहाँका हरेक नागरिकसँग युद्धका तीतामीठा भोगाइ छन्। युद्धमा यही जिल्लाका ९ सय ६९ जना मारिए। ३३ जना बेपत्ता पारिएका छन्। धेरैको संख्यामा अंगभंग र घाईते भएका छन्। ३ सय २३ महिला एकल भए। यातना, कुटपिट र धम्कीका बग्रेल्टी अनुभव सबैसँग छ।
युद्धबारे बुझ्न चाहनेका लागि रोल्पा उचित गन्तव्य हो। रोल्पाको सदरमुकाम लिबाङ आइपुग्ने जोकोहीले युद्धमा मारिएका र बेपत्ता पारिएकाको सम्झनामा टुँडिखेलका किनारामा निर्मित शान्ति स्मारक देख्न सक्छन्। हरप्लेस र रोल्पा नगरपालिकाले यसको निर्माण गरेका हुन्।
पर्यटकका लागि यो एक देखिने गतिलो संरचना हो। सदरमुकाम लिबाङ आइपुगेपछि थबाङ गाडीमा जान सकिन्छ। बर्सातको समयमा सडक अवरुद्ध छ। हिउँदको समयमा लिबाङबाट साना सवारीसाधनबाट आठ सय भाडा तिरेर ७६ किलोमिटर टाढाको दूरीमा रहेको थबाङ पुग्न सकिन्छ।
अर्को रुट हो, दाङ घोराही–होलेरी–सहिदमार्ग हुँदै थबाङको। होलेरीबाट १ सय १० किलोमिटर उत्तरमा पर्दछ, थबाङ। पहिलो पटक आक्रमणमा परेको होलेरी चौकीको भगनावशेष अवलोकन गर्दै, शान्तिकालमा लडाकुको पाँचाैँ डिभिजन रहेको दहवन, तिला हेर्दै थबाङ पुग्न सकिन्छ। पूर्वी रोल्पाको सुलिचौरबाट पोबाङ–उवा हुँदै पनि थबाङ पुग्न सकिन्छ। जेलबाङ र लिबाङबाट जलजला पुग्न सकिन्छ। जलजला धार्मिक स्थल हुँदै पैदलै थबाङ पुग्न सकिन्छ।