बौद्ध परिपथ

बौद्ध परिपथ

लुम्बिनी, शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल। विश्वशान्तिको मुहान। शान्तिकामी नागरिकको पहिलो रोजाइ। ४० को दशकताका खासै चर्चामा थिएन। ५० को दशकबाट चर्चामा आउन थालेको लुम्बिनी बौद्धमार्गी मात्र होइन, अहिले शान्तिगामी स्वदेशी र विदेशी पर्यटकको मनमा बसेको छ।

बौद्धमार्गीहरूको धार्मिक हब मात्रै होइन, लुम्बिनी, बौद्ध दर्शन अध्ययन र अनुसन्धान गर्नेहरूका लागि पनि एउटन महत्वपूर्ण स्थल हो। त्यसो त शान्त वातावरण, चराचुरुंगीहरूको आवाज, फूलैफूलको बगैंचाका साथै चारैतिर नेपाली तथा विदेशी कलासंस्कृति झल्काउने विभिन्न विहार तथा चैत्यहरूले सजिएको शान्तिको केन्द्र। 

शान्त वातावरणमा रमाउन चाहने पर्यटकका लागि यो निकै उपयुक्त स्थल हो, जहाँ बर्सेनि स्वदेशी तथा विदेशी गरी झन्डै १४ लाखको हाराहारीमा पर्यटक आइरहेका छन्। यहाँ बर्सेनि लाखौँको संख्या तिर्थालु, पर्यटक तथा अध्येता आउँछन्। विश्वभरका बौद्ध धर्मावलम्बीहरूका लागि लुम्बिनी महत्वपूर्ण तीर्थस्थल तथा पवित्र उद्यान हो। यहाँ आउने प्रत्येक पर्यटकलाई लुम्बिनीले मोहनी लगाउने गर्दछ। यहाँ करिब २ सय ५० प्रजातिका चरा, जसमध्ये सारसलगायतका दुर्लभ प्रजातिछन्। यसको जैविक विविधता र मनोरम प्राकृतिक दृश्यले प्रकृतिविद्, वनस्पतिविद्, जीवशास्त्रीहरूलाई लुम्बिनीले मोहनी लगाउँछ। 

मायादेवी मन्दिर परिसरमा अशोक स्तम्भ र पवित्र पोखरी छ। ईपू २४९ मा सम्राट् अशोकले स्थापना गरेको अशोक स्तम्भमा कुँदिएका शिलालेखले गौतम बुद्धको जन्म लुम्बिनीमा भएको तथ्य ऐतिहासिक प्रमाण दिन्छ। बौद्धमार्गीहरूका लागि बुद्ध जन्मस्थल लुम्बिनी मात्रै पुगेर उनीहरूको तीर्थयात्रा पूर्ण हुँदैन। बौद्धमार्गीहरूका लागि  बुद्ध जन्मस्थल लुम्बिनीसँगै बुद्धका बुवाको दरबार तिलौराकोट, बुद्धको मावलीस्थल देवदह र बुद्धको अस्तु रहेको रामग्राम क्षेत्र आस्थाका केन्द्र हुन्। लुम्बिनी आएका बौद्धमार्गी पर्यटक ती स्थानमा जान चाहन्छन्। 

तर उपयुक्त पूर्वाधारको अभावमा पर्यटकहरू लुम्बिनीबाटै फर्किएको तथ्यांकले देखाएको छ। लुम्बिनीबाहेक अन्य क्षेत्रको क्रमिक विकासका लागि अहिलेसम्म गुरुयोजना बनाएर अगाडि बढ्न सकिएको छैन। लुम्बिनीको चरणबद्ध विकास भए पनि गुरुयोजना अभावका कारण ती क्षेत्र अझै पनि विकसित हुन सकेका छैनन्। सरकारले बर्सौं अघिदेखि उक्त क्षेत्रहरूलाई संरक्षण गरे पनि पर्यटकहरूको मन लोभ्याउन खासै काम गर्न सकिएको छैन, जसले गर्दा बुद्धसँग सम्बन्धित आस्था केन्द्रका वरिपरि रहेका स्थल समृद्ध हुन सकेका छैनन्।

लुम्बिनी विकास कोषका अनुसार बुद्धसँग सम्बन्धित रूपन्देही, कपिलवस्तु र नवलपरासी जिल्लामा एक सय ५० भन्दा बढी ऐतिहासिक महत्वपूर्ण र पुरातात्विक स्थल छन्, जसमध्ये केही पुरातात्वित क्षेत्रलाई विकास गर्नैपर्ने देखिएको सरोकारावाला बताउँछन्। लुम्बिनी आउने पर्यटकको बसाइँ लम्ब्याउन पनि यी क्षेत्रहरूको विकास गर्नुपर्ने उनीहरूको तर्क छ।

लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायी गोविन्द ज्ञवाली यस क्षेत्रको समृद्धिका लागि लुम्बिनीसहित बुद्धसँग सम्बन्धित क्षेत्रहरूको विकास गरी पर्यटकका लागि प्याकेजमा कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउँछन्। उनले भने, ‘लुम्बिनीलाई जोडेर समृद्धि चाहने हो भने सरकारले लुम्बिनी, तिलौराकोट, देवदह, राम्रगामसहित अन्य बौद्ध स्थलको संरक्षण तथा संवद्र्धन गर्दै विकासमा अगाडि बढ्नुपर्छ। अनि मात्रै यो क्षेत्र समृद्ध हुन्छ।’

अहिले लुम्बिनी आउने पर्यटक एकाध घण्टामै लुम्बिनी घुमेर फर्किने गरेका छन्। ‘हामीले लुम्बिनीसहित अन्य पर्यटकीय क्षेत्रको गुरुयोजना बनाएर विकास गर्न सकिएन भने पर्यटकको बसाइ लम्ब्याउन सकिँदैन’, व्यवसायी ज्ञवालीले भने, ‘त्यसका लागि सरकारले खाका बनाएर अगाडि बन्नुपर्छ।’ लुम्बिनी आउने पर्यटकलाई घुमाउन तथा बुझाउन दक्ष नेपाली पथप्रदर्शकको आवश्यक रहेको उल्लेख गरे।

पर्यटक लुम्बिनी आउँछन्। तर मनोरञ्जन गर्ने खासै स्थल नहुँदा उनीहरू एकाध घण्टामै फर्किन्छन्। पर्यटन व्यवसायीहरू यो प्रवृत्तिप्रति चिन्तित छन्। बुद्धसँग सम्बन्धित तिलौराकोट, देवदह र राम्रगामको पनि विकास गरेर उनीहरूलाई त्यहाँसम्म पुर्‍याउने व्यवस्थापनमा मिलाए मात्र उनीहरू बसाइ लम्बिन्छ। र, यो क्षेत्र समृद्ध हुन्छ। नभए उनीहरूको बसाइँ लम्याउन सकिँदैन। 

लुम्बिनीसहित बौद्धसँग सम्बन्धित क्षेत्रको गुरुयोजना बनाएर विकास गर्दै गर्दा लुम्बिनीसहित क्षेत्रसँग जोडिएका क्षेत्रमा स्तरीय होटल तथा पर्यटकीय पूर्वाधार तयार गर्न आवश्यक रहेको लुम्बिनीका अभियन्ता चेतन पन्त बताउँछन्। अहिले पनि सिजनको बेला लुम्बिनी आउने कतिपय पर्यटक स्तरीय होटल अभावका कारण बुद्धसँग सम्बन्धित अन्य क्षेत्रमा नगई फर्किएर जानुपरेको छ’, उनले भने, ‘सरकारले होटल तथा पर्यटकीय क्षेत्रको विकासका लागि लगानीको वातावरण मिलाउन आवश्यक छ।’
लुम्बिनीसहित बौद्धसँग सम्बन्धित क्षेत्रमा पूर्वाधार तयार गर्न सके आफूहरू समृद्ध प्रदेशवासी बन्न धेरै समय लाग्ने स्थानीय बताउँछन्। साथै निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भएर विमानस्थल सञ्चालनमा आएपछि यहाँ आउने पर्यटकको संख्यामा व्यापक वृद्धि हुने र यसलाई मध्यनजर गरेर अहिलेबाटै होटल तथा पर्यटन पूर्वाधारमा विशेष जोड दिन आवश्यक रहेकोे पन्तको भनाइ छ। 

यस क्षेत्रमा अहिले एउटा पाँचतारे होटलका साथै केही तीनतारे होटल र अन्य पर्यटक केन्द्रित होटल सञ्चालनमा छन्। तर पनि पर्याप्त होटल भने अहिलेसम्म पनि छैनन्। लुम्बिनीमा केन्द्रमा राखेर भैरहवा, बुटवल, कपिलवस्तु, देवदह तथा नवलपरासीमा पनि स्तरीय होटल सञ्चालनमा ल्याउने पर्ने पर्यटन व्यवसायी बताउँछन्। 

देवदहको शीतलनगरदेखि सुरु भएको बौद्ध परिपथ भवानीपुर मणिग्राम, तिनाउखोला, फर्साटिकर, मानमटेरिया, सूर्यपुरा हुँदै लुम्बिनी जोडिनेछ। यो सडक निर्माण भएपछि लुम्बिनी आउने पर्यटक सहजै बुद्धको मावली देवदह पुग्नेछन्।

यता, लुम्बिनी विकास कोषले बुद्धसँग सम्बन्धित रूपन्देही, कपिलवस्तु, नवलपरासी जिल्लामा रहेका बौद्ध सम्पदाको संरक्षण, संवद्र्धन र विकासका लागि भन्दै ग्रेटर लुम्बिनी एरिया (बृहत् लुम्बिनी क्षेत्र)को परिकल्पना गर्दै गुरुयोजनाको खाका तयार गर्दै छ। कोषले तयार गर्दै गरेको खाकाअनुसार लुम्बिनीको गुरुयोजना जस्तै तिलौराकोट, देवदह, राम्रगामलगायतका बौद्ध सम्पदाको क्रमिक विकासका लागि गुरुयोजना तयार गरी विकास गरिनेछ।

कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले पश्चिममा वाणगंगा नदी हुँदै कपिलवस्तु क्षेत्र समेटने गरी महेन्द्र राजमार्ग हुँदै पूर्वमा देवदह, राम्रगामसम्मलाई समेटेर सिमाना तय गरी ग्रेटर लुम्बिनी एरियाको गुरुयोजनाको खाका तयार भइरहेको बताए। बुद्धसँग सम्बन्धित रूपन्देही, कपिलवस्तु र नवलपरासीमा रहेको मुख्य सम्पदाको गुरुयोजना बनाएर लुम्बिनीलाई केन्द्रमा राखेर विकास गरिने उनको भनाइ छ। गुरुयोजना अभावकै कारण ती क्षेत्रको पूर्ण विकास हुन नसकेको उल्लेख गर्दै उनले समृद्ध प्रदेशको परिकल्पनालाई साकार पार्न यो अवधारणा अघिसारिएको जानकारी दिए।

ग्रेटर लुम्बिनीको खाका तयार भएपछि यस क्षेत्रमा पर्यटकको आवागमनमा वृद्धि हुनुका साथै पर्यटकको बसाइँसमेत लम्बिने उनले बताए। ‘ती क्षेत्रको विकासका लागि गुरुयोजना नहुँदा आवश्यक विकास गर्न सकिएको थिएन, जसका कारण पर्यटकहरूको बसाइँ निकै छोटो हुने गरेको थियो’, उनले भने, ‘यसैलाई मध्यनजर गर्दै हामीले ग्रेटर लुम्बिनी एरियाको अवधारणा अघि सारेका हौँ।’

गुरुयोजना सम्पन्न भएपश्चात् हाल १४ लाखको हाराहारी लुम्बिनी आउने पर्यटकको संख्या सन् २०२० सम्ममा बढेर २० लाख पुग्ने लुम्बिनी विकास कोषले आकलन गरेको छ। उनले गुरुयोजना सम्पन्न भएपश्चात् यो क्षेत्र सम्बद्ध क्षेत्रका रूपमा स्थापित हुने बताए।
अब बन्ने ग्रेटर लुम्बिनी एरियाभित्र पर्यटकको रमाणीय वातावरण बनाउन विभिन्न स्थल पार्क, तालहरूको संरक्षणलगायतका संरचनासमेत तयार गरिनेछ। साथै त्यस क्षेत्रमा पर्यटन क्षेत्रलाई टेवा पुग्ने उद्योग मात्रै सञ्चालनमा ल्याइने गरी गुरुयोजना तयार भइरहेको कोषका उपाध्यक्ष त्रिपाठीले बताए। प्रदूषण फैलाउने उद्योगलाई अन्य स्थानमा एकीकृत गरेर सञ्चालन गर्नुपर्नेसमेत गुरुयोजनामा विज्ञहरूको सुझाव आएको उनले जानकारी दिए। 

गुरुयोजनामा लुम्बिनीसहित तिलौराकोट, देवदह, रामग्रामलगायत बौद्ध सम्पदाको अवलोकन तथा पर्यटकको भ्रमण सहजताका लागि मोनोरेल र सडक सञ्जालको समेत परिकल्पना गरिएको छ। त्यस्तै यस क्षेत्रको समृद्धिका लागि बौद्ध परिपथको कामसमेत अगाडि बढेको छ। बुद्धको जन्मस्थल लुम्बिनीदेखि विभिन्न ऐतिहासिक बौद्ध सम्पदालाई जोड्दै बुद्धको मावली देवदहसम्म सडक निर्माणको काम अघि बढेको छ।

देवदहको शीतलनगरदेखि सुरु भएको बौद्ध परिपथ भवानीपुर मणिग्राम, तिनाउखोला, फर्साटिकर, मानमटेरिया, सूर्यपुरा हुँदै लुम्बिनी जोडिनेछ। यो सडक निर्माण भएपछि लुम्बिनी आउने पर्यटक सहजै बुद्धको मावली देवदह पुग्नेछन्। सडकखण्डको मणिग्रामदेखि ४ नम्बरसम्म साढे ३ किलोमिटरको क्षेत्रमा विद्युतीय पोल र खानेपानीका कारण सडक निर्माण अघि बढ्न नसकेको लुम्बिनी परिक्रमा बर्दघाट पालडाँडा त्रिवेणी सडक आयोजनाका इन्जिनियर अरुण खत्रीले जानकारी दिए। 
बौद्ध परिपथको करिब ७५ प्रतिशत काम सम्पन्न भइसकेको छ। नदीजन्य अभावलगायत विभिन्न कारणले विगतमा निर्माण कार्यमा ढिलाइ भए पनि अहिले पर्याप्त नदीजन्य पादर्थ हुँदा र खासै बाधा पनि नहुँदा काम तीव्र रूपमा अगाडि बढ्ने र अगामी मंसिरसम्म काम सम्पन्न हुने उनले बताए। यो सडकखण्डको दूरी ४५ दशमलव ६ किलोमिटर रहे पनि आयोजनाले ४२ दशमलव ६ किलोमिटरमा निर्माण जिम्मा पाएको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.