दसैंमा घर पोत्ने माटो खन्दा ढिस्कोमा पुरिएर एकै घरका तीनको मृत्यु
तुलसीपुर : दाङमा माटोको ढिस्कोले पुर्दा एकै परिवारका तीन जनाको ज्यान गएको छ। दसैंका लागि भनेर घर पोत्ने माटो लिन गएका राप्ती गाउँपालिका ४ मौरीघाटका तीन जनाको माटो खनिरहेको अवस्थामा माथिबाट खसेको ढिस्कोले पुर्दा ज्यान गएको दाङ प्रहरीले जनाएको छ।
राप्ती गाउँपालिका ४ मौरीघाटका शिउचरण चौधरीका तीन जना परिवारको शनिवार मृत्यु भएको हो। शिउचरणकी ३० वर्षकी छोरी श्यामा चौधरी, २५ वर्षकी भाइ-बुहारी निनाकुमारी चौधरी र १२ वर्षिय नातिनी रोजिना चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी एवं प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिए।
परिवारका तीन सदस्यको मृत्युले चौधरी परिवार विक्षिप्त भएको छ भने गाउँ शोकमा डुबेको छ। शनिबार बिहान घर नजिकै रहेको दोलइ खोलामा घर पोत्नका लागि एकै घरमा आमाजु–बुहारी र भतिजी माटो लिन गएका थिए। दिउँसो अबेरसम्ममा पनि तीनै जना घर नफर्केपछि चौधरी परिवारले खोजी गर्दा दोलैखोलाको मटिखन्नीमा पुरिएको अवस्थामा फेला परेको र मृत अवस्थामा उनीहरूलाई निकालिएको स्थानीय हरिनारायण चौधरीले बताए।
चौधरीका अनुसार दसैंका लागि घर लिप्न प्रयोग गर्ने कमेरो माटोको खानी त्यहाँ भएको र स्थानीय ४०/४५ घरले त्यहाँको माटो प्रयोग गर्दै आएका थिए।
उनीहरू पनि माटो लिन गएको बेला ढिस्कोले पुरिएको हरिनारयणले बताए। गाउँलेहरूले झण्डै ४ मिटर गहिरो खाल्डोबाट माटो निकाल्दै आइरहेका थिए। शनिबार त्यहीँबाट माटो निकाल्दै गर्दा माथिबाट ढिस्को खसेर उनीहरूलाई पुरेको उनने बताए।
पहिले पनि त्यही स्थानमा माटोकै ढिस्कोले एक जनालाई पुरेको थियो। त्यो घटना भइसकेपछि स्थानीयतहले माटो निकाल्न बन्द गराएको भए पनि लुकीछिपी स्थानीयहरूले माटो निकाल्दै आएको राप्ती गाउँपालिका वडा ४ का वडा अध्यक्ष विष्णुबहादुर जिसीले बताए। 'घटना दुखद् भएको छ', उनले भने, 'विगतमा पनि यस्तै घटना भएकाले माटो खन्न कडाई गरेका थियौँ, स्थानीयले नमानेरै खनिरहेको बेला फेरि दुखद् घटना दोहरिएको छ।'
जिसीले ४ वर्ष अघि पनि त्यही स्थानमा एकजना माटो खन्दै गर्दा पुरिएको बताए। यो क्षेत्रमा पटकपटक यस्तो दोहरिरहने गरेको स्थानीयहरूले बताएका छन्।
माटोको ढिस्को खसेको स्थान। यहाँ पुरिएर एकै घरका तीन जनाले शनिबार ज्यान गुमाएका छन्।