नातिनी र भतिजी बलात्कार प्रकरण : हजुरबुवा र काका कारागारमा
नेपालगन्ज : बाँके जिल्लाको कोहलपुर नगरपालिकाका नातिनी र भतिजी बलात्कारका दुबै अभियुक्त पुर्पक्षका लागि थुनामा परेका छन्।
जिल्ला अदालत बाँकेले अभियुक्तलाई पुर्पक्षका लागि जिल्ला कारागार बाँकेमा थुनामा राख्ने आदेश दिएको हो। बिहीबार सम्पन्न थुनछेक बहसपछि जिल्ला न्यायाधीश अनिलकुमार शर्माले नातिनी बलात्कारको अभियोगमा ७५ वर्षीय तरकारी बाजेलाई थुनामा राख्न आदेश दिएको अदालतका तहसिलदार शाखा अधिकृत नारायण सापकोटाले जानकारी दिए।
‘तत्काल प्राप्त प्रमाणले निर्दोष हुन् भन्ने नदेखिएकाले पछि बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी हाललाई कारगार पठाइदिनु’, आदेशमा उल्लेख गरिएको छ। उनलाई आगामी असोज २१ गते जिल्ला अदालतमा हाजिर हुन पनि आदेशमा भनिएको छ।
तरकारी बाजे पक्षधर अधिवक्ताहरुले पारिवारिक रुपमा आर्थिक बार्गेनिङका क्रममा बलात्कारको झुठो अभियोग लगाएको दाबी गर्दै धरौटीमा रिहा गर्न माग गरेका थिए भने नातिनी पक्षधर अधिवक्ताले भने यो आरोपको प्रतिवाद गर्दै अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्नुपर्ने तर्क गरेका थिए। १३ वर्षीया नातिनीलाई तीन वर्षदेखि बलात्कार गरेको अभियोगमा तरकारी बाजे पक्राउ परेका थिए।
त्यसैगरी भतिजी बलात्कार गरेको अभियोगमा पक्राउ परेका भारतीय नागरिक हरुण खान पनि ८ असोजदेखि पुर्पक्षका लागि थुनामा छन्। बालक भएका कारण उनलाई भने बालसुधार गृहमा राखिएको इलाका प्रहरी कार्यालय कोहलपुरका सूचना अधिकारी मानबहादुर बिसीले जानकारी दिए।
कोहलपुर –३ मैटहवामा आफ्नै सहोदर पाँच वर्षीया भतिजी बलात्कार गर्ने १७ वर्षीय हरुण खानले प्रहरी र सरकारी वकिलसँगको बयानमा अभियोग सकारेका थिए। मेडिकल रिपोर्टबाट बलात्कार भएको पुष्टि भएको थियो।
भारतको उत्तर प्रदेश राज्यको भिंगी रहेली घर भइ मैटहवामा खानका दाजुभाइ गाउँगाउँ डुलेर कपडा बेच्ने गर्थे। दाजुभाउजु घरमा नभएको मौका छोपी खानले भतिजीलाई बलात्कार गरेका थिए।