भूकम्प पुनर्निर्माण : ३ लाख घर, डेढ अर्ब अनुदान वितरण

भूकम्प पुनर्निर्माण : ३ लाख घर, डेढ अर्ब अनुदान वितरण

काठमाडौं : साढे तीन वर्षको अवधिमा भूकम्पले भत्काएका करिब साढे लाख घरको पुनर्निर्माण सकिएको छ। अति प्रभावित १४ र कम प्रभावित १८ जिल्लाका गरी करिब साढे तीन लाख घरको पुनर्निर्माण सकिएको हो।

पुनर्निर्माण सुरु भएका ५ लाख ५५ हजार ६ सय १२ निजी घरमध्ये २ लाख ९६ हजार ५ सय १४ घरको पुनर्निर्माण सकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता पीताम्बर घिमिरेले जानकारी दिए। तथ्यांक प्राप्त हुन बाँकी कम प्रभावित जिल्लाको विवरण अझै आउने भएकाले पुनर्निर्माण भएका घरको संख्या साढे तीन लाख पुग्ने उनले बताए।

प्राधिकरणको तथ्यांकअनुसार २ लाख ५९ हजार ९८ घर पुनर्निर्माण भइरहेका छन्। सबैभन्दा बढी सिन्धुपाल्चोकमा निर्माण सम्पन्न भएका छन्। सिन्धुपाल्चोकमा ४९ हजार ५ सय ४० घर पुनर्निर्माण भएका छन्। दोलखामा ४४ हजार ४ सय ६१, गोरखामा ३६ हजार ४ सय ९०, धादिङमा ३५ हजार ६ सय ६१, नुवाकोटमा २८ हजार १ सय ५० घरको पुनर्निर्माण सकिएको हो।

काभे्रपलाञ्चोकमा २० हजार ७ सय ५२, सिन्धुलीमा ११ हजार १ सय १०, ओखलढुंगामा १० हजार ७ सय ८७, ललितपुरमा ३ हजार ४ सय ५५, भक्तपुरमा ५ हजार ५ सय ३०, काठामाडौंमा ७ हजार ४ सय ३८, रसुवामा ८ हजार ५ सय ९१, मकवानपुरमा ८ हजार ३ सय ४६, सोलुखुम्बुमा ४ सय ३०, स्याङ्जामा ५ सय २०, गुल्मीमा ३ सय १५, अर्घाखाँचीमा १६ र लमजुङमा ७ वटा घरको पुनर्निर्माण सकिएको प्राधिकरणले जनाएको छ।

हालै प्राधिकरणले पुनर्निर्माणमा स्थानीय तहलाई परिचालन गर्ने निर्णय गरेकाले प्राधिकरणका प्रवक्ता घिमिरेले स्थानीय तहलाई जिम्मेवारी दिइएकाले पुनर्निर्माण छिट्टै सकिने बताएका छन्। ‘अभियानका रूपमा निजी आवास पुनर्निर्माणलाई अघि बढाउन लाभग्राही, स्थानीय तह, राजनीतिक दलदेखि सबैको सहयोग जरुरी छ’, उनले भने। प्राधिकरणका अनुसार भूकम्पबाट क्षति भएकामध्ये अनुदान सम्झौता सम्पन्न लाभग्राही संख्या ७ लाख २३ हजार ७ सय २८ छन्। जसमा ७ लाख १७ हजार ९ सय ६४ लाभग्राहीले पहिलो किस्ता लिइसकेका छन्।

दोस्रो किस्ता लिने लाभग्राहीको संख्या ५ लाख ३ हजार ३६ पुगेको छ। २ लाख ६६ हजार ९ सय ४ लाभग्राहीले तेस्रो किस्ता बुझिसकेका छन्। गुनासो सम्बोधनपछि कुल पुनर्निर्माण लाभग्राहीको संख्या ८ लाख १० हजार ६ सय ९० पुगेको छ। प्रवलीकरणको सूचीमा परेका लाभग्राहीको संख्या ६१ हजार ८ सय ९१ पुगेको छ।

डेढ अर्ब अनुदान वितरण

भूकम्पबाट क्षतिग्रस्त निजी आवास निर्माणमा १ खर्ब ३८ अर्ब २१ करोड ५२ लाख ९४ हजार ५ सय १८ रुपैयाँ वितरण भएको प्रवक्ता घिमिरेले जानकारी दिए। उनका अनुसार आर्थिक वर्ष ०७२/७३ मा १४ अर्ब ३८ करोड ७७ लाख ८७ हजार ४ सय ५१ रुपैयाँ रकम वितरण भएको छ। आव ०७३/७४ मा ३५ अर्ब ३५ करोड ४५ लाख १८ हजार २ सय ५८ रुपैयाँ वितरण भएको थियो। त्यसैगरी ०७४÷७५ मा ८८ अर्ब ४७ करोड ४० लाख ८८ हजार ८ सय ९ रुपैयाँ बराबरको आवास अनुदान वितरण भएको थियो।

चालु आपका लागि प्राधिकरणले ८३ अर्ब ४१ करोड ६८ लाख ३ हजार रुपैयाँ विनियोजन गरेको छ। यसमध्ये हालसम्म करिब १० अर्ब रुपैयाँ वितरण भइसकेको छ। सरकारले बजेट कार्यक्रममार्फत चालु आवभित्र निजी आवास पुनर्निर्माण सक्ने लक्ष्य लिएको छ।

लाभग्राही थपिँदै

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यकारी समितिले भूकम्प अति प्रभावित १४ जिल्लामा छुट तथा पुनःजाँच सर्वेक्षणअन्तर्गत संकलित तथ्यांक विश्लेषण गरी १ लाख १८ हजार ७ सय ८० गुनासो सुनुवाइ गरी नतिजा सार्वजनिक गरेको छ। भदौ मसान्तसम्मको तथ्यांकअनुसार ४२ हजार ४ सय २२ गुनासोकर्ता लाभग्राही सूचीमा परेका छन्।

प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेका अनुसार ३५ हजार ५ सय ५ घरधुरी प्रवलीकरण लाभग्राहीमा समावेश छन् भने २८ हजार ५ सय ७४ गुनासोकर्ता अयोग्य देखिएका छन्। ‘बाँकी गुनासोकर्ताबारे थप पुष्टिका लागि स्थानीय तहमा पठाइएको छ। छुट तथा पुनः जाँच सर्वेक्षणअन्तर्गत बाँकी गुनासो प्राधिकरणका प्राविधिकद्वारा अध्ययन भइरहेको छ’, सहप्रवक्ता घिमिरले भने। प्राधिकरणले गत वर्ष स्थलगत रूपमा प्राविधिक इन्जिनियर परिचालन गरी छुट तथा पुनः जाँच सर्वेक्षणमार्फत १ लाख २९ हजार ४ सय ८ गुनासो संकलन गरेको थियो।

प्राधिकरणले प्रभावित १६ जिल्लाका २ सय ६३ गुनासोकर्तालाई पुनर्निर्माण लाभग्राही र १३ सय ९५ लाई प्रवलीकरण लाभग्राही कायम गरेको छ। ३ हजार ६ सय १७ गुनासोकर्ताको स्थलगत प्रमाणीकरण गर्ने, २ सय २० जनाको अन्य ठाउँमा बस्न योग्य घर भए/नभएको स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतबाट प्रमाणित गराउने निर्णय पनि गरेको उनले बताए। अनुदान लिन नयाँ समयसीमा

प्राधिकरण निर्देशक समितिले हालै निजी घरधनी लाभग्राहीले अनुदानको किस्ता लिइसक्नुपर्ने नयाँ समयसीमा तय गरेको सहप्रवक्ता घिमिरेले जानकारी दिए। उनका अनुसार २०७५ असार मसान्तसम्म पहिलो किस्ता प्राप्त गरिसकेका लाभग्राहीले ०७५ पुस मसान्तभित्र दोस्रो र ०७६ वैशाख मसान्तसम्म तेस्रो किस्ता लिइसक्नुपर्नेछ।

गुनासो सम्बोधनलगायतबाट हालसम्म पहिचान भएका सबै लाभग्राहीसँग अनुदान सम्झौता सम्पन्न गरी प्रथम किस्ता प्राप्त गर्ने समयसीमा २०७५ कात्तिक मसान्त तोकिएको छ। यस्ता लाभग्राहीले ०७५ माघ मसान्तभित्र दोस्रो किस्ता लिनुपर्नेछ भने ०७६ जेठ मसान्तभित्र तेस्रो किस्ता लिइसक्नु पर्नेछ।

आगामी दिनमा गुनासो सुनुवाइबाट लाभग्राही सूचीमा परेका एवं पुनः सर्वेक्षण, जोखिम वर्ग, परम्परागत बस्ती, एवं बस्ती स्थानान्तरणबाट आउने लाभग्राहीका लागि अनुदान किस्ता प्राप्त गर्ने समयावधि कार्यकारी समितिले निर्धारण गरेबमोजिम हुने सहप्रवक्ता घिमिरेले बताए। प्राधिकरणले सरकारद्वारा बजेट कार्यक्रममार्फत निर्धारण गरेको लक्ष्यअनुसार लचिलो समयसीमा निर्धारण गरेको उनले बताए।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.