बाल मस्तिष्कको सुरक्षा
भनिन्छ, जन्मेदेखि पाँच वर्ष उमेरभित्र बालबालिकाको नब्बे प्रतिशत मस्तिष्कको विकास भइसकेको हुन्छ। विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अध्ययनले पनि यसलाई पुष्टि गरिसकेको छ।
अध्ययनले यो पनि भनेको छ— बच्चा जन्मँदा उसको मस्तिष्कको आकार किशोरावस्थामा हुने मस्तिष्कको आकारको एक चौथाइ बराबरको हुन्छ। जन्मेदेखि पहिलो एक वर्षको उमेरमा यो आकार बढेर दोब्बर हुन्छ। तीन वर्षको उमेरमा यसको आकार असी प्रतिशतसम्म हुन्छ भने पाँच वर्षको उमेरमा नब्बे प्रतिशतको हाराहारीमा हुन्छ।
मस्तिष्क मानव जीवनको केन्द्रीय अंग हो। तसर्थ यसको विकासलाई सही मार्गमा लैजान सानैदेखि बालबालिकाको हेरचाहमा विशेष ध्यान दिनुपर्ने विशेषज्ञहरूको सुझाव छ। उमेरअनुसार बालबालिकाको हरेक क्षेत्रमा क्रमिक विकास भइरहन्छ। बालबालिकाको शारीरिक, बौद्धिक, सामाजिक तथा संवेगात्मक विकासको महत्वपूर्ण हिस्साको विकास यही समयमा हुन्छ। यसको सुनिश्चितता बच्चाको अभिभावकले नै गरिदिनुपर्ने बालबालिकाको अधिकारको क्षेत्रमा क्रियाशील कुन्ती राना बताउँछिन्।
सामान्यतया जन्मेदेखि आठ वर्षसम्मको उमेरलाई प्रारम्भिक बाल्यावस्था मानिन्छ। बाल विकास भन्नु नै बालबालिकाको शारीरिक, बौद्धिक, संवेगात्मक, सामाजिक लगायतका विकास भएकाले घरपरिवारदेखि स्कुलसम्म उनीहरूलाई उपयुक्त वातावरण दिनुपर्ने रानाको सुझाव छ।
उमेर र शारीरिक अवस्थाअनुसार शरीरका इन्द्रिय, मस्तिष्क, ह*ी आदिको वृद्धिसँगै अंगहरूको सञ्चालन, सन्तुलन तथा सामञ्जस्यता र समन्वयलाई शारीरिक विकास मानिन्छ। गर्भावस्थामा तथा जन्मेपछि पाँच वर्षको समयभित्र जुन गतिमा शरीरको वृद्धि र विकास हुन्छ त्यो जीवनको अन्य समयमा कमै हुन्छ। शिशु अवस्थामा शरीरको तौल बढ्नुका साथै यसको कार्यक्षमतामा पनि प्रगति हुने गर्छ।
मस्तिष्कको तौल बढ्दै जाने क्रमसँगै शारीरिक गतिविधि पनि फरक हुँदै जान्छ। शरीरको वृद्धि र विकासका लागि पोसिलो खाना, खोप, स्याहार, हौसला आवश्यक हुन्छ। यस अवस्थामा घातक रोग, सरुवा रोग, दुर्घटना आदि हुने जोखिमबाट बचाउनु पर्छ। सोचाइ, कल्पना, सिर्जनशीलता, इन्द्रियद्वारा सूचना ग्रहण, स्मरण, कारण र घटनाको सम्बन्ध बुझ्न सक्ने जस्ता मानसिक क्षमतालाई बौद्धिक विकास भनिन्छ। गर्भावस्थाको पहिलो ६ महिनाभित्र नै शिशुको मस्तिष्कका कोषहरूको निर्माण र संख्यात्मक वृद्धि हुन्छ।
शिशु गर्भमा रहेको तीन सातादेखि नै मस्तिष्कको विकास सुरु हुन्छ। गर्भमा ज्ञानेन्द्रिय, अंग, मांसपेशी, हाडसँगै मस्तिष्कको पनि तीव्र गतिमा विकास भइरहेको हुन्छ।
शिक्षाविद् प्राध्यापक डा. किशोर महर्जन बालबालिकाका लागि उचित स्वास्थ्य, पोषण तथा उचित स्याहारसुसार तथा खानपिन, प्रारम्भिक सिकाइ लगायतमा जोड दिन सकिएमा मात्र उनीहरूलाई भविष्यमा योग्य नागरिकका रूपमा विकास गर्न सकिने बताउँछन्।
यसकारण प्रारम्भिक बालविकास
* प्रारम्भिक बाल्यावस्था मानव जीवनको सबैभन्दा महत्वपूर्ण समय हो।
* यस अवस्थामा बालबालिकाको वृद्धि, विकास अत्यन्तै छिटो हुन्छ।
* शिशुले जन्म लगत्तै सिक्न थाल्छन्।
* उनीहरूको सिकाइ क्षमता र मस्तिष्कको निर्माण अन्य उमेरमा भन्दा धेरै छिटो भइरहेको हुन्छ।
* प्रारम्भिक बाल्यावस्था भविष्यको जग हो।
* यस अवस्था उनीहरूले पाउने उत्प्रेरणा, स्वास्थ्य सेवा, स्याहार, माया, उचित शारीरिक, बौद्धिक, संवेगात्मक, सामाजिक, भाषिक विकासको अवसरले मानव जीवनमा प्रत्यक्ष प्रभाव पार्छ।
* घर बलियो बन्नका निम्ति जग बलियो हुनुपर्छ भनेजस्तै असल, स्वस्थ र सफल नागरिक हुन बाल्यावस्थाको वातावरण राम्रो हुनुपर्छ।
* बालअपराध, हिंसा दुव्र्यवहारको न्यूनीकरण गर्न प्रारम्भिक बालविकास कार्यक्रमले सहयोग पुर्याउँछ।
छैन लगानी
अन्य उमेर समूहमा गरिएको लगानीको प्रतिफलको तुलनामा प्रारम्भिक बालविकास कार्यक्रममा गरिएको लगानीको आर्थिक, शैक्षिक तथा सामाजिक प्रतिफल धेरै गुणा उपलब्धिमूलक रहेको विभिन्न अध्ययन अनुसन्धानले देखाएका छन्।
विश्व बैंकको एक प्रतिवेदनअनुसार बालविकासका लागि राज्यले एक डलर लगानी गर्दा त्यसको आर्थिक प्रतिफल १७ डलरसम्म हुने गरेको छ। अहिले मुलुकभर तीस हजारको हाराहारीमा बाल विकास केन्द्रहरू छन्; जहाँ विद्यालय भर्ना हुनुअघि एक वर्ष पढाइन्छ। तर, यस्ता बालविकास केन्द्रमा पर्याप्त जनशक्ति र आवश्यक संरचना नहुने जस्ता समस्या छन्।
संविधानले कक्षा १२ सम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिएको छ। तसर्थ आगामी दिनमा बालबालिकाको सर्वांगीण विकासका लागि स्थानीय तहकै सक्रियता अपरिहार्य छ। शिक्षा मन्त्रालयका उपसचिव हरि खनाल यस्ता केन्द्र सञ्चालनको अधिकार पनि अब स्थानीय तहमा गएकाले आगामी दिनमा प्रभावकारी हुने बताउँछन्।