भन्सार छली ल्याएका लाखौंका कपडा बरामद
भैरहवा : सस्शत्र प्रहरी बल नेपाल राजश्व तथा भन्सार सुरक्षा गस्ती नम्बर ३८ गुल्म डण्डाले रुपन्देहीको सिमानाका बेलहियाबाट भन्सार छली गरेर नेपालतर्फ ल्याउँदै गरेको ठूलो परिमाणमा अवैध कपडासहित विभिन्न सामान बरामद गरेको छ।
दसैं तिहार नजिकएसँगै कपडालगायत अन्य सामानको तस्करी सुरु भएपछि सस्शत्र प्रहरी बल तस्करी नियन्त्रणमा लागेको छ। गुल्मको सस्शत्र प्रहरी नायब उपरीक्षक (डीएसपी) गोविन्दबहादुर खातीको कमाण्डमा खटिएको टोलीले जिल्लाको सिद्धार्थनगर नगरपालिकामा- १ बेलहियामा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणमा अवैध कपडासहित विभिन्न साम्रगी बरामद गरेको हो।
बरामद साम्रगीमा सुट, साडी, कूर्ता, सरुवाल, उपभोग्य (किराना) वस्तु, स्टेसनरीलगायत विभिन्न सामान रहेको सस्शत्र प्रहरीले जनाएको छ। दुई लाख ५७ हजार रुपैयाँ बराबरको बरामद सामान भैरहवा भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल राजश्व तथा भन्सार सुरक्षा गस्ती नम्बर ३८ गुल्म डण्डाका डीएसपी खातीले बताए ।
भैरहवादेखि बुटवलतर्फ जाँदै गरेको लु १ ज २८७० नम्बरको गाडी चेकजाँच गर्दा २१ वटा बोरामा अवैध सामान फेला परेपछि गाडी र गाडी चालक नुवाकोट ताराकेश्वर ६ का ४९ वर्षीय नवराज रिमाललाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय बुटवलमा बुझाइएको गुल्मको सस्शत्र प्रहरी निरीक्षक सुरज रिजालले बताए।
सशस्त्र प्रहरीले सामानसहित बुझाएको गाडी र गाडी चालकलाई राजश्व अनुसन्धान कार्यालयले २ लाख ४७ हजार धरौटीमा गाडी चालक र गाडी छाडेको बताइएको छ।