एसईई परिक्षा तयारी गरेका २२ विद्यार्थी निष्कासित
म्याग्दी : नियमित पठनपाठन र दरबन्दी अनुसार शिक्षकको व्यवस्थाको माग गर्दै आन्दोलनमा उत्रिएका रघुगंगा गाउँपालिका–७ चिमखोलास्थित अमर माविका २२ विद्यार्थीलाई विद्यालय प्रशासनले निष्कासन गरेको छ ।
विद्यालयमा तालाबन्दी गदिरदिएपछि एसईई परिक्षाको तयारी गरेका १० कक्षामा अध्ययनरत २२ विद्यार्थी निष्कासित भएका हुन् । विद्यालय व्यवस्थापन समितिको आईतबार बसेको बैठकले कक्षा १० का २५ जनामध्ये आन्दोलनमा सहभागी २२ विद्यार्थीलाई एक महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको हो ।
विज्ञान र कम्प्युटर विषयका शिक्षकको ब्यवस्था गरी पाठ योजना अनुसार नियमित पठनपाठन गर्नुपर्ने माग सहित विद्यार्थीहरु भदौ २५ गतेदेखि आन्दोलनमा थिए । छलफलको माध्यमबाट समस्याको समाधान गर्नुपर्नेमा आधा शैक्षिक वर्ष सकिइसकेको अवस्थामा निलम्बन गरेर एसईई परिक्षाको तयारीमा रहेका विद्यार्थीप्रति विद्यालयले गैरजिम्मेवार ब्यवहार देखाएको अभिभावक रीम रोकाले गुनासो गरे ।
‘विद्यालयको एकलौटी निर्णयका कारण विद्यार्थीको बिचल्ली भएको छ’ रोकाले भने ‘पढ्न पाउने अधिकारबाट बञ्चित भएका छन् ।’ मावि तहका विज्ञान शिक्षक नभएकाले सो विषयको एउटा पनि पाठ पूरा नभएको विद्यार्थीले बताएका छन् । कम्प्युटर विषयका शिक्षक परिवर्तन भइरहँदा पठनपाठन प्रभावित बनेको छ ।
प्रअ पृथबहादुर थापाले विभिन्न चरणमा भएको छलफलका क्रममा बिना सुचना अराजक र अभद्र शैलीमा आन्दोलन गरिरहेका विद्यार्थी समझदारीमा नआएपछि बाध्य भएर निष्कासनको कारबाही गर्नुपरेको बताए ।
आफू बिदामा बसेको र निमित्त प्रअको अनुपस्थितिमा आन्दोलनरत विद्यार्थीले अन्य विद्यार्थीलाई बन्धक बनाएको, शिक्षकलाई अभद्र ब्यवहार गरेको, विद्यालयका पूर्वाधार तोडफोड गरेर क्षती पु¥याएको र अराजकता मच्चाएको प्रअ थापाको दावी छ । कक्षा १० सम्मको पठनपाठन हुने यस विद्यालयमा २ सय जना विद्यार्थी अध्ययनरत छन्।