किन समातिँदैनन् बंगलादेशीलार्इ नेपाल ल्याउने मानव तस्कर ?

किन समातिँदैनन् बंगलादेशीलार्इ नेपाल ल्याउने मानव तस्कर ?

काठमाडौं : मानव तस्करहरुले नेपालमा राम्रो काम र आकर्षक तलब पाउने प्रलोभन देखाएर बंगलादेशीहरूलाई काठमाडौं ल्याउने गरेको खुलासा भएको छ । यसरी बंगलादेशीलाई काठमाडौं ल्याउने गिरोह दुवै देशमा सक्रिय रहेको पनि खुलेको छ ।

प्रहरीले पक्राउ पर्नेहरूमाथि कुनै अनुसन्धान नगरी अध्यागमन विभागमा बुझाउने गरेको छ । अध्यागमनले सामान्य सोधपुछ र बयान मात्र लिएर डिपोर्ट गर्ने गरेको छ । तर त्यस्ता मानव तस्कर गिरोह पक्राउ गर्न नसक्दा दुवै देशका सुरक्षा निकाय र अध्यागमनकै संलग्नतामा मानव तस्करी भइरहेको आशंका उब्जिएको छ । मानव तस्करले जनही २–३ लाख नेपाली रुपैयाँ असुलेर बंगलादेशीहरूलाई काठमाडौं ल्याउने गरेका छन् । तस्करहरूले बंगलादेशीहरूको राहदानीलगायत अन्य कागजपत्र खोसेर लिने गरेका छन् ।

तस्करहरूले संगठित रूपमा भारतको कोलकाता हुँदै बंगलादेशीहरूलाई काठमाडौं ल्याउने गरेका छन् । उनीहरूसँग न राहदानी छ न नेपालको भिसा नै । राहदानी र भिसा नभएका उनीहरूका गतिविधि राष्ट्रिय सुरक्षामा कति संवेदनशील हुन सक्छ न सरकार न त सुरक्षा निकायले नै चासो दिएका छन् । प्रहरी र अध्यागमन दुवैले बंगलादेशीलगायत अवैध आप्रवासीका गतिविधि र उनीहरूको सम्पर्कसम्बन्धमा कुनै अनुसन्धान गरेका छैनन् । विदेशी नागरिक अनुगमन निर्देशिका लागू भए पनि गृह मन्त्रालयले उनीहरूका गतिविधि अनुगमन गरेको छैन ।

भने जस्तो काम नपाएपछि ठूलो संख्यामा बंगलादेशीहरू न्युरोड, ठमेल, गौशालालगायत क्षेत्रमा मजदुरी गर्दै आएका छन् । केही बंगलादेशी मजदुरीका लागि काठमाडौं उपत्यकाबाहिर समेत गएका छन् । कतिपयले नेपाली महिला विवाह गरेका छन् । अधिकांश बंगलादेशी नेपाली बोल्न सिकेका छन् । उनीहरूको वर्णसमेत नेपालीसँग मिल्दोजुल्दो भएकाले नेपालमा बस्न सहज भएको छ ।

त्यसमाथि नेपाली बोल्न सिकेपछि उनीहरूले तराईका जिल्लामा नक्कली बाबु खडा गरी नेपाली नागरिकता र राहदानी लिने गरेका छन् । त्यसपछि नेपाली राहदानीमा उनीहरूको गन्तव्य खाडी देशहरू हुने गरेको प्रहरीले जानकारी दिएको छ । मानव तस्करले नेपाली नजान्ने बंगलादेशीलाई समेत मोटो रकम असुलेर सेटिङ गरी नेपाली नागरिकता र राहदानी बनाइदिने गरेका छन् ।

प्रहरीले दुई वर्षअघि अवैध तरिकाले नेपालमा बसिरहेका झण्डै तीन दर्जन बंगलादेशी पक्रेको थियो । ती सबैलाई अध्यागमनले डिपोर्ट गरेको थियो । मानव तस्करहरूले नेपाल–भारत खुला सीमाको फाइदा उठाउँदै सीमा सुरक्षामा तैनाथ सुरक्षाकर्मीलाई प्रभावमा पारी उनीहरूलाई नेपाल ल्याएका थिए ।

सीमा सुरक्षामा तैनाथ सशस्त्र प्रहरी बलले समेत बंगलादेशीहरूको अवैध रूपमा नेपाल आउने क्रम रोक्न सकेको छैन ।

अवैध तरिकाले नेपाल छिरेका १० जना बंगलादेशी अहिले अध्यागमनको हिरासतमा छन् । उनीहरूबंगलादेशीमाथि अनुसन्धान थालेको छ । विभागले तीबाहेक एक जनालाई ‘ओभर स्टे’ बापतको रकम तिर्न नसकेपछि जेल पठाउने तयारी गरेको छ । उनीहरूले इस्माइल नुर नामका बंगलादेशीले नै आफूहरूलाई भारत हुँदै काठमाडौं ल्याएको बयान दिएका छन् । तर इस्माइलबारे उनीहरूले अन्य तथ्य केही बताएका छैनन् । बयानका क्रममा उनीहरूले इस्माइल अहिले आफ्नो सम्पर्कमा नरहेको भनेका छन् ।

अध्यागमन विभागको मुद्दा शाखाका अधिकृत चिरन्जीवी थापाले हिरासतमा रहेका बंगलादेशीमाथि अनुसन्धान भइरहेको जानकारी दिए । उनले भने, ‘उनीहरूले बंगलादेशी दलालले काठमाडौं ल्याएको बताए पनि ती व्यक्ति अहिले सम्पर्कमा नभएको बयान दिएका छन् ।’ उनीहरूसँग राहदानी नभएकाले विभागले काठमाडौंस्थित बंगलादेशी दूतावाससँग ट्राभल डकुमेन्टका लागि आग्रह गरेको छ । दूतावासले ट्राभल डकुमेन्ट दिएपछि विभागले उनीहरूलाई निष्कासन गर्ने छ । उपत्यकामा झण्डै ४ हजार बंगलादेशी अवैध बसोबास गरी काम गरिरहेका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.