सडकको विवादमा ससुरा बुहारीलाई दलियो कालोमोसो, ५ जना पक्राउ

सडकको विवादमा ससुरा बुहारीलाई दलियो कालोमोसो, ५ जना पक्राउ
सुन्नुहोस्

विराटनगर : सडक निर्माणका विषयमा विवाद हुँदा मोरङको बेलबारी नगरपालिका-११ लक्ष्मीमार्गमा एउटै परिवारका ससुरा बुहारीलाई कालो मोसो दलिएको छ। 

प्रहरीका अनुसार सुनसरीको धरान उपमहानगरपालिका-१२ घर भइ हाल बेलबारी-११ लक्ष्मीमार्गमा बस्दै आएका ७५ वर्षीय वृद्ध हरिबहादुर विष्ट र उनकी बुहारी ३७ वर्षीया सरस्वती बस्नेत (विष्ट)लाई मोसो दलिएको हो। मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीका अनुसार सुम्निमा चोकबाट जुरातर्फ जाने सडक निर्माणका क्रममा विवाद हुँदा कालो मोसो दलेर ससुरा बुहारीमाथि अमानवीय व्यवहार गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 

कोशी प्रदेश सरकारको बहुवर्षीय योजनाअन्तर्गत करिब साढे १२ किलोमिटर लम्बाइ र २४ फिट चौडाइको सडक निर्माण ३ वर्ष अघिबाट सुरु गरिएको थियो। विष्टको जग्गा हुँदै बाटो बन्ने क्रममा छ। आफ्नो दुवैतर्फको जग्गा बाटोले काट्ने भएपछि उनले विरोध गर्दै आएका छन्। जग्गा धनीसँगको विवादका कारण सडक निर्माणले गति लिन नसकेको स्थानीय बताउँछन्। उक्त सडक निर्माण तत्काललाई अघि नबढाउन र जग्गा धनीसँग सहमति गरेर मात्रै काम गर्न उच्च अदालत विराटनगरले वैशाख ६ गते आदेश दिएको थियो। 

उच्च अदालतको आदेशपछि जग्गा सम्बन्धी विवाद देखिएको क्षेत्रमा सडक निर्माणको काम रोकिएको छ। तर, अदालतले रोकेको सडक निर्माणको काम जबरजस्ती अघि बढाउन खोजेको भन्दै जग्गा धनी विष्टका परिवार विरोधमा उत्रिएका थिए। उनीहरुले तत्काललाई सडकको काम अघि नबढाउन आग्रह गरे। 

तर, अदालतले रोकेको भागलाई छाडेर सडकको काम अघि बढाइएको जानकारी ठेकेदार पक्षले प्रहरीलाई दिएको छ। ठेकेदारले अब काम नरोकिने भनेर सडक निर्माण अघि बढाएपछि विष्ट परिवार र स्थानीयबीच विवाद भएको प्रहरीले जनाएको छ। विवादकै क्रममा स्थानीयको भीडले गालीगलौज गर्दै लछारपछार पारेर विष्ट र उनकी बुहारीलाई शुक्रबार दिउँसो कालो मोसो दलेको प्रहरीको भनाइ छ। घटनाका बारेमा प्रहरीले साँझ ६:३० बजेतिर मात्रै जानकारी पाएको थियो। 

घटनामा संलग्न भएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। जग्गा धनी विष्टले आफूहरूलाई कालो मोसो दलेर अभद्र व्यवहार गरिएको भन्दै इलाका प्रहरी कार्यालय बेलबारीमा किटानी जाहेरी दिएका छन्। जाहेरीका आधारमा बेलबारी-११ का ४० वर्षीय माधव बास्तोला, ४२ वर्षीय नगेन्द्र मिश्र, ६२ वर्षीय मोहन घिमिरे, ३१ वर्षीया संगीता लुइँटेल र पुतली खवासलाई पक्राउ गरिएको एसपी कार्कीले बताए। घटनामा संलग्न भनिएकी एक जना महिला फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ। 

घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले अनुसन्धान अघि बढाएको छ। पक्राउ परेकाविरुद्ध अभद्र व्यवहार मुद्दा चलाउने प्रहरीको तयारी छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.