एकै पेसामा तीन पुस्ता
दमक : अहिले पेसा पुस्तान्तरण विरलै हुने गरेको छ। अग्रजले जे ग¥यो त्यो सीप पछिल्लो पुस्ताले कमै मात्र अँगाल्ने गरेको पाइन्छ। तर, झापाको दमकमा एक परिवार भने तीन पुस्ता सँगै बसेर परि श्रम गरिरहेको छ।
विराटनगर छाडेर २०२० सालमा दमक आउँदा दहाउर ठाकुरसँग २ रुपैयाँ ४५ पैसा पर्ने कैंची र ४५ पैसा पर्ने छुरा थियो। उनीसँग अहिले दमकजस्तो महँगो सहरमा १० धुर जमिन छ। उनले घर बनाउन तयारीसमेत गरेका छन्। यो उपलब्धिमा परि श्रम र नाई (कपाल काट्ने) पेसाको पुस्तान्तरण नै प्रमुख कारक रहेको ठाकुर बताउँछन्। उनका छोरा विनोद र नाति सन्तोष पनि अहिले यही पेसालाई निरन्तरता दिइरहेका छन्।
काठको पिराबाट सुरु गरेको यो पेसा अहिले दमक–६ मा संगम हेयर ड्रेसर सैलुनको नामले परिचित भइसकेको छ। ७१ वर्ष पुगेका दहाउर दमक आउँदा बस्ती बाक्लो पनि थिएन। दमकमा भएको विकास देखेर उनी छक्क पर्छन्। यससँगै कपाल काट्ने तरिका र शैलीमा पनि परिवर्तन भएको उनको भनाइ छ। ‘पहिला हाम्रा पालामा बंगला कट, ब्रस कट र इङ्लिस कट थियो’, उनी भन्छन्, ‘अहिले आएर के–के हो के–के ? कसैले रोनाल्डो त कसैले मग कट भन्छन्।’
पहिला कैंची र छुराबाहेक केही नहुने तर अहिले कपाल काट्ने मेसिनसमेत हुनाले धेरै सजिलो हुने गरेको उनको भनाइ छ। ‘विकास धेरै भयो, पेसा पनि व्यावसायिक पनि बन्दै गयो’, उनी भन्छन्, ‘अबका पुस्ताले हामीजस्तो दुःख गर्नुपर्दैन।’
उनका ४३ वर्षीय छोरा विनोद यो पेसामा परिवर्तन आएको बताउँछन्। अहिले यो सैलुनमा दैनिक २०–२५ जना कपाल काट्न आउँछन्। दिनको २ हजार रुपैयाँजति कमाइ हुने गरेको विनोद सुनाउँछन्। ‘बुवा त अहिलेको परिवेशमा चल्न गाह्रो छ’, उनी भन्छन्, ‘कतिपय हेयर स्टाइल उहाँलाई थाहा छैन तापनि सामान्य कपाल काट्ने गर्नुहुन्छ। बसेर खाने उमेरमा पनि सैलुनमा सहयोग गरिरहनुभएको छ।’
२३ वर्षका सन्तोष भने अहिलेको पुस्ताका लागि सुहाउने कपाल काट्छन्। व्यावसायिक तालिम नलिए पनि कपाल काट्ने नयाँ–नयाँ प्रविधि र स्टाइलबारे जानकारी रहेको उनी सुनाउँछन्। उनका अनुसार अहिले दमकमा चलेको हेयर स्टाइलमा हाफ स्टेप, मग, रोनाल्डो तथा सेग्गीलगायत छन्। उनी कपाल काटेरै जीवन धान्न सकिनेमा ढुक्कसमेत देखिएका छन्। ‘साथीभाइ विदेश गएर पैसा कमाएको देख्दा कहिलेकाहीं त विदेश जाऊँजस्तो लाग्छ तर नील डेभिडलाई सम्झिन्छु’, उनी भन्छन्, ‘यो पेसाले पनि त संसार चिनाउँदो रहेछ।’
दहाउर भने सन्तानले यही पेसा अँगालेकामा खुसी छन्। ‘मेरा पालामा कपाल काट्नेलाई ज्यादै हेपिन्थ्यो तर अहिले यो पेसामा सबैले सम्मान नै गर्छन्’, उनी भन्छन्। यही पेसाबाट ठाकुरको आठ जनाको परिवार चलिरहेको छ।