झापाका नदीमा चीनले तटबन्ध बनाइदिने

झापाका नदीमा चीनले तटबन्ध बनाइदिने

बिर्तामोड : झापाका नौ नदीमा चीनले निर्माण गरिदिने तटबन्धका लागि ढुंगा, माटोलगायत आवश्यक सामग्री पहाडी क्षेत्रबाट ल्याउनुपर्ने माग उठेको छ।

स्थानीय नदी आसपास रहेका ढुंगा, माटोले नपुग्ने र भएका पनि गुणस्तरीय नहुने भएकाले पहाडी क्षेत्रबाटै ल्याइनुपर्ने चिनियाँ पक्षले जनाएको छ। ‘चिनियाँ मापदण्डबमोजिमको कच्चा पदार्थ झापामा नपाइने सम्भावना बढी देखियो’, जिसस प्रमुख सोमनाथ पोर्तेलले भने, ‘हामीले चिनियाँ टोलीसँग गरेको छलफलमा माग र आवश्यकता सुन्दा ती कच्चा पदार्थ नजिकैका पहाडी क्षेत्रबाट ल्याउनुपर्ने देखिएको छ।’ उनका अनुसार चिनियाँ मापदण्डअनुसार तटबन्ध निर्माणका लागि ढुंगा, माटो र अन्य कच्चा पदार्थ धेरै मात्रामा चाहिन्छ।

प्रधानमन्त्री केपी ओलीले चीनको ६ दिने औपचारिक भ्रमणका बेला गत असार ५ गते चीन सरकारसँग गरेको सम्झौताबमोजिम प्राविधिक टोलीले गत साउनमा झापाका नौ नदीको अध्ययन गरेको थियो। अहिले दोस्रो टोली ती नदीको माटो परीक्षणका लागि झापा आएको छ। चार सदस्य सम्मिलित टोलीले पहिलो चरणमा झापाका नौमध्ये पाँच नदीको माटो परीक्षण गर्न काठमाडौं लैजाने जिसस प्रमुख पोर्तेलले बताए।

‘साउनमा नौ वटा नदीको अध्ययन गरेको टोली अहिले माटो परीक्षण गर्न आएको हो’, उनले भने, ‘पहिलो चरणमा पाँचवटा नदीको माटो लगेर परीक्षण गर्ने उनीहरूको भनाइ छ।’

रतुवा, मावा, किस्ने, माई र बिरिङ गरी पाँच नदीको माटो परीक्षण गरिने भएको हो। चिनियाँ टोलीले सोमबारदेखि शुक्रबारसम्म पाँचवटा नदीको माटो संकलन गर्ने भएको छ। चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीको टोलीले आइतबार जिसस प्रमुख, नदीप्रभावित क्षेत्रका जनप्रतिनिधि र जनताको तटबन्ध कार्यक्रमका कर्मचारी, इन्जिनियरसँग माटो संकलन र कच्चा पदार्थ कसरी उपलब्ध गराउने भन्ने विषयमा छलफल गरेको थियो। छलफलमा कम्पनीका भ्mयाङ चेङ्झी, वाङ लेई, लिउ हाङक्यु सहभागी थिए। चिनियाँ टोलीले तटबन्ध निर्माणका लागि आवश्यक कच्चा पदार्थको मात्रा र तटबन्धनको गुणस्तरका विषयमा नेपाली टोलीलाई जानकारी दिएको थियो।

चिनियाँ पक्षको मागअनुसार आवश्यक सामग्री पहाडी क्षेत्रबाटै ल्याउनुपर्ने देखिएको जनताको तटबन्ध कार्यक्रमको फिल्ड कार्यालय १ गैडेका इन्जिनियर यादव झाले बताए। ‘अहिले उहाँहरूले पाँच किलोदेखि ३० किलोसम्म माटोको नमुना परीक्षणका लागि लैजाने भन्नुभएको छ’, इन्जिनियर यादवले भने, ‘नदी क्षेत्रमा पाइने माटोदेखि आसपास पाइने कच्चा पदार्थ पनि परीक्षणका लागि लैजाने तयारी चिनियाँ टोलीको छ।’

एउटै नदीमा एकदेखि तीनवटासम्म बिन्दु बनाएर माटो संकलन गरिने भएकाले माटो परीक्षणका लागि नमुना संकलन गर्न पाँच दिन लाग्ने उनको भनाइ छ। माटो परीक्षण काठमाडौंमा गरिने र रिपोर्ट सरकारलाई बुझाएर सोहीअनुरुप तटबन्ध निर्माणको काम सुरु गर्ने जनाइएको छ।

चिनियाँ प्रतिनिधि झ्याङ चेङझीका अनुसार झापाका नौ नदीमा बन्न लागेको तटबन्ध अन्तर्राष्ट्रिय गुणस्तरको हुनेछ। ‘हामी एउटा मापदण्डमा काम गर्छौं, चाहिने निर्माण सामग्रीका विषयमा जनप्रतिनिधि र कर्मचारीलाई भनेका छौं’, उनले भने, ‘माटो परीक्षण रिपोर्ट आएपछि अझै विस्तृतमा छलफल होला।’ माटो परीक्षण गर्दा बाढी आउँदा कति खियाउन वा खोतल्न सक्छ भन्ने थाहा हुने कम्पनीका प्रतिनिधि वाङ लेईले बताए।

टोलीले नेपाल–भारत सीमावर्ती मेचीबाहेक निन्दा, हडिया, बिरिङ, माई, कमल, किस्ने, रतुवा, मावा र सतासी नदीको वस्तुस्थितिबारे अध्ययन गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.