ज्येष्ठ नागरिक दिवसकै दिन ७४ वर्षीया वृद्धा बलात्कृत
डोटी : डोटीमा ७४ वर्षीया बृद्धा बलात्कृत भएकी छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार सोमबार बड्डीकेदार गाउँपालिका–३ की ७४ वर्षीया बृद्धालाई, छिमेकी गाउँ जाने क्रममा बोगटान गाउँपालिका–१ सिमचौर घर भएका २२ वर्षका एकेन्द्र धामीले बलात्कार गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक ध्रुव विष्टका अनुसार बलात्कार गर्ने व्यक्ति पक्राउ परिसकेका छन् । घटना ज्येष्ठ नागरिक दिवसकै दिन भएको थियो । पीडित महिला चिच्याएको आवाज सुनेपछि घटनास्थलमा गएका स्थानीयले एकेन्द्रलाई नियन्त्रणमा लिइ प्रहरीलाई बुझाएका थिए ।
बलात्कारको आरोप लागेका धामी अहिले प्रहरी हिरासतमा छन् । उनीबिरुद्ध जवरजस्तीकरणी मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक ध्रुव बिष्टले जानकारी दिए ।
डोटीमामा पछिल्लो समय लगातार बलात्कारका घटना सार्वजनिक भइरहेका छन् । साउनयता पाँचवटा बलात्कारका घटना भएका छन् । तिनमा दुई बालिका, एक महिला, एक ज्येष्ठ नागरिक र एक अपाङ्ग रहेका छन् ।