कुचो बोकेर महेन्द्रनगरमा महिलाहरुको प्रदर्शन
महेन्द्रनगर : बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पक्राउ गर्न माग राखेर मंगलबार महेन्द्रनगरमा हात–हातमा कुचो समातेर महिलाहरुले प्रदर्शन गरेका छन् ।
दबावमुलक संघर्ष समितिको अगुवाईमा महिलाहरुले हातमा कुचो समातेर महेन्द्रनगर बजारमा प्रदर्शन गरेका हुन् । काठमाण्डौबाट आएकी अभियन्ता सावित्री सुवेदीसहितको सहभागीतामा महिलाहरुले प्रदर्शन गरेका हुन् ।
बजार क्षेत्रका विभिन्न स्थानमा प्रदर्शन गरेका महिलाहरुले जिल्ला प्रशासनको मुल गेटमा पुगेर केहीबेर प्रदर्शन गरे । उनीहरुले निर्मला पन्तको बलात्कार र हत्याका अपराधि पक्राउ नपरेसम्म आफूहरुको आन्दोलन जारी रहने बताए ।
बुधवार सुदूरपश्चिम प्रदेश सरकार कार्यालयमा घेराउ र मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको दबावमुलक संघर्ष समितिका संयोजक हेलेन श्रेष्ठले बताइन् । दबावमुलक संघर्ष समितिले घटना भएदेखि नै चरणबद्ध रुपमा विभिन्न आन्दोलनका कार्यक्रमहरु गर्दै आइरहेको छ ।
नेविसंघको बन्द फिर्ता
यसैबीच नेपाल विद्यार्थी संघले गरेको एकदिने कञ्चनपुर बन्द खुलेको छ । बन्द खुलेसंगै बजार व्यवसाय साँझपख खुलेको छ ।
बिहानैदेखि बन्द रहेको यातायात सेवा समेत सुचारु भएको छ । दिनभर यातायात सञ्चालन नहुँदा बसपार्कमा अलपत्र परेका यात्रु आफ्नो गन्तव्यतर्फ लागेका छन् ।