कञ्चनपुर फेरि आन्दोलित

कञ्चनपुर फेरि आन्दोलित

 महेन्द्रनगर : १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको १० हप्ता भइसक्यो। तर दोषी अझै पत्ता लागेको छैन। हत्यारा फेला पार्न सरकार असफल भएको भन्दै कञ्चनपुरका सर्वसाधारणले फेरि आन्दोलन थालेका छन्।

घटनाका आरोपी निलम्बित एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र अर्का स्थानीय आयुष विष्टको डीएनए नतिजा नेगेटिभ आएपछि हत्या झनै रहस्यमय बन्दै गएको छ। उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन पनि सरकारले सार्वजनिक गरेको छैन।

नागरिक संघर्ष समिति कञ्चनपुरले मंगलबार हत्यारा पक्राउ गरी कारबाही माग गर्न दिनभरि धर्ना दिएको छ। यस्तै दबाबमूलक संघर्ष समितिले समेत आन्दोलनका जारी राखेको छ।

समिति संयोजक हेलेन श्रेष्ठले बुधबार सुदूरपश्चिम प्रदेश सरकार कार्यालय घेराउ गरी मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय भएको जानकारी दिइन्।

मंगलबार कांग्रेस भ्रातृसंस्था नेविसंघले हत्यारालाई पक्राउ गरी कारबाही गर्न कञ्चनपुर बन्द गरायो। संघका कार्यकर्ताले जिल्ला सरकारी वकिल कार्यालय तोडफोड गर्नुका साथै कर्मचारीमाथि हातपात गरेका छन्।

वकिल कार्यालयका ४ कर्मचारीमाथि हातपात भएको हो।

तोडफोड गरेको भिडियो खिचिरहेका स्थानीय एसटीएस टेलिभिजनका संवाददाता चन्द्रकान्त जोशीमाथि पनि आन्दोलनकारीले आक्रमण गरेका छन्। आन्दोलनकारीले उनको क्यामरा फुटाइदिएका छन्। आन्दोलनकारीले पार्किङ गरी राखिएको कार्यालयको बा २ झ २७१५ नम्बरको कारको सिसा फोड्नुका साथै कार्यालयका फर्निचर, कम्प्युटर, प्रिन्टरलगायत सामान तोडफोड गरेका जिल्ला न्यायाधिवक्ता खेमराज भट्टले जानकारी दिए।

‘एक हुल आएर अन्धाधुन्ध तोडफोड गरे’, उनले भने, ‘कर्मचारीमाथि समेत हातपात गरे।’ जिल्ला न्यायाधिवक्ता भट्टले कार्यालयका नायबसुब्बा एवं सूचना अधिकारी कृष्णप्रसाद भट्ट, कम्प्युटर अपरेटर मञ्जु भट्ट, कार्यालय सहयोगी धनविरसिंह भाट र कार्यालयका सवारीचालक यज्ञराज जोशीमाथि हातपात भएको जानकारी दिए। उनीहरू यातायात, नापी, मालपोतलगायत कार्यालय बन्द गराएपछि सरकारी वकिलको कार्यालय पुगेका थिए।

कार्यालय तोडफोड र कर्मचारीमाथि हातपात भएपछि जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला प्रशासनसँग सुरक्षा माग गरेको थियो।

‘आन्दोलनका क्रममा पटकपटक कार्यालय तोडफोड र कर्मचारीमाथि हातपात भएपछि सुरक्षा व्यवस्था माग गरेका हौं’, जिल्ला न्यायाधिवक्ता भट्टले भने, ‘तोडफोड र हातपात गर्ने आन्दोलनकारीको पहिचान गरी कारबाही र क्षतिपूर्तिका लागि प्रहरीमा जाहेरी दिने तयारीमा छौं।’

तर, बन्दकर्ता नेविसंघले भने तोडफोड र हातपात नगरेको दाबी गरेको छ। ‘हाम्रा कार्यकर्ताले तोडफोड र कर्मचारीमाथि हातपात गरेका छैनन्’, नेविसंघ केन्द्रीय सदस्य कैलाश चन्दले भने।

नेविसंघ निर्मलाका हत्यारा पक्राउ गर्नुपर्ने, अनुसन्धानका क्रममा प्रमाण मेटाउने प्रहरी अधिकृतलाई कारबाही हुनुपर्ने, उच्चस्तरीय छानबिन समितिले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्नुपर्नेलगायत माग राखेको थियो।

बन्दका कारण मंगलबार दिनभर कञ्चनपुर जिल्लाको जनजीवन प्रभावित भयो। बजार, व्यवसाय, यातायात, कलकारखाना, उद्योगधन्दा, शिक्षणसंस्था बिहानैदेखि बन्द रहे। यातायात बन्दले पश्चिमी नाका गड्डाचौकी हुँदै महेन्द्रनगर पुगेका यात्रु दिनभर बसपार्कमा अलपत्र परेका थिए।

बन्दकर्ताले मंगलबार दिनभरि महेन्द्रनगरका ठाउँठाउँका चोकमा टायर बालेर प्रदर्शन गरे। सोमबार नेविसंघले जिल्लाका शैक्षिक संस्थाहरू समेत बन्द गराएका थिए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.