अस्पतालजन्य फोहोर व्यवस्थापन जटिल
भरतपुर : मेडिकल सिटीका रूपमा विकास भइरहेको चितवनमा अस्पतालजन्य फोहोर व्यवस्थापनतर्फ कसैको ध्यान पुगेको छैन। अहिलेसम्म जिल्लाका सबैजसो अस्पतालबाट निस्कने फोहोरको उचित व्यवस्थापन नहुँदा यसले भयावह रूप लिन सक्ने खतरा पनि उत्तिकै बढेको छ। मंगलबार जिल्ला प्रशासन कार्यालय चितवनले गरेको अनुगमनका क्रममा कुनै पनि अस्पतालले फोहोर व्यवस्थापनमा ध्यान नदिइएको नभेटिएको हो।
‘खासगरी क्यान्सरका बिरामीलाई प्रयोग गरिने केमोजन्य फोहोर व्यवस्थापनबारे अनुगमन गर्दा महानगरको ट्याक्टरमा हालेर सरासर पठाउने गरेको भेटियो’, जिल्ला प्रशासन कार्यालय चितवनका नायब सुब्बा श्यामसुन्दर ढकालले भने, ‘यस विषयमा सम्बन्धित निकायले पनि खासै ध्यान दिइएको पाइएन।’ उनका अनुसार, हरेक अस्पतालले उत्पादन गर्ने फोहोरको व्यवस्थापन आफैंले गर्नुपर्ने हो तर हरेक दिन महानगरको ट्याक्टरमै हालेर पठाउँदा त्यसले वातावरणीय प्रभावसँगै मानव जीवनमै दीर्घकालीन असर पारिरहेको छ।
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले भने केमोजन्य फोहोर व्यवस्थापन अस्पतालले नै गर्दै आएको छ। अस्पतालले इन्सिनेटर (केमोजन्य फोहोरलाई बन्द भाँडोमा जलाएर नष्ट गरिने प्रविधि) मार्फत व्यवस्थापन गर्दै आइरहेको अस्पतालका कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यले जानकारी दिए।
‘केमोलाई विशेष तरिकाले तालिमप्राप्त व्यक्तिहरूबाट बायोसेफ्टी क्याबिनेट मार्फत औषधि घोलेर दिइन्छ’, उनले भने, ‘केमो दिइसकेपछि निस्कने फोहोरलाई बन्द बोतलमा राखेर प्रविधिमार्फत नष्ट गर्नुपर्छ। हामीले इन्सिनेटर प्रविधिमार्फत यसको व्यवस्थापन गर्दै आइरहेका छौं।’
पछिल्लो समय प्रविधिको विकास भइसकेकाले यसको व्यवस्थापन गर्न खासै गाह्रो नहुने उनले बताए। ‘अटो क्लेभ, हाइड्रो क्लेभ, माइक्रो क्लेभ लगायतका प्रविधि आइसकेका छन्’, उनले भने, ‘यी प्रविधि चाहेमा सबै अस्पतालले राख्न सक्छन्।’ नयाँ नयाँ प्रविधि आइसकेकाले भित्र्याउने प्रकृया चलिरहेको अस्पतालले जनाएको छ। अहिले अस्पतालले पूरानै प्रविधि मार्फत केमोजन्य फोहोर व्यवस्थापन गर्दै आइरहेको छ। केमो दिइएका बोतलहरूबाट वातावरणीय असर पर्न सक्ने भएकाले ती बोतलहरूलाई पूर्णरूपमै नष्ट गर्नुपर्ने उनले बताए।
‘केमिकल न हो, जथाभावी फाल्दा वातावरणीय प्रभाव त यसै पनि परिहाल्छ’, आचार्यले भने, ‘माटो र पानीमार्फत मानव जीवनमै दीर्घकालीन असर पर्न सक्छ।’ जिल्ला प्रशासन कार्यालय चितवनले भने यस विषयमा सम्बन्धित अस्पताल तथा सरोकारवाला निकायसँग छलफल गरी अगाडि बढ्ने जनाएको छ। ‘निजी अस्पतालहरूले किन यस्तो गर्यो भन्ने विषयमा म कार्यालयमै बोलाएर छलफल गर्छु’, प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले भने।
भरतपुर महानगरपालिकाले पनि अस्पतालजन्य फोहोर व्यवस्थापनमा ठूलो समस्या रहेको बताएको छ। स्थानीय सरकार आएदेखि नै यसबारे पटक पटक छलफल भए पनि बजेट अभावले गर्दा कामै गर्न नसकिएको महानगरकी मेयर रेनु दाहालले बताइन्। ‘अस्पतालजन्य फोहोर व्यवस्थापनका लागि सहरी विकास मन्त्रालयसँग बजेट माग गरेका छौं’, उनले भनिन्, ‘महानगरले नीतिगत निर्णय गरिसकेकाले बजेट आएमा काम गर्न कुनै समस्या छैन।’