विधान मस्यौदालाई अन्तिम रूप दिइँदै
काठमाडौं : कांग्रेस विधान समितिले सबै प्रदेशबाट संकलित सुझावलाई समेटेर बिहीबारदेखि विधान मस्यौदालाई अन्तिम रूप दिँदै छ। असोज ८ देखि १३ गतेसम्म समितिले आयोजना गरेको प्रदेशस्तरीय छलफलपछि समितिका सदस्यले संयोजक पूर्णबहादुर खड्कालाई संकलित सुझाव बुझाएका छन्। समितिले बिहीबार दिउँसो १ बजेको बैठकबाट एकीकृत विधानलाई अन्तिम रूप दिँदै छ।
‘सबै प्रदेशबाट संकलित सुझाव बुधबारसम्म काठमाडौं आइसकेकाले बिहीबारबाट दफावार छलफल हुन्छ। संकलित सुझावमाथि एक पटक दफावार छलफल गरिने र त्यसपछि प्रारम्भिक विधानलाई अन्तिम रूप दिने समितिको तयारी छ’, संयोजक खड्काले भने। समितिले काठमाडौंस्थित केन्द्रीय कार्यालय, इलाम, वीरेन्द्रनगर, धनगढी, जनकपुर, भैरहवा, पोखरा, धुलिखेल, विराटनगर, वीरगन्ज, बागलुङ र घोराहीमा सुझाव संकलन कार्यकम गरेको थियो।
सभापतिलाई बलियो बनाउने गरी विधानको प्रारम्भिक मस्यौदा बनाएको भन्दै पार्टीभित्रै सभापति देउवाइतर समूहका नेता असन्तुष्ट छन्। यद्यपि उनीहरूले अहिलेको मस्यौदा नै अन्तिम नभएको भन्दै समितिले अन्तिम मस्यौदामा सक्रियतापूर्वक लाग्ने दाबी गरेका छन्।
बुधबार मात्रै वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका देउवाइतर समूहका नेता अनौपचारिक बैठक बसेका छन्। उनीहरूले सभापतिलाई बलियो बनाउने गरी विधान बनाउन नहुने निष्कर्ष निकालेका हुन्। विधान समितिले बिहीबारदेखि गर्ने बैठकमा समेत आफ्नो पक्षका सदस्यको प्रस्तुति कसरी गराउनेबारे उनीहरूले छलफल गरेका थिए।
सभापतिलाई बलियो बनाउने गरी विधानको प्रारम्भिक मस्यौदा बनाएको भन्दै पार्टीभित्रै सभापति देउवाइतर समूहका नेता असन्तुष्ट छन्।
समिति सदस्यसमेत रहेका नेता प्रदीप पौडेलले अन्तिम मस्यौदाको तयारी पहिलाको जस्तो नभएको दाबी गरे। बुधबार वरिष्ठ नेता पौडेलसहितको छलफलमा समेत सहभागी उनले भने, ‘प्रारम्भिक मस्यौदा लेखिँदै गर्दा आएका सबै विचारलाई मस्यौदामै उल्लेख गरियो। अब हामीले विकल्प दिन मिल्दैन।’
तिहारअघि नै पार्टीको केन्द्रीय समितिलाई विधानको अन्तिम मस्यौदा बनाएर बुझाउने तयारी छ। विद्यधान समितिले विधानको मस्यौदा पार्टीको केन्द्रीय समितिमा प्रस्तुत गर्नुपर्ने प्रावधान छ। केन्द्रीय समितिले त्यसलाई अनुमोदन गरेर महासमिति भेलामा प्रस्तुत गर्नुपर्छ। कांग्रेसले मंसिर ५ देखि ९ सम्म काठमाडौंमा महासमिति भेला गर्दै छ।
शुक्रबार कांग्रेस बैठक
कांग्रेस केन्द्रीय कार्यसमितीको बैठक आउँदो शुक्रबार दिउँसो १ बजे बस्ने भएको छ। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै शुक्रबारको बैठकमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य र आमन्त्रीत सदस्यहरूलाई केन्द्रीय कार्यालयमा अनिवार्य उपस्थित हुन आग्रह गरेका छन्।
यसअघि भदौ अन्तिम साता सभापति शेरबहादर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच कार्यसम्पादन समिति, अनुशासन समितिलगायत विषयमा सहमति नभएपछि कांग्रेसको बैठक सूचनासमेत जारी नगरी स्थगन भएको थियो। शुक्रबारको बैठकमा सभापति देउवाले कार्यसम्पादन र अनुशासन समिति गठनको प्रस्ताव लैजाने तयारी गरेको उनीनिकट नेताले बताएका छन्।
प्रतिक्रिया दिनुहोस !