निर्मला हत्या प्रकरण : मुख्यमन्त्री कार्यालयमा प्रदर्शन
महेन्द्रनगर : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै अधिकारकर्मीले मुख्यमन्त्री कार्यालयबाहिर बुधबार प्रदर्शन गरेका छन् । निर्मलाको बलात्कार र हत्या घटनाको ७० दिन बितिसक्दासमेत हत्यारा पक्राउ नपरेको भन्दै सत्यतथ्य बाहिर ल्याउन माग राखेर आन्दोलन गरिरहेको दबाबमूलक संघर्ष समितिले मुख्यमन्त्री कार्यालयबाहिर प्रदर्शन गरेका हुन् ।
अधिकारकर्मी महिलाले धनगढीस्थित ट्राफिक चोकबाट बुधबार नाराजुलुससहित ¥याली निकालेका हुन् । दबाबमूलक संघर्ष समितिले घटनाको सत्यतथ्य छानबिन गरी यथाशीघ्र अपराधीलाई पक्राउ गर्न माग गरेको छ । उच्चस्तरीय छानबिन समितिले बुझाएको प्रतिवेदन सार्वजनिक हुनुपर्ने, डीएनए परीक्षणको रिपोर्ट भरपर्दो हुनुपर्ने, घाइते तथा पीडितको उपचार तथा जीविकोपार्जनको व्यवस्था हुनुपर्नेलगायत माग राखेर मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको संयोजक हेलेन श्रेष्ठले बताइन् ।
यसैबीच, नागरिक समाज कञ्चनपुरको अगुवाइमा बुधबार बसेको सर्वपक्षीय बैठकले हत्यारा पत्ता नलागेसम्म शान्तिपूर्ण आन्दोलनका कार्यक्रम जारी राख्ने निर्णय गरेको छ । राजनीतिक दलका प्रतिनिधि सहभागीसहित बसेको बैठकले न्यायका लागि अदालतको समेत ढोका ढक्ढक्याउने निर्णय गरेको छ । ‘निर्मला पन्त हत्या प्रकरणका प्रमाण नष्ट गर्ने, आदेशबिना गोली चलाउने प्रहरीलाई कारबाही गरिनुपर्ने माग भएको छ’, बैठकका निर्णयबारे जानकारी दिँदै नागरिक समाजका संयोजक भवराज रेग्मीले भने, ‘अपराधी पत्ता नलागेसम्म निरन्तर आन्दोलन जारी रहनेछ ।’
उता, हत्यारा सार्वजनिक गर्न माग राख्दै मंगलबार घोषित कञ्चनपुर बन्दका क्रममा नेविसंघका बन्दकर्ताले पत्रकार चन्द्रकान्त जोशीमाथि गरेको कुटपिटप्रति माफी मागेको छ । कांग्रेस पार्टी कार्यालय महेन्द्रनगरमा नेविसंघका नेताले बुधबार पत्रकार सम्मेलन गर्दै बन्दका बेला पत्रकार जोशीमाथि भएको घटनाको माफी मागेका हुन् । नेविसंघका केन्द्रीय सह–महामन्त्री अच्युुतराज कलौनीले पत्रकार जोशीप्रति भएको घटना र क्यामेरा तोडफोडको विषयमा आत्मालोचित भएको बताए ।
यसैबीच, विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र सहितका नेताले बुधबार नै निर्मला पन्तका परिवारसित भेट गरी हत्यारा पत्ता लगाउन र उनलाई न्याय दिन आफूहरूसमेत लाग्ने बताए । उनीहरूले न्यायको आन्दोलनमा आफ्नो पार्टीको समेत ऐक्यबद्धता रहेको भन्दै सरकारलाई दबाव सिर्जना गर्ने बताए ।