रोकिएन मदिरा अायात

रोकिएन मदिरा अायात

बिर्तामोड : प्रहरीले आइतबार बिहान इलामको सूर्योदय नगरपालिका तीनघरेबाट ३६ बोतल सिक्किमे मक्स नामक मदिरा बरामद गर्‍यो । बिर्तामोडबाट इलाम जाँदै गरेको बोलेरो जिपमा सुरक्षा जाँच गर्दा मदिरा भएको हो ।  सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय झापाको टोलीले केही महिनाअघि पूर्व–पश्चिम राजमार्गअन्तर्गत चारआली सडकखण्डबाट यही मदिरा ३० बोतल बरामद गरेको थियो । उक्त मदिरा पशुपतिनगरबाट आएको बस जाँच गर्दा दुई वटा बोरामा प्याक गरिएको अवस्थामा बरामद भएको प्रहरीले जनाएको छ ।

भारतसँग सिमाना जोडिएका पूर्वी जिल्लाबाट प्रहरीले बर्सेनि यो मदिरा बरामद गर्दै आएको छ । तर, ताप्लेजुङ, पाँचथर, इलाम र झापाका खुला सिमानाबाट यो मदिरा भित्रिने क्रम भने अझै रोकिएको छैन । चाडपर्वका बेला यो मदिरा भित्रिने क्रम अन्य समयको तुलनामा दोब्बरले बढ्ने जनाइएको छ ।

सानो परिमाणमा प्रहरीले बरामद गरे पनि भित्री सडक र पैदल दैनिक ठूलो परिमाणमा भित्रिरहेको पाइएको छ । प्रहरीले हालसम्म मेची राजमार्ग र पूर्व–पश्चिम राजमार्ग क्षेत्रबाट मदिरा बरामद गर्दै आएको छ । तर, ताप्लेजुङको कालिखोला, पाँचथरका च्याङ्थापु, फलैंचा, इलामको सूर्योदय, झापाको काँकडभिट्टाबाहेक स्थानबाट दैनिक ठूलो परिमाणमा भारतीय ब्रान्डका मदिरा भित्रिरहेको स्थानीयको दाबी छ । ‘च्याङ्थापु, फलैंचाबाट दैनिक ठूलो परिमाणमा सिक्किमे रक्सी नेपाल भित्रिन्छ’, फलैंचाका रुद्र पौडेलले भने, ‘यो क्षेत्रमा प्रहरी–प्रशासनको सशक्त उपस्थिति पनि छैन, त्यहाँबाट भित्रिएको यस्तो मदिरा नेपालका विभिन्न जिल्लासम्म पुर्‍याउने गरेको देखिन्छ ।’

कालिखोलाका युवराज राईका अनुसार सिमानापारि गए सस्तोमा सिक्किमे रक्सी पाइन्छ । ‘नेपालमा यो ब्रान्डको रक्सी भेटिँदैन’, उनले भने, ‘राम्रो हुन्छ भनेर सबैले ल्याउँछन्, सीमा क्षेत्रका घर–घरमा पाइन्छ ।’ भारतमा सस्तो पाइने यस्ता मदिरा नेपाल ल्याए धेरै मूल्यमा बिक्री हुने गर्छ । राईका अनुसार झापाका बिर्तामोड, दमक, भद्रपुरसँगै इलाम, पाँचथर र ताप्लेजुङका ठूला होटलबाट सिक्किमे मदिराको माग आउने गरेको छ ।

सिमाना क्षेत्रमा रहेका व्यापारी र स्थानीयले भारतीय बजारबाट यो मदिरा अवैध रूपमा भिœयाउने र होटलसम्म लगेर महँगोमा बिक्री गर्ने गरेका छन् । साना सवारी साधनले पनि लुकाएर मदिरा भिœयाउने गरेको अवस्थामा प्रहरीले बेलाबखत बरामद गर्ने गरेको जनाइएको छ ।

दसैँ‌, तिहारमा मदिरा भित्र्याउने गिरोह सक्रिय हुने गरेको प्रहरी दाबी छ । प्रहरीले बरामद गरे पनि मदिरा भित्र्याउने व्यक्ति भने पक्राउ परेका छैनन् । प्रहरीकै मिलेमतोमा पनि यस्ता मदिरा नेपाली बजारमा पुग्ने गरेको आरोपसमेत लाग्ने गरेको छ । दुई वर्षअघि ताप्लेजुङको मेवाखा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक इन्द्र भट्टराईको मिलेमतोमा मदिरा निकासी भएको घटना सार्वजनिक भएको थियो ।

‘प्रहरीले कडाइ गर्नुपर्ने हो’, ताप्लेजुङ दोखुका शिक्षक नरनाथ भट्टराईले भने, ‘गाउँ–गाउँमा सिक्किमे रक्सी भित्रिएको छ । अहिले त ओसारपसारमा अभिभावकले बालकालिकालाई पनि लगाउन थालेको पाइन्छ । यसले बालकालिकालाई सानै उमेरदेखि कुबाटोमा दौडाएको छ ।’ यो मदिरा व्यापारीले लुकाईछिपाई प्रतिबोतल ७ सयदेखि १ हजार २ सय रुपैयाँसम्ममा बिक्री गर्ने गरेका छन् । इलाम र झापाको मुख्य बजारका ठुला होटलमा २ हजार रुपैयाँ बोतलसम्म पनि बिक्री भइरहेको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.