दाङबाट पाँच सय खसी-बोका उपत्यका भित्रिदै
तुलसीपुर : नेपाल खाद्य संस्थान अञ्चल कार्यालय तुलसीपुर दाङले दसैंका लागि पाँच सय खसी-बोका खरिद गर्ने भएको छ। उपभोक्ताको सुलभता र सहजताका लागि ५ सय खसी-बोका खरिद गर्न लागिएको खाद्य संस्थान तुलसीपुरले जनाएको छ। जसका लागि कार्यालयले ५० लाख रुपैयाँ बजेट विनियोजन समेत गरिसकेको छ।
दसैं लक्षित गरी जिल्लामा खसी-बोका खरिद गरेर काठमाडौं पठाउने तयारी भएको खाद्य संस्थान अञ्चल कार्यालयका निमित्त कार्यालय प्रमुख कृष्णप्रसाद चौधरीले बताए। दसैंमा खाद्य संस्थानले विभिन्न जिल्लाबाट खसी-बोका खरिद गरी काठमाडौं ल्याइ बिक्री गर्ने परम्परालाई यस वर्ष पनि निरन्तरता दिँदै दाङबाट पनि खरिद गर्ने निर्देशन आएको चौधरीले बताए। '५ सयसम्म खसी-बोका खरिद गर्ने कोटा निर्धारण भएको छ', निमित्त प्रमुख चौधरीले भने, 'असोज २४ देखि २६ सम्म कार्यालयमै खसी र बोका गरिद गरिनेछन्।'
जिल्लामा किनेका पाँच सय खसी-बोका काठमाडौँ पठाइने चौधरीले जानकारी दिए। खसी-बोका उपलब्धताका लागि संस्थानको केन्द्रीय कार्यालयले निर्देशन दिएपछि तुलसीपुरले पनि खरिद गर्न लागेको निमत्त कार्यालय प्रमुख चौधरीको भनाइ छ।
त्यहाँबाट उपभोक्ताले बजार मुल्यभन्दा सहुलियतमा किन्न पाउछन्। दाङबाट गत वर्ष ४ सय खसी-बोका खरिद गरी काठमाडौ पठाएको थियो। यस वर्ष ५ सय खसी-बोका पठाउन लागेको छ।
गतवर्ष खसी ३ सय ८५ र बोका ३ सय ६५ रुपैयाँ जिउँदो प्रतिकेजी खरिद गरेकोमा यस वर्ष भने केही रकम बढने चौधरीले जानकारी दिए।खाद्य संस्थान अञ्चल कार्यालय तुलसीपुरले यो वर्षका लागि अझैं थोक मुल्य निर्धारण गरेको छैन। जिल्ला दररेट निर्धारण समितिको निर्णय भएपछि मात्रै दररेट कायम हुने र खरिद सुरु हुने उनले बताए।
उनका अनुसार संस्थाले कार्यालयमै ल्याएका खसी-बोका मात्रै खरिद गर्ने गरेको बताएको छ। गाउँमा जादा ढुवानीसहितका समस्या हुने हुँदा सार्वजनिक सूचना नै आह्वान गरेर कार्यालयबाटै खरिद गर्ने सोच बनाएका छौं, चौधरीले भने, 'संस्थानको कार्यालयमै लिएर आउने किसानसँग संस्थानले तोकेको मुल्यमा किन्छौं।
खसी-बोका खरिदको सूचना पाए पछि दैनिक जसो किसान कर्यालयमा आएर बुझ्ने गरेको चौधीले बताए। दैनिक ५-७ जना किसान बुझ्नकै लागि आउनु हुन्छ, उनले भने, 'प्राय हामी कहाँ व्यवसायिकरुपमा बाख्रापालन गरेका किसान सम्पर्कमा आएका छन्।चौधरीले २० केजीभन्दा कम तौलका खसी-बोका खरिद नगर्ने बताए।
सुपथ मूल्य पसल संचालनमा
दसैं तिहार र छठलाई मध्यनजर गरेर दाङमा सुपथ मूल्य पसल सञ्चालनमा आएको छ। खाद्य संस्थानले दुई प्रकारको चामल सुपथ मूल्यको पसल तुलसीपुरमा स्थापना गरेर बिक्री गरिरहेको छ।
किलोमा ५ रुपैयाँ कम गरेर चामल उपलब्ध गराइरहेको निमित्त प्रमुख कृष्णप्रसाद चौधरीले बताए। उनले सोना मन्सुरी र जिरा मन्सुरी कार्यालयबाट उपलब्ध हुने बताए। त्यसै गरेर नेपाल साल्ट्र टेडिङले दाङको घोराहीमा सुपथ मुल्यको पसल सञ्चालनमा ल्याएको छ।
चिनी, नुनलगायतका सामग्रीहरु सुपथ मूल्यको पसलबाट उपलब्ध भइरहेको साल्ट्र ट्रेडिङले जानकारी दिएको छ।बजारको मूल्य भन्दा १० प्रतिशतसम्म कम मूल्यमा चिनी र नुन बिक्री भइरहेको छ।