सुस्ताबासी विस्थापित

सुस्ताबासी विस्थापित

काठमाडौं : सुस्ताको अतिक्रमित भूमिमा भारतले पछिल्लो समय नेपाली आवतजावत गर्ने बाटो अवरुद्ध गरेपछि सुस्तावासी न्याय खोज्दै राजधानी आएका छन्। भारतले खाल्डो खनेर बाटो अवरुद्ध गरिदिएपछि सुस्ताका विद्यार्थीलाई विद्यालय जान कठिनाइ उत्पन्न भएको छ। सर्वसाधारणलाई नियमित हाटबजार गर्न समस्या भएको छ। नारायणी नदीमा पुल निर्माण नगर्दा सुस्तावासी भारतीय भूभागको बाटो प्रयोग गर्न बाध्य छन्।

२५ महिलासहित राजधानी आएका ६० जना सुस्तावासी ९ दिनदेखि थापाथलीस्थित कालमोचन घाटमा बसेर समस्या समाधान गर्न माग गरिरहेका छन्। उनीहरू असोज ९ गते राजधानी आएका हुन्। उनीहरू प्रधानमन्त्रीसँग भेट गरी समस्या समाधान नभएसम्म नफर्कने अडानमा छन्। भारतीय पक्षले भदौ ६ गते सुस्तावासी आवतजावत गर्ने सडक र नेपाल–भारत सीमामा खाडल खनेर सडक अवरुद्ध गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपाली भूभागमा नै सडक निर्माण गरिरहेको छ।

सुस्ता बचाउ अभियान नवलपरासीका अध्यक्ष गोपालप्रसाद गुरुङ भारतीय पक्षले हिँड्ने बाटो नै अवरुद्ध गरिदिएको बताए। सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बाटो खोल्न गरेको आग्रह एसएसबीले नमानेको बताए। उनका अनुसार एसएसबी बाटो दिन नमानेपछि सुस्तावासीले सडक बनाउन रोकेका थिए।

नेपाली लालपुर्जा भएको जग्गामा एसएसबीले सडक निर्माण गर्न थालेपछि नेपालीले विरोध गरेका थिए। सडक बनाउन नेपालीले विरोध गरेपछि एसएसबीले नेपाली हिँड्ने बाटो अवरुद्ध गरेको हो। ‘एसएसबीले पहिला सीमामा खाल्डो खन्यो र नेपाली भूभागमा जबर्जस्ती बाटो बनाउने थाल्यो। यसले गर्दा न हामीले हाटबजार गर्न पायौं न बालबालिका नै स्कुल जान पाए’, अध्यक्ष पाण्डेले भने।

 ‘भारतले बाटो बन्द गरिदियो, अब कहाँबाट हिँड्ने ?’

सुस्तावासी रविन्द्र जैसवालले नेपाली हिँड्ने तीन वटै बाटो भारतीय पक्षले बन्द गरिदिएको बताए। ‘एउटा बाटो बाघ आयो भनेर बन्द गरिदियो, अर्को तस्करी हुन्छ भन्दै रोक्यो’, उनले भने, ‘एउटा बाटो छोडेको थियो, अहिले त्यो बाटोमा पनि खाल्डो खनेर अवरुद्ध गरिदियो।’ सुस्तावासीको आवतजावत सहज बनाउन २०७२ चैतमा निर्माण सुरु भएको झोलुंगे पुल अझै बनिसकेको छैन। पुल निर्माण गर्ने जिम्मा पाएको त्रिशुली आ श्रय जेभी कन्स्ट्रक्सन भारतीय दबाबमा काम थालेर सम्पर्कविहीन भएको छ।

ठेकेदारमाथि कारवाही गरी नयाँ ठेकेदारमार्फत तुरुन्त पुल निर्माण गर्न सुस्तावासीले माग गरेका छन्। धर्नामा बसेकी धुरपति कोइरीले लामो समयदेखि भारतीय पक्षले दुःख दिइरहेको बताइन्। ‘उनीहरूको जमिनबाट हिँड्नु पर्छ, पुल नबनेसम्म एसएसबीले सधैं दुःख दिइरहन्छ। जेल हाल्ने गर्छ, हामीलाई दुव्र्यवहार पनि गर्छन्’, उनले भनिन्, ‘आफ्नो लालपुर्जामा भएको जग्गासमेत भोग गर्न पाएका छैनौं।’

पुल बने भारतीय भूमिको बाटो प्रयोग गर्न नपर्ने भएकाले छिटोभन्दा छिटो पुल निर्माण गर्न उनीहरूले माग गरेका छन्। उनीहरूले सुस्ता गाउँपालिका–५ सुस्तागाउँमा बर्सेनि नदीले कटान गरी दुःख दिने हुँदा तटबन्ध निर्माण गर्न पनि माग गरेका छन्। सुस्ता बचाउ अभियानका सचिव जयप्रकाश चौधरीले प्रधानमन्त्रीबाट माग सम्बोधन नहुन्जेल सुस्ता नफर्किने गरी आएको बताए। ‘प्रधानमन्त्री आएपछि हाम्रा माग पूरा हुने भए फर्किन्छौं, नत्र यहीँ धर्ना दिएर बस्छौं’, उनले भने।

सुस्ताको सीमा विवाद

सुस्ताको ४० हजार ९ सय ८० हेक्टर जग्गामध्ये १४ हजार ५ सय हेक्टर भारतले अतिक्रमण गरिसकेको छ। बाँकी १९ हजार ४ सय ८० हेक्टरमा समेत भारतले जोतभोग गर्न रोक्दै आएको छ। अतिक्रमणविरुद्ध संघर्षमा उत्रेका एक दर्जनले ज्यान गुमाइसकेका छन्। २०६४ साल माघ ४ गते काठमाडौंको माइतीघर मण्डलामा आन्दोलनका क्रममा सुस्तावासी रामानन्द चमारको मृत्यु भएको थियो। तीन दशकअघि भारतीय सुरक्षकर्मीसँगको झडपमा ४ जना सुस्तावासीले ज्यान गुमाएका थिए।

पृथ्वीनारायण शाहले भगीरथ जैसीलाई बिर्ता दिएको भूमि हो सुस्ता। सुस्तामा पहिला चारकोसे झाडी थियो। ०२० सालमा सुुस्तामा रेन्ज पोस्ट स्थापना भयो। भारतीय सुरक्षाकर्मीले सोही समय रेन्जर पितम्बरजंग राणाको हत्या गरी शव नै बेपत्ता बनाएका थिए। ०२२ सालमा सेनाका किशोरकुमार गुरुङको नेतृत्वमा सुस्ता क्षेत्रको घना जंगल फडानी गरी बस्ती बसालिएको हो। ०२५ सालमा सुस्तामा पञ्चायत कार्यालय, नेपाल निमावि, हुलाक कार्यालय, प्रहरी चौकीलगायत कार्यालय स्थापना गरी प्रशासनीय काम थालियो।

०२७ सालमा नापी विभागले सुस्ताको नापी नक्सा गर्दा भारतीय प्रहरी प्रशासनले नापी कर्मचारी पक्राउ गरेको थियो। भारतले उनीहरूलाई भारतको चम्पारनस्थित बेतिया जेल चलान गरी एक वर्षपछि जमानतमा रिहा गरेको थियो। नेपाल–भारत दुवैको सहमतिमा ०२९ सालमा सुस्तामा नापी गरी ५ सय ५६ बिघाको जग्गाधनी प्रमाणपत्र वितरण गरिएका थियो। उत्तर–दक्षिण बग्ने नारायणीको धार परिवर्तन गरेर भारतले गण्डक ब्यारेज बनाएको थियो। ०६२ साल जेठ १७ देखि भारतले सुस्तामा फेरि अतिक्रमण थालेको हो।

भारतले अतिक्रमण गर्दै विवाद गरेकाले सुस्तामा सीमा सर्वेक्षण भएको छैन। सुस्ताको २६ किलोमिटर क्षेत्रको स्ट्रिप नक्सा बनेको छैन। चितवनको सुमेश्वर पहाडसम्म स्तम्भ गाडेर नम्बर दिएको छ। तर ओरालो झरेपछि सेमरा, रामपुर चोक, मदनपुर दुर्गा मन्दिर र सुस्ता क्षेत्रमा ४ वटा स्तम्भ गाडिए पनि नम्बर नदिएको अध्यक्ष गुरुङ बताउँछन्। उनले सुस्तामा सीमांकन गर्न सीमा सर्वेक्षण टोली खटाउनसमेत माग गरेका छन्।

धर्नामा बसेका सुस्तावासी बिरामी

धर्नामा बसेका सुस्तावासी बिरामी हुन थालेका छन्। एक जना महिला बिरामी भएपछि वीर अस्पतालमा भर्ना भएकी छन्। चिसो भुइँमा सुत्नु परेकाले उनीहरू बिरामी पर्न थालेका हुन्। खानपान र चिसोले धर्नामा बसेका अधिकांश सुस्तावासी बिरामी पर्न थालेको सुस्ता बचाउ अभियानका सदस्य कमल हरिजनले बताए।

उनीहरू रुघाखोकी, ज्वरो, झाडापखालाबाट ग्रस्त हुन थालेका छन्। उनीहरूलाई खान र बस्न समस्या भएको छ। ‘केही रासन घरबाट ल्याएका थियौं, कालीमाटी बजारबाट तरकारी उपलब्ध भएको छ’, हरिजनले भने, ‘अहिलेसम्म त जसोतसो चलिरहेको छ, अझै कति दिन बस्नु पर्ने हो। त्यसबेलासम्म खानपिनको समस्या भएको छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.